तीन महिनाअघि जेलबाट छुटेका सिताराम र माइतबाट घर हिँडेकी महिला कसरी भेटिए ? – Nepal Press

तीन महिनाअघि जेलबाट छुटेका सिताराम र माइतबाट घर हिँडेकी महिला कसरी भेटिए ?

काठमाडौं । धादिङको कुमपुर–५ घर भएका सिताराम भुजेल बुटवलमा तरकारी पसल चलाउँदै गर्दा पक्राउ परेका थिए सात वर्षअघि ।

एक रिक्सा चालकको मृगौला बिक्रीमा मुछिएपछि सितारामलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा खुल्यो– सिताराम आफैंले पनि आफ्नो एउटा मृगौला बेचेका रहेछन् । तर अर्काको मृगौला बिक्री गरेको कसुरमा अदालतले भुजेललाई ७ वर्ष जेल सजाय तोक्यो । त्यतिबेला भुजेलको परिवारमा उनको श्रीमती तथा छोरा र छोरी थिए ।

मानव बेचबिखन तथा ओसारपसारमा दोषी ठहर भएकाले सिताराम ७ वर्ष नै जेल बस्नुपर्ने अनिवार्य थियो । यसबीचमा केही समय अघि भुजेलकी श्रीमतीको क्यान्सरका कारण निधन भइसकेको थियो ।

सुनसरीको झुम्का कारागारमा सजाय काटेर उनी ३ महिनाअघि छुटेपछि बुटवलको त्यही तरकारी बजार क्षेत्रमै फर्किए । रुपन्देही प्रहरीका अनुसार भुजेल त्यस क्षेत्रमा ज्यालामजदुरी गर्दै आएका थिए । घर पनि गएका थिएनन् ।

उनै भुजेल मंगलबार बिहान बुटवल उपमहानगरपालिका–२ स्थित फुलबारी चोकमा रहेको कारिकोट होटलको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परे । उक्त कोठामा दाङ घर भएकी २३ वर्षीय पुष्पा पुनमगर ओछ्यानमा मृत भेटिएकी थिइन् । प्रहरीले महिलाको हत्यापछि भुजेलले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

‘उनी जेलबाट छुटेपछि घर पनि गएका रहेनछन्’, रुपन्देही प्रहरी प्रमुख रविन्द्र रेग्मीले भने । तर प्रहरीले भुजेलको ती महिलासँग कसरी भेट भएको थियो भन्नेबारे अझै पत्ता लगाउन सकेको छैन । महिलाले मोबाइल नबोक्ने गरेको पाइएको छ । भुजेलको साथमा भने मोबाइल भेटिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार साँझ दुवै जना नजिकैको एक होटलमा मदिरा सेवन गरेर राती ९ बजे कारिकोट होटलमा प्रवेश गरेको पाइएको छ । पुष्पाका आफन्तका अनुसार उनी साउनको तेस्रो सातादेखि सम्पर्कविहीन भएकी थिइन् ।

माइत बस्दै आएकी उनी श्रीमानको घर जान्छु भन्दै निस्किएपछि बेपत्ता भएको उनका आफन्तहरुले बताएका छन् । पुष्पाका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा छन् । उनी पुष्पाका दोस्रो श्रीमान हुन् । पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि डेढ वर्षअघि पुष्पाले दोस्रो विवाह गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार भुजेलका छोराले जाहेरी दिएपछि अनुसन्धानको प्रकृया अगाडि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर