कैलाली २ : रेशमको पार्टीबाट अरुणको दाबी, ठूला दलमाथि होलान् त हावी ? – Nepal Press

कैलाली २ : रेशमको पार्टीबाट अरुणको दाबी, ठूला दलमाथि होलान् त हावी ?

कैलाली । हालै सम्पन्न स्थानीय चुनावमा कैलालीका ४ पालिका प्रमुख जितेर हौसिएको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले कैलालीका सबै प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिने जनाएको छ ।

कैलाली १ मा रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठले यसअघि नै उम्मेदवारी घोषणा गरेकी छन् । २ मा भने केही समयअघि नेपाली कांग्रेसबाट नागरिक उन्मुक्ति प्रवेश गरेका अरुण चौधरी उम्मेदवार बन्ने भएका छन् । प्रतिनिधिसभातर्फ चौधरीको उम्मेदवारी लगभग पक्का भइसकेको नागरिक उन्मुक्तिका केन्द्रीय नेताहरूले बताए । चौधरी नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशको संगठन विभाग प्रमुख हुन् ।

नेपाली कांग्रेसमा छँदा महासमिति सदस्य रहेका चौधरी अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्की चुहाको मेयरमा उम्मेदवार बनेका थिए । उनी दुवै पटक झिनो मतान्तरले पराजित भए ।

२०७४ मा लम्की चुहाको मेयरमा एमालेका महादेव बजगाईँ ७ हजार १८८ मत ल्याएर विजयी हुँदा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट निर्वाचनमा होमिएका चौधरीले ६ हजार २२२ मत पाएका थिए । त्यस बेला उनीहरूबीच ९६६ मतान्तर थियो । दोस्रो भएको कांग्रेसका उम्मेदवार भक्त बहादुर थापाले ६ हजार ५२१ मत पाएका थिए ।

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक र नेपाली कांग्रेसको २०७४ असोज ३० एकता भयो । त्यसपछि चौधरी कांग्रेसबाट प्रदेश २ को ‘ख’ मा उम्मेदवार बने । एमाले र माओवादीको बाम गठबन्धनसँग उनी ८४४ मतले पराजित भए । त्यो बेला बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नन्दबहादुर साउँदले १२ हजार ७७ मत प्राप्त गर्दा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका चौधरीले ११ हजार २३३ मत पाएका थिए ।

दुवै पटक एक हजारभन्दा कम मतले पराजित भएका चौधरी अहिले पनि लम्की चुहाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट आकांक्षी थिए । तर, उनले टिकट पाएनन् । त्यसको केही समयपछि जेठ २९ गते उनी नागरिक उन्मुक्तिमा भित्रिए ।

‘यसअघि प्राविधिक कारणले म झिनो मतले हारेको थिए । तर, यस पटक जित पक्का हो’ उनले नेपाल प्रेससँग भने, ‘नागरिकहरूले अहिले नागरिक उन्मुक्तिलाई विश्वास गरिरहनु भएको छ ।’

हारको ह्याट्रिकबाट जोगिएलान् ?

२०७४ सालको स्थानीय तहमा र त्यसै सालको प्रदेश सभामा लगातार उम्मेदवार बनेर पराजित भएका चौधरी यस पटक हारमा ह्याट्रिक गर्छन् वा जित्छन्, त्यो हेर्न भने मंसिर ४ को मत परिणाम सम्म कुर्न आवश्यक छ । हारमा ह्याट्रिक गरेर इतिहास बन्न सहज भएपनि हारको शृङ्खलालाई जितमा बदलेर इतिहास बनाउन भने उनलाई सहज छैन ।

२०४८ सालदेखि लगातार तीन पटकसम्म कांग्रेसले जितेको यस क्षेत्रमा यस ६४ मा माओवादी साथै ७० र ७४ मा एमाले विजयी भएको थियो ।

एमाले अहिले पनि जितेर ह्याट्रिकको दाउमा छ । तर, गठबन्धन रोक्ने दाउमा छन् ।

क्षेत्र नम्बर २ मा स्थानीय तहतर्फ बर्दगोरीया गाउँपालिका र लम्की चुहा नगरपालिकाको पूरै क्षेत्र पर्दछ । यहाँ मोहन्याल गाउँपालिकाको तर्फबाट वडा नम्बर ५ बाहेकका सबै वडा र जानकी गाउँपालिकाको वडा नम्बर २,५,८ र ९ पर्दछन् ।

लम्की चुहाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएका छन् । बर्दगोरीयाको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भएका छन् ।

यहाँ पर्ने जोशीपुरका चार वडा मध्ये तीन वडामा एमाले विजयी भएको थियो । त्यस्तै मोहन्याल गाउँपालिकाको ६ वडा मध्ये तीन वडामा कांग्रेस, २ वडामा माओवादी र एक वडामा एमाले विजयी भएको थियो ।

यहाँको वडाध्यक्षहरूको मत परिणाम अनुसार नेकपा एमालेले सबैभन्दा पाएको छ । यहाँ एमालेले १७ हजार ८३४ मत पाउँदा कांग्रेसले १३ हजार ८२०, माओवादी ८ हजार ७२४ मत पाएको थियो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार ४०७, र नेकपा एकीकृत समाजवादीले २ हजार ३०६ मत पाएको थियो ।
स्थानीय तहमा वडाध्यक्षको पाएको मत अनुसार एमाले सबैभन्दा अगाडि छ ।

यहाँ कांग्रेसले एमालेलाई वा एमालेले कांग्रेसलाई भन्दा पनि दुबै दलले नागरिक उन्मुक्तिलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरेका छन् ।

‘हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हुँदैन । नागरिक उन्मुक्तिसँग प्रतिस्पर्धा गरेर हामी जित्छौँ’ क्षेत्र नम्बर २ कै एमालेका एक नेताले भने ‘नागरिक उन्मुक्तिलाई नयाँ भनेर हेप्न सकिने अवस्था छैन । ’

क-सको दाबी ?

अहिलेसम्म नागरिक उन्मुक्तिबाट अरुण चौधरी पक्कापक्की छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । तर, यहाँ माओवादी भन्दा कांग्रेसको सम्भावना बढी रहेको बताइन्छ ।

माओवादी केन्द्रबाट यहाँ २०६४ सालमा निर्वाचित भएका भगत बडूवाल उम्मेदवार बन्ने सम्भावना बढि छ । यस प्रतिनिधि सभाको एक प्रदेश सभामा पनि माओवादीले दाबी गरेको छ । अघिल्लो पटक २ को ‘ख’ मा कांग्रेसका अरुण कुमार चौधरीलाई ८४५ मतले हराउँदै माओवादीका नन्दबहादुर साउद विजयी भएका थिए । अहिले पुन: साउद माओवादीको तर्फबाट उम्मेदवार बन्ने चर्चा छ ।

यहाँ कांग्रेसले प्रतिनिधिसभा तर्फ मोहनसिंह राठौर र कमल शाहले दाबी गरेका छन् । उनीहरू यो क्षेत्र कांग्रेसको भागमा परे राठौर प्रतिनिधिसभातर्फ लडेर शाह क क्षेत्रको प्रदेशसभामा लड्ने सम्भावना बढी छ ।

एमालेको तर्फबाट भने अघिल्लो पटक निर्वाचित भएका झपट रावलले दाबी गरेका छन् । उनीसँगै कमला ओली र सूर्यबहादुर थापा पनि चर्चामा छन् ।

प्रदेशसभा तर्फ एमालेबाट डेजी पाण्डेको सम्भावना बढी देखिएको छ । उनी एमाले कैलालीका सचिव हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर