१७ वर्षअघि अर्जेन्टिनी टोलीमा मेस्सीको त्यो बिर्सनलायक डेब्यु – Nepal Press

१७ वर्षअघि अर्जेन्टिनी टोलीमा मेस्सीको त्यो बिर्सनलायक डेब्यु

ब्युनोस आयर्स । स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेको वुधबार १७ वर्ष पुरा भएको छ ।

सन् २००५ को अगष्ट १७ मा उनले हंगेरोविरुद्ध खेल्दै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । मैत्रीपूर्ण रहेको त्यस खेलमा मेस्सीले ६३ औँ मिनेटमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए ।

फेरेन्क पुस्कास रंगशालामा भएको त्यस खेलमा मेस्सी मैदान छिरेको तीन मिनेटमै बाहिर निस्किनुपर्ने अवस्था बनेको थियो । डिफेन्डर भिल्मोस भान्सज्याकलाई फल गरेको भन्दै मेस्सीलाई सोझै रातो कार्ड देखाइएको थियो । ड्रेसिङ रुममा पुगेपछि उनी रोएका थिए ।

त्यसअघि दक्षिण अमेरिकी युथ च्याम्पियनसिपका लागि खेलाडी तयार गर्न अर्जेन्टिनाले सन् २००४ मा पाराग्वे र उरुग्वेसँग यू–२० स्तरका दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

सन् २००४ जुन २९ तारिखमा उनले पहिलोपटक अर्जेन्टिनाको जर्सी लगाएका थिए, पाराग्वेविरुद्ध खेल्दै । दक्षिण अमेरिकी युथ च्याम्पियनसिपमा टोलीमा परेपनि उनि अधिकांश खेलमा स्टार्टिङ–११ मा समावेश भएनन् । उनको स्टामिनालाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको थियो ।

त्यसपछि फिफा युथ विश्वकपमा पनि मेस्सी टोलीमा समावेश भए । अमेरिकासँग भएको पहिलो खेलमा मेस्सीलाई सुरुवाती–११ टोलीमा समावेश गरिएन । उक्त खेल अर्जेन्टिनाले १–० गोलले गुमाएको थियो । यो नतिजाबाट अर्जेन्टिनाका प्रशिक्षक फ्रान्सिस्को फेरारोको आलोचना भयो । उनले मेस्सीलाई सुरुवातबाटै खेलाउन सुझाव प्राप्त गरे। नभन्दै दोस्रो खेलबाट अर्जेन्टिनाले बेजोड प्रदर्शन ग¥यो ।

इजिप्ट र जर्मनीलाई पराजित गर्दै दोस्रो चरण पुगेको अर्जेन्टिनाले त्यसपछि कोलम्बिया, स्पेन र साविक विजेता ब्राजिललाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नाइजेरियासँग उपाधि भिडन्त गर्नुअघि नै मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि घोषित भए । फाइनलमा मेस्सीका दुई गोलमा अर्जेन्टिना फिफा युथ विश्वकप च्याम्पियन बनेको थियो । उक्त प्रतियोगितामा मेस्सीले ६ गोल गरेका थिए ।

मेस्सीले आफ्नो १७ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय करियरमा एक सय ६२ खेलमा ८६ गोल गरेका छन् । उनले प्रतियोगितामा ४७ र मैत्रपूर्ण खेलमा ३९ गोल गरेका छन् । मेस्सीकै शानदार प्रदर्शनमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनल पुगेको थियो ।

मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसको लगत्तै लगातार दुई वर्ष अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेपनि उपाधि जित्न असफल भएको थियो । सन् २०२१ मा ब्राजिललाई फाइनलमा हराएर कोपा अमेरिका जित्दै मेस्सीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्ने सपना पुरा गरेका थिए । उनी १४ पटकका अर्जेन्टिनी वर्ष फुटबलर रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *