आयल निगमको ढाड भाँच्ने एलपी ग्यास, कार्यान्वयन होला दुईथरि सिलिन्डर ? – Nepal Press

आयल निगमको ढाड भाँच्ने एलपी ग्यास, कार्यान्वयन होला दुईथरि सिलिन्डर ?

काठमाडौं । भारतबाट लगातर ३ पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आयो । तर, नेपाल आयल निगम मूल्य घटाउन तयार छैन । निगमले सबैभन्दा धेरै घाटा एलपीजी ग्यास अर्थात खाना पकाउने ग्यासमा व्यहोर्दै आएको छ ।

घरायसी र व्यवसायिक प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य अहिले एउटै छ । सरकार र निगमले लामो समयदेखि घरायसी र व्यवसायिक प्रयोजनमा ग्यासको मूल्य फरक बनाउने बहस चलाएको लामो समय भइसक्यो । तर, व्यवसायीहरुसँग डराएर सरकारले व्यवसायिक प्रयोजनको ग्यास लागत मूल्यमा बिक्री गर्न सकेको छैन । तैपनि सरकारले वेला वेलामा दुई प्रकारको मूल्य लागू गर्ने भन्दै आएको छ ।

यसबारे गठित अध्ययन समितिले प्रतिवेदनसमेत तयार पारिसकेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रको संयोजकत्मा समिति बनेको थियो । समितिले अध्ययन प्रतिवेदन तयार गरी वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयलाई बुझाइसकेको छ । प्रतिवेदनको आधारमा दुई प्रकारको मूल्य लागू गर्नेबारे छलफल भइरहेको बताइएको छ ।

अध्ययन समितिका सदस्य एवं निगमका ग्यास शाखा प्रमुख नेत्र काफ्लेले वाणिज्य सचिवलाई अध्ययन प्रतिवेदन बुझाएको बताए । उनले भने, ‘प्रतिवेदनमा दुई प्रकारको मूल्य कसरी राख्ने भन्ने विषय उल्लेख छ । राष्ट्रिय परिचयपत्रको आधारमा ५ जनासम्मको परिवारलाई प्रतिमहिना १ सिलिन्डर ग्यास दिन प्रस्ताव गरेका छौं ।’

सरकारले ग्यासमा सहुलियत दिने हो भने राष्ट्रिय परिचयपत्रका आधारमा दिनुपर्ने र रकम बैंक खातामा हाल्न सक्ने उनको भनाइ छ । उनका अनुसार खाता नभएकाहरुले बैंक खाता खोल्नुपर्ने हुन्छ ।

सुरुमा सबैले एउटै मूल्यमा ग्यास खरिद गरेर पछि सरकारले सहुलियत दिनुपर्ने व्यक्तिको खातामा पैसा हाल्न सकिने सुझाव प्रतिवेदनमा दिइएको छ । निगमले ग्यासकै कारण धेरै घाटा व्यहोर्नुपरेकाले परल मूल्यमा नै जान सक्ने विकल्प पनि प्रतिवेदनमा दिइएको छ ।

‘तत्काल नै दुई प्रकारको मूल्यमा जानु पर्ने भएकाले रातो रङको सिलिन्डर घरायसी प्रयोजन र नीलो रङको सिलिन्डर व्यवसायिक प्रयोजनमा प्रयोग गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ’, उनले भने ।

प्रतिवेदनमा घरायसी प्रयोजनका लागि १४.२ केजीको रातो सिलिन्डर प्रयोग गर्ने र व्यवसायिक तथा औद्योगिक प्रयोजनको लागि १९ र ५० केजीको नीलो सिलिन्डर प्रयोग गर्न सकिने सुझाव दिइएको छ ।

निगमका अनुसार नेपालमा १ करोड ११ लाख ग्यास सिलिन्डर प्रयोगमा छन् । जसमध्ये करिब २७ लाख सिलिन्डर व्यवसायिक क्षेत्रमा प्रयोग भइरहेको छ । सरकारले परल मूल्यमा व्यवसायिक प्रयोजनमा प्रयोग भएको ग्यास बिक्री गर्न सक्यो भने पनि निगमको घाटा धेरै कम हुन्छ ।

अहिले प्रयोग भइरहेको २७ लाख व्यवसायिक सिलिन्डर ग्यास परल मूल्यमा बिक्री गर्ने हो भने निगमको १ अर्ब ३५ करोड रुपैयाँ घाटा पूर्ति हुन आउँछ । घरायसी प्रयोजनभन्दा व्यवसायिक प्रयोजनको ग्यासको खपत छिटो हुन्छ ।

ग्यासमा कति छ घाटा ?

अहिले ग्यासको घाटाका कारण निगमलाई आर्थिक समस्यामा लगिरहेको छ । पेट्रोलियम पदार्थको अन्य वस्तुको फाइदाले ग्यासको घाटा कम गरिरहेको छ ।

एलपीजी ग्यासमा प्रतिमहिना १ अर्ब ५८ करोड घाटा हुने निगमले जनाएको छ । जबकि निगमको मासिक घाटा ६२ अर्ब ५६ करोडमात्रै छ । पेट्रोल, मट्टीतेल र हवाई इन्धनको नाफाले ग्यासको समग्र घाटा कम गराएको निगमले बताएको छ ।

भारतले ३ पटक मूल्य घटाउँदा पनि नेपालमा यथावत

हिजोमात्रै भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आयो । तर, निगमले एकपटक पनि मूल्य घटाएको छैन । हिजो डिजेल ४.८४ र पेट्रोल १.९४ रुपैयाँ मूल्य घटेर आएको छ ।

पहिलो पटक साउन १ गते डिजेल प्रतिलिटर १६.५६ र पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ घटेर आएको थियो । दोस्रो पटक साउन १६ गते पेट्रोल प्रतिलिटर १६.८० र डिजल प्रतिलिटर १२.४५ रुपैयाँ घटेर आएको थियो ।

२३ अर्ब रुपैयाँ तिर्न बाँकी

निगमले हाल इण्डियन आयल कर्पाेरेशनलाई २३ अर्ब रुपैयाँ तिर्न बाँकी छ । निगमले सरकारसँग ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिएको छ । निगमले बैंक र सरकारलाई मासिक १४ करोड व्याजमात्रै तिरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर