फर्निचर एक्स्पोका अधिकांश स्टल ‘बुक्ड’ – Nepal Press

फर्निचर एक्स्पोका अधिकांश स्टल ‘बुक्ड’

काठमाडौं । राजधानीमा आयोजना हुने आठौं फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागी हुन स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोका अधिकांश स्टलको बुकिङ भएको बताइएको छ ।

यही भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने एक्स्पोमा सहभागी हुन भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स्पोमा कुल ११० स्टल रहनेछन् । जसमा मुख्य प्रदर्शनी हलमा ५० र बाहिर तयार हुने ह्याङ्गरमा ६० स्टल बन्नेछ । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानका अनुसार मुख्य हलका सबै स्टल बुक भइसकेका छन् । ह्याङ्गरका केही स्टलमात्र बाँकी रहेको उनले बताए ।

एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमै स्टल बुकिङ गर्न पनि प्रधानले आग्रह गरेका छन् ।

एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पु¥याउने विश्वास आयोजक फर्निचर तथा फर्निसिङ संघको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाड पर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नेहरुका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ ।

‘झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्रायः रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको बेला एक्स्पोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ’, जोशीले भने, ‘यतिमात्र नभई एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पु¥याउने विश्वास लिएका छौं ।’

५ दिनसम्म चल्ने एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मुख्य आकर्षणका रुपमा रहनेछन् । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी जानसा कार्पेट, हलेसी डेकोर र भिवोन चेयरले एक्स्पोलाई मुख्य प्रायोजन गरेका छन् । डिजी पे डिजिटल पार्टनर रहेको छ ।

एक्स्पो अवलोकन गर्न १०० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । डिजी पेका प्रयोगकर्ताले १० गोल्ड क्यास रिडिम गरेर एक्स्पोको पास पाउन सक्छन् । एक्स्पो प्रवेशद्वारमा राखिएको व्यक्तिगत विबरण संकलन केन्द्रमा माग गरिएका आफ्नो वास्तविक विवरण भरेर निःशुल्क एक्स्पो अवलोकन गर्न सकिनेछ ।

कार्यक्रममा सहभागी हुने प्रदर्शक तथा अतिथिहरुलाई एक्स्पोको प्रवेश पास डिजी पेमार्फत नै उपलब्ध गराइने इभेण्ट सोलुसनले जनाएको छ ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवर्द्धन गरेका छन् । नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर