राजकिशोरलाई पनि ‘समाजवादी केन्द्र’ मा तान्ने प्रयास, गठबन्धनबाटै सीट दिने प्रचण्डको आश्वासन – Nepal Press

राजकिशोरलाई पनि ‘समाजवादी केन्द्र’ मा तान्ने प्रयास, गठबन्धनबाटै सीट दिने प्रचण्डको आश्वासन

काठमाडौं । जनता समाजवादी पार्टीलाई तेस्रो टुक्रा बनाउने प्रयास सुरु भएको छ । तत्कालीन राजपा र संघीय समाजवादी फोरम मिलेर बनेको जसपाबाट यसबीचमा महन्थ ठाकुर र डा.बाबुराम भट्टराई समूह अलग भइसकेको छ ।

उपेन्द्र यादवको कार्यशैलीसँग असन्तुष्ट रहे पनि पार्टीमै रहेका अर्का प्रभावशाली नेता राजकिशोर यादवलाई जसपाबाट अलग गरेर प्रचण्ड नेतृत्वको समाजवादी केन्द्रमा तान्ने प्रयास भइरहेको खुलेको छ ।

तत्कालीन राजपाका अध्यक्ष मण्डलका ६ जना अध्यक्षमध्ये महन्थ ठाकुर,राजेन्द्र महतो,अनिल झा र सरतसिंह भण्डारी अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छन् । बाँकी दुई अध्यक्षमध्ये महिन्द्र राय यादव बाबुरामसँगै नेपाल समाजवादी पार्टीको अध्यक्ष भइसकेका छन् ।

अब राजकिशोर यादव कता लाग्छन् भन्ने चासो मधेसको राजनीतिमा छ । महिन्द्रसँग भन्दा राजकिशोरसँग नेता कार्यकर्ताको ठूलो समूह रहेकाले उनलाई पनि प्रचण्ड नेतृत्वको समाजवादी केन्द्रकै अंग बनाउने प्रयासमा नेताहरु लागेका छन् ।

माओवादी र नेसपा एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने सहमति भएसँगै प्रचण्ड निवास खुमलटारमा राजकिशोर यादवसहितको वार्ता भएको स्रोतले जनाएको छ । यादवले गठबन्धनमा आफ्नो सिट सुनिश्चित र आफू निकटहरुको व्यवस्थापनको सन्दर्भमा प्रचण्डबाट ग्यारेन्टी खोजेको निकट स्रोतले जनाएको छ ।

पछिल्लो भेटमा प्रचण्डले राजकिशोरलाई बाबुरामसँगै नेसपामा जोडिन र भविष्यमा माधव नेपाल नेतृत्वको नेकपा एससहितको वृहत समाजवादी केन्द्रको नेतृत्वमा पुग्नेगरि अघि बढ्न सकिने बताएका थिए । उनले सिरहा ४ को क्षेत्रमा राजकिशोरको विकल्प नरहेको समेत बताएका छन् ।

सो भेटमा राजकिशोरले भने आफू बाबुरामतिर लाग्दा सिरहाको सिटमा उपेन्द्रले लफडा गर्न सक्ने आशंका व्यक्त गरेका थिए । तर प्रचण्डले ‘गठबन्धनमा उपेन्द्रमात्र छैनन्,उनले भनेकै हुन्छ भन्ने छैन’ भन्दै ढुक्क हुन आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए ।

राजकिशोर यादव २०७४ सालमा सिरहा ४ बाट निर्वाचित भएका थिए । यसपटक उनको जिल्लामा मात्र होइन क्षेत्रमा समेत स्थानीय तहको टिकट वितरणमा उपेन्द्रले एकलौटी गर्दा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको भन्दै उनी असन्तुष्ट छन् । राजकिशोर जत्तिको शीर्ष नेताले समेत आफ्नो नगरपालिकामा समेत टिकट वितरण गर्न नपाएपछि कार्यकर्ता समेत आक्रोशित छन् ।

वडाको मतका आधारमा सिरहा ४ मा एमाले सबैभन्दा अगाडि छ । एमालेले वडाहरुबाट १४ हजार ६७१ मत पाएको छ भने दोस्रो स्थानमा रहेको जसपाले १३ हजार ६१४ मत पाएको छ । कांग्रेस १२ हजार मतसहित तेस्रो छ भने ११ हजार मतसहित माओवादी चौथो छ ।

यो क्षेत्रमा पहिले प्रचण्ड उम्मेदवार भएर जितेकाले प्रचण्डको समर्थन हुँदा राजकिशोरको जित सहज हुन सक्छ । तर उनी भने अझै पनि जसपा छाड्ने कि नछाड्ने भन्ने टुंगोमा छैनन् । जसपाको पछिल्लो बैठकमा उनी सहभागी भएको केन्द्रीय सदस्य आङकाजी शेर्पाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर