लौरोविरुद्ध लौरो : बालेनलाई हियाइरहेका हर्क साम्पाङ – Nepal Press
टिप्पणी

लौरोविरुद्ध लौरो : बालेनलाई हियाइरहेका हर्क साम्पाङ

सामाजिक सञ्जालकाे मुतेन्यानाेमा मेयर

काठमाडौं । छातीमा ‘बबाल’ लेखेको टिसर्ट लगाएर हिँड्ने धराने मेयर हर्क साम्पाङ यतिबेला सामाजिक सञ्जालमा बबाल मच्चाइरहेका छन् । राजधानी शहरमा चार दिन बिताएर हिजो धरान फर्केदेखि काठमाडौं महानगरका मेयर बालेन्द्र साहविरुद्ध फेसबुकमा उनकाे ‘स्टाटस वमन’ जारी छ ।

गत आइतबार बिहान ८ः५१ मा काठमाडौंको खाल्डोमा टेक्नासाथ साम्पाङले आफ्नो फायर खोल्न सुरू गरेका थिए । उनले काठमाडौंको फोहोरमाथि व्यंग्य गर्दै फेसबुकमा पहिलो ‘धमाका’ दिए ।

साम्पाङले लेखेका थिए, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

यो स्टाटस मेयर बालेन्द्रविरुद्ध सीधै लक्षित त थिएन । तर, उनलाई बिझाउने खालको भने थियो । साम्पाङले घुमाउरो रुपमा बालेन्द्रलाई गिज्याउनै खोजेका थिए, जो यतिबेला काठमाडौंमा थुप्रिरहेको फोहोरलाई लिएर तीव्र दबाब झेलिरहेका छन् । यसबीचमा साम्पाङले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै बालेनलाई फोहोरको समस्या समाधान गर्न अनेक टिप्स दिए । यदि बालेनले नसके आफूहरु नै श्रमदानमा आउन तयार रहेको बताए ।

एक अन्तर्वार्तामा उनले यो पनि भने, ‘उहाँ (बालेन) अलि स्ट्रोङ देखिनुभएन । उहाँलाई बि स्ट्रोङ, बि लाइक द गर्भमेन्ट’ भन्न चाहन्छु ।’

काठमाडौंमा साम्पाङले आधा दर्जन जति मन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका थिए । देशका प्रधानमन्त्री वा अन्य दलका प्रमुखहरुलाई नभेटेर प्रचण्डलाई मात्रै भेट्नुको कारण उनकाे माओवादी पृष्ठभूमि मात्र हो वा अरु केही भन्ने  खुलेको छैन । अरु नेताको समय नपाएका पनि हुन सक्लान् । खैर, हामी अर्को प्रसंगमा छौं ।

काठमाडौं यात्रा सकेर हिजो धरान फर्कनासाथ उनले जुन स्टाटस लेखे, त्यसले दुई आशालाग्दा मेयरबीच अप्रिय टकराव सिर्जना गरेको छ ।

राति ८ः१३ बजे उनले लेखेका थिए, ‘जसले जे भनोस् । तर, म काठमाडौं नगएको भए फोहोर उठ्ने नै थिएन रैछ । कमसेकम काम सुरु त गरे ।’

साम्पाङको यो स्टाटस आधा ठट्टा र आधा सिरियस थियो, जसलाई काठमाडौंका मेयरले सहज रुपमा पचाउन सकेनन् । उनले कटाक्षयुक्त जवाफ फ्याँके ।

साहले लेखे, ‘तपाईंकै चुनाव चिन्ह लौरो लिएर मैले चुनाव पनि जितेको हो नि !’

यसपछि सुरु भयो प्रतिक्रियाको आँधी । अधिकांशले बालेनलाई समर्थन गरे । साम्पाङको स्टाटसभन्दा बालेनको जवाफ हिट भयो । उनको प्रतिक्रियामै अद्भूत ढंगले ४० हजार रियाक्सन आएका छन् । मेयर साम्पाङलाई संयमित बन्न र फेसबुक कम चलाउन धेरैले सुझाएका छन् ।

तर, बालेन्द्रको जवाफबाट साम्पाङ थप आक्रोशमा आए । दनादन एकपछि अर्को स्टाटस लेख्न थाले ।

उनले ९ः३९ मा लेखेको (हिजोको ११ औं स्टाटस) अमर्यादित थियो । यसमा उनले बालेन्द्रलाई नालायक संज्ञा दिएका छन् ।

साम्पाङले बालेन्द्रलाई इंगित गर्दै लेखेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन । मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस् बेस्सरी । काम गर हावा तालका हो ।’

यो स्टाटसमा ९ हजार ८०० प्रतिक्रिया आएका छन् र अधिकांशले उनको आलोचना गरेका छन् । तर, साम्पाङले स्टाटस डिलिट वा संशोधन गरेका छैनन् । एकपटक लेखिसकेको स्टाटस डिलिट गर्ने त उनको स्वभावै छैन, चाहे लेखेको कुरा गलत नै किन नठहरियोस् ।

सामाजिक सञ्जालकाे मुतेन्यानाे

यो पंक्तिकार स्वयम् साम्पाङको एउटा  शुभचिन्तक हो । उनी जुन ग्राउन्डबाट आएर यो स्थानमा पुगे, त्यो प्रेरणादायी छ । जसरी उनले ठूला दलका उम्मेदवारलाई पछि हुत्याउँदै चुनाव जिते, त्यो अविस्मरणीय छ । अनि मेयर भएपछि जुन समर्पण र तन्मयका साथ धरानको विकासमा अहोरात्र जुटेका छन्, त्यो पनि स्तुत्य छ ।

मेयर साङपाङको नियतमा प्रश्न उठाउने ठाउँ कतै छैन । उनी केही गरेर देखाउन व्यग्र छन् । राष्ट्र सेवाको भावना प्रवल छ । यही कारण उनले सिंगो देशवासीको समर्थन पाएका हुन् । तर, उनको शैली र अभिव्यक्तिहरु भने विवादास्पद छन् । यो तरिकाले अल्पकालीन रुपमा उनलाई फाइदा पुग्न सक्ला, तत्कालिक लोकप्रियता कमाउन सक्लान् । तर, दीर्घकालमा आफ्नो कामबाट कुनै ठोस परिणाम देखाउन सकेनन् भने अहिलेको लोकप्रियता ‘मुतको न्यानो’ मात्र सावित हुनेछ । अहिले मेयरले आह्वान गर्नासाथ ढुंगा बोक्न आउनेहरू भोलि उनकै निवासमा ढुंगा हान्न आउन सक्छन् ।

खासगरी सामाजिक सञ्जालमा उनी जसरी प्रस्तुत भइरहेका छन्, त्यसले मेयर पदको मर्यादा र अनुशासन कायम गर्दैन । मेयर भएर फेसबुक चलाउनै हुँदैन भन्ने होइन । समय मिलेसम्म चलाउनु राम्रो हो । जनतासँग अन्तरक्रिया गर्नु र उनीहरुको भावना बुझ्नु अच्छा हो । तर, फेसबुकमा उनले लेख्ने कुराहरु वजनदार र अर्थपूर्ण हुनुपर्छ । आत्मप्रशंसा र अरुमाथि तुच्छ गाली मुकुन्देलाई शोभा दिन्छ, साम्पाङलाई होइन । यसमा उनी कतै न कतै चुकेका छन् ।

मेयर साम्पाङको चर्चित फेसबुक पेज नियाल्दा एक दिनमा २० वटासम्म स्टाटस लेखेको भेटियो । उनले फेसबुकमा स्टाटस नलेखेको कुनै दिन छैन । आक्रामक ढंगले काममा जुटिरहेका मेयरसँग यति फुर्सद नहुनुपर्ने हो । फेरि उनले लेखेका स्टाटसहरुमध्ये लेखिनैपर्ने खालका १० प्रतिशत पनि छैनन् । उपमहानगरकै प्रशासनिक तहबाट जारी हुनुपर्ने सूचना र सन्देशहरु फेसबुकमा आफैंले लेखेर साम्पाङले वाहवाही बटुल्न खोजेको पाइन्छ । उनको केही स्टाटस मुकुन्देलाई बिर्साउने खालका छन् ।

सामाजिक सञ्जालको लोकप्रियता क्षणभंगुर हुन्छ । मानिसहरु तपाईंको एउटा गल्तीको प्रतीक्षा गरिरहेका हुन्छन् । जब गल्ती गर्नुहुन्छ, हिरोबाट जिरो बन्न एक रात पनि लाग्दैन । यो यथार्थ साम्पाङले सायद बुझिसकेका छैनन् । त्यसैले अहिले मिलिरहेको ‘हाई हाई’ बाट बेस्मारी फुर्किएका छन् । यही फुर्काइबीच उनले काठमाडौंका मेयरलाई जसरी हियाइरहेका छन्, त्यो बिलकुल जायज छैन । दुवैजनाले स्वतन्त्र मेयर भएको हिसाबले एकले अर्कालाई नैतिक समर्थन दिनुपर्ने थियो । आडभरोसा दिनुपर्ने थियो । तर, उल्टो भएको छ ।

काठमाडौंका मेयरले फोहोरको समस्यामा आँखा चिम्लिएर बसेका छैनन्, अहोरात्र लागिरहेकै छन् । तर, समाधान सजिलो छैन । नायक फिल्ममा जसरी उनले एक दिनमै सबै कायापलट गर्न यथार्थमा सम्भव हुँदैन । त्यसमाथि नेपालको राजनीति यही हो । काठमाडौंमा कांग्रेस एमालेबाट निर्वाचित भएका वडाध्यक्षले मेयरलाई कति अल्झो थापिरहेका छन्, हामीले प्रत्यक्ष प्रशारणमा देखेकै छौं । विभिन्न पार्टीका स्थानीय कमिटीले घोषित रुपमै बञ्चरेडाँडामा फोहोर खन्याउन नदिने अड्डी लिएर बसेका छन् । यो अवस्थामा बालेन्द्रसँग विकल्पहरु धेरै छैनन् ।

यो समस्याको समाधान बालेन्द्रको हातमा मात्रै पनि छैन । काठमाडौं महानगरको फोहोर उठाएर महानगरभित्रैको कुनै स्थानमा खन्याउन सम्भव थियो भने सबै अपजस बालेन्द्रलाई दिन सकिन्थ्यो । तर, काठमाडौंको फोहोर व्यवस्थापनमा अन्य स्थानीय तहहरु जोडिएका छन् । केन्द्र सरकार नै जोडिएको छ । यसर्थ अरुले असहयोग गरेको अवस्थामा बालेन्द्रले आफ्नो घर कम्पाउण्डमा लगेर फोहोर थुपार्न सक्दैनन् ।

स्वतन्त्र मेयरलाई काम गर्न के-कस्ता जटिलता छन्, त्यो हर्क साम्पाङले पनि धेरथोर महसुस गरिसकेकै होलान् । त्यसैले उनले काठमाडौंमा आएपश्चात बालेन्द्रलाई पनि भेटेर हौसला र नैतिक समर्थन व्यक्त गरेको भए त्यसले निकै महत्व राख्थ्याे । तर, उनी आफैं बालेन्द्रको खुट्टा तान्ने मुडमा देखिए । बालेन्द्र फ्लप भए आफू एकछत्र हिरो बन्ने मनसाय हो वा सामान्य स्वभावजन्य कमजोरी हो, उनै जानून् । तर, साम्पाङ यसरी बालेन्द्रविरुद्ध उत्रिनु बिल्कुल अनपेक्षित र अस्वाभाविक छ । यसले स्वतन्त्रहरुबाट केही हुन्छ कि भनेर आशा राख्नेहरुलाई दुःखी तुल्याएको छ ।

१०० दिनमा के-के गरे ?

बालेन्द्रलाई सामाजिक सञ्जालबाट हियाइरहँदा साम्पाङ आफूले चाहिँ के के न चमत्कार गरेको जस्तो भाव बुझिन्छ । के साँच्चै आफ्नो कार्यकालको पूर्वार्द्धमा उनले धरानलाई प्रगतिपथमा लैजाने संकेत देखाएकै हुन् ? कि हल्लामात्रै बढी गरिरहेका छन् ?

धरानबाट रिपोर्टिङ गर्ने नेपाल प्रेसका पत्रकार विराट अनुपमको भनाइमा साम्पाङले इमानदार प्रयास गरिरहे पनि हल्ला जति काम भने गरेका छैनन् । उनले धरानको दीर्घकालीन विकासको योजनाबद्ध खाका प्रस्तुत गर्न नसकेको विराटको निष्कर्ष छ ।

‘उहाँ मेयरको कुर्सीमा बसेर उपमहानगरलाई नीतिगत र रणनीतिक नेतृत्व गर्दै दिगो विकासतर्फ लैजानेभन्दा पनि सस्तो लोकप्रियता र अल्पकालीन योजनाहरुमा रमाइरहेको महसुस हुन्छ’, उनले भने ।

विराट अनुपम तीनै पत्रकार हुन्, जसले मेयर उम्मेदवार बनेपछि पहिलोपटक नेपाल प्रेसमार्फत मेनस्ट्रिम मिडियामा साम्पाङलाई स्पेस दिलाएका थिए र दुनियाँलाई चिनाएका थिए । तर, अहिले उनी आफैं साम्पाङको प्रवृत्तिबाट केही खिन्न देखिन्छन् ।

विराट भन्छन्, ‘अहिलेसम्मको कार्यावधिमा धराने जनतालाई ठोस सुधार वा परिवर्तनको अनुभूति गराउन सक्नुभएको छैन । यद्यपि, आशा मरिसकेको अवस्था भने होइन ।’

सहकारी प्रकरणपछि धरानमा सम्पाङका विरोधीहरु बढेको उनको विश्लेषण छ । विराटले थपे, ‘धरानमा उहाँकाे पहिलेको लोकप्रियता केही खस्केको छ, अहिले सामाजिक सञ्जालमा देखिएको धेरै जनसमर्थन चाहिँ धरानभन्दा बाहिरबाट प्राप्त भएको हो ।’

सामाजिक सञ्जालमा साम्पाङले ढुंगा बोकेको तस्वीर हेरेर पनि आम जनताले उनीप्रति झुकाव दर्शाएको देखिन्छ । उनी प्रत्येक शनिबार जनतालाई श्रमदानका लागि आह्वान गर्छन् र आफैं मैदानमा पसिना बगाउन पुग्छन् । मेयरले नै यसरी पाखुरा बजारेपछि अरुलाई प्रेरणा हुने नै भयो । तर, उनले आफ्नो बहुमूल्य समय यसरी ढुंगा र पाइप बोक्न खर्च गर्दा उपमहानगरलाई फाइदा हुन्छ वा हानी भन्ने अर्को पाटो पनि छ ।

साम्पाङले आजैमात्र आफ्नो १०० दिनको उपलब्धि भन्दै १० वटा बुँदा सार्वजनिक गरेका छन् । जसअनुसार उनले धराने जनतालाई पिउने पानी उपलब्ध गराउन खानेपानीका ४ वटा मुहान थप्न सफल भए । ६ लाख विरुवा रोपे । उनले प्रस्तुत गरेको उपलब्धि यस्ता छन् :

१) नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२) ४ ठाउँबाट खानेपानीको मुहान थपें
३) व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४) ६ लाख विरुवा रोपें
५) सरसफाइमा देखिने सुधार ल्याएँ
६) प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएँ
७) जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालें
८) बाटो मर्मत सम्भार तथा टटबन्धन, विपद व्यवस्थापन 
९) लागुऔषधविरुद्धको अभियान शुरु गरें
१०) योजनाहरुका लागि बजेटको जोहो गराएँ
११) पारदर्शी हिसाबकिताब सार्वजनिक गरें
१२) पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३) शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ  ।

फरक विशेषताका दुई मेयर

स्थानीय चुनावमा स्वतन्त्र जितेदेखियता बालेन्द्र र हर्कबीच धेरै तुलना हुने गरेको छ । संयोगबस दुवैले एउटै चुनाव चिन्ह लौरो लिएर स्वतन्त्रबाट चुनाव जिते । योबाहेक उनीहरुमा अन्य समानता भने निकै कम छन् । उनीहरुको पृष्ठभूमिदेखि कार्यशैलीमा निकै अन्तर भेटिन्छ ।

हर्क साम्पाङ भूईबाट माथि उठेका एक संघर्षशील योद्धा हुन् । उनले धरानका सडकमा एक्लै अभियान चलाए । आफ्नो सक्रियता र एजेन्डाको बलमा जनताको मत जिते ।

बालेन्द्रको पृष्ठभूमि फरक छ । उनीसँग साम्पाङजस्तो संघर्षशील पृष्ठभूमि छैन । उनको चुनावी अभियानमा सामाजिक सञ्जाल र मिडिया क्याम्पेनिङको ठूलो भूमिका रह्यो । उनको क्षमतामा विश्वास गरेर काठमाडौंवासीले भोट दिए ।

मेयर जितेपश्चात बालेन्द्र केही विवादमा मुछिएका छन् । साम्पाङकै स्तरमा नभए पनि उनीसमेत सामाजिक सञ्जालमा बेलाबखत हलुका रुपमा प्रस्तुत हुन्छन् । उनले ‘काम गर्न देउ, डिस्टर्व नगर’ भन्दै स्टाटस लेखे र पछि डिलिट गरे । प्रवक्तामार्फत सार्वजनिक गर्न सकिने कुराहरु आफैंले लेखेर प्रशंसा बटुल्ने लोभ उनमा पनि झल्किन्छ ।

मेयर निर्वाचित भएपछिको एउटा निर्णयले बालेनको व्यक्तिगत लोकप्रियतामा निकै क्षति पुग्यो । उनले चर्चित र्‍यापर स्वर्गीय यमबुद्धको सालिक बनाउन बजेट छुट्याएपछि सामाजिक सञ्जालमा निकै आलोचना खेप्नुपर्‍यो । तर, यस विवादमा उनले अनावश्यक हठ र दम्भ देखाए । आफ्नै खर्चबाट सालिक बनाउँछु भन्ने अविवेकी र सन्की घोषणा गरे ।

बालेन्द्र र साम्पाङको अर्को फरकपना भनेको मिडियाप्रतिको दृष्टिकोण हो । बालेन्द्र सञ्चारमाध्यमप्रति अनुदार देखिन्छन् । मेयरको कुर्सीमा बसेदेखि नै पत्रकारसँग उनको नोकझोक सुरु भएको थियो । आफ्नो आलोचनामा लेख्न थालेपछि उनले पत्रकार भन्नासाथ नाक खुम्च्याउन थालेका छन् ।

यता साम्पाङ भने चरम ‘मिडिया फ्रेन्डली’ छन् । आफू जहाँ जाँदा पनि मिडिया लैजान्छन् । बिन्दास तरिकाले कुरा गर्छन् । क्यामराकै अगाडि कहिले रोइदिन्छन्, कहिले खोलामा लङ जम्प हान्छन् । यस्तो चटकले उनलाई फाइदा पनि पुगेको छ । अरु नेताहरुलाई कार्यकर्ताको बुई चढेर खोला तरेको देखिरहेका जनता साम्पाङको लङ जम्प हेरेर द्रविभूत हुने नै भए ।

अन्त्यमा

देशले बालेन्द्र र साम्पाङहरु असफल भएको हेर्न चाहेको छैन । उनीहरू असफल हुनु भनेको अर्को एउटा आशाको दियो निभ्नु हो । त्यसैले उनीहरुले आपसमा लडभिड गर्ने होइन, एक-अर्कालाई आडभरोसा दिएर अघि बढून् । सामाजिक सञ्जालमा जात्रा देखाएर जगहँसाइ नगरुन् ।

प्रतिक्रिया

One thought on “लौरोविरुद्ध लौरो : बालेनलाई हियाइरहेका हर्क साम्पाङ

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर