प्यूठानमा वामदेवको ‘रि इन्ट्री’ : सफल होला ‘प्रोक्सी वार’ को रणनीति ? – Nepal Press

प्यूठानमा वामदेवको ‘रि इन्ट्री’ : सफल होला ‘प्रोक्सी वार’ को रणनीति ?

नेकपा (एकता अभियान) का संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया-हथौडाबाट चुनाव लड्ने भएपछि प्यूठानको राजनीतिमा सरगर्मी छाएको छ ।

यदि मागबमोजिम नै गौतमलाई सत्ता गठबन्धनले प्यूठानबाट साझा उम्मेदवार बनायो भने विभिन्न दलबाट उम्मेदवार बन्न ठीक्क परेका तीन नेताले पछाडि हट्नुपर्छ । एमालेबाट उम्मेदवार बन्ने नेताले घरको पर्खाल बन्दिलो पार्नुपर्ने हुनसक्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल, माओवादी केन्द्रका लीलामणि पोखरेल, कृष्णध्वज खड्का, रेखा शर्मादेखि गोविन्द आचार्य र जनमोर्चाकी बहालवाला सांसद दुर्गा पौडेल आगामी संसदमा जाने गरी चुनावी तयारीमा जुटिसकेका थिए । तर, एकाएक वामदेवको इन्ट्री भएपछि प्यूठानका सबैजसो राजनीतिक दलभित्र फरक फरक तरंग मच्चिएको छ ।

गठबन्धनको मापदण्ड अनुसार यो क्षेत्र दुर्गा पौडेलको हो र संकटको बेला गण्डकी र लुम्बिनी सरकार बनाएर जोगाइदिएको जनमोर्चालाई घर न घाटको बनाउन सम्भवतः अप्ठेरो हुनेछ ।

वामदेवको आशा एमाले-समाजवादीमै

०७७ पुस ५ पछि तत्कालीन नेकपा र एमालेको कुनै पक्षमा पनि नखुलेका वामदेवसँग कार्यकर्ता छैनन् । उनीसँग भएका केही सदावहार (गलगाँड) नेताहरू पनि नेकपा एसमा छन् । वामदेव सेनाविनाका सेनापति भनिए पनि प्यूठानका एमाले र नेकपा एसमा आफ्नै पक्षधरको बाहुल्य रहेको बुझाइ वामदेवको छ ।

वामदेव निकटहरू भन्छन्-त्यहाँको एमाले जिल्ला कमिटीमा बहुमत वामदेव पक्षकै छन् । उनका पूर्वस्वकीय सचिव विजयविराज विष्ट नै पार्टीका जिल्ला अध्यक्ष छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भोजविक्रम बूढा वामदेवसँग अविच्छिन्न जोडिएका कार्यकर्ता हुन् । वामदेवलाई एमाले र नेकपा एसको साथ मिल्न सक्छ ।

वामदेव निकटहरू सरुमारानी गाउँपालिका अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष झगबहादुर विश्वकर्मालाई समेत आफ्नो पक्षमा दाबी गरिरहेका छन् । तर चुनावमा वामदेव समेतको समर्थन रहेको सत्ता गठबन्धनसँग भिडेर जिल्लाको सबैभन्दा पार्टीलाई जिल्लाको सबैभन्दा ठूलो दल बनाएका एमालेका नेता कार्यकर्ताको भरमा वामदेव पर्दा बर्दियाको नतिजा व्यहोर्नुपर्ने हुन सक्छ ।

सूर्य थापासँग आमुन्नेसामुन्ने

यसचोटि प्यूठान एमालेका निर्विकल्प उम्मेदवारका रूपमा जिल्ला इन्चार्ज सूर्य थापा देखिन्छन् । उनको इन्चार्जशीपमा प्यठानमा एमाले पहिलो दल बनेको छ । वामदेवले सूर्य थापाको सामना गर्दैगर्दा एमालेभित्रै खेल्न सकिन्छ भन्ने सोचेका छन् । आफ्ना पूर्वस्वकीय सचिव विजयविराज विष्टको बारेमा निकटस्थहरूबाट जे प्रचार गरेपनि विष्ट र थापाको जोडी अहिले प्यूठानमा एमाले जिताउने मिसनमा रहेको नेताहरू बताउँछन् ।

०७४ को संघीय निर्वाचनमा बर्दियाबाट आफूलाई हराउने भूमिका सूर्य थापाले खेलेको आरोप वामदेवले लगाएका थिए । वामदेव हराउने काम सूर्यकै योजनामा भएको उजुरी पार्टीमा दर्ता भएको थियो । त्यसउपर छानबिन नहुँदै पार्टी विभाजन भयो । तर, अर्को चुनावसम्म आइपुग्दा अब अन्तर्घार्ता होइन खुला प्रतिस्पर्धाको आमुन्नेसामुन्नेमा पुगेका छन् गौतम र थापा ।

लामो समय वामदेवका प्रेस सल्लाहकार रहेका विश्वमणि सुवेदी भन्छन्, ‘आज पार्टीका हिसाबले हामी जता छरिए पनि सूर्यले वामदेवमाथि गरेको अन्तर्घातको बदला लिने बेलामा हामी सधैँ एक ठाउँमा हुन्छौँ ।’

एमालेका जिल्ला अध्यक्ष विजय विराज विष्ट गत स्थानीय निर्वाचनमा प्यूठान नगरपालिकाको मेयरमा उम्मेदवार थिए । विष्ट ७ हजार ८ सय १६ मतसहित निकटतम् प्रतिद्वन्द्वी भएका थिए । त्यहाँ गठबन्धनबाट माओवादी केन्द्रका विष्णुबहादुर योगीले ९ हजार ३ सय २३ मत ल्याएर मेयर जितेका हुन् । वामदेव पक्षधरहरू अहिले विष्टले ल्याएको मतमा आफूहरूको योगदान रहेको दावी गर्दै प्यूठान छिर्न लागेका छन् ।

एमालेका नेता कार्यकर्ता भने वामदेवको चालबाजी प्यूठानमा नचल्ने र एकपटक प्यूठानले जिताएको गुण समेत नतिरी बर्दिया झरेकाले गठबन्धनबाट वामदेव उम्मेदवार बने एमालेको लागि जित सहज हुने दाबी गर्छन् ।

कस्तो छ वामदेवको प्रभाव

प्यूठानका मूलबासी तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माका अनुसार प्यूठानको माटोले वामदेवलाई चिनेको र चाहेको छ । उनी भन्छन्, ‘उहाँले वाम एकतालाई सुदृढ बनाउँदै मोहनविक्रमको सम्मानका साथ अगाडि बढ्नुभयो भने पूरै जिल्ला उहाँको पक्षमा हुने देख्छु ।’

शर्माले वामदेवलाई ०४८ देखि नै प्यूठानबाट चुनाव उठ्न सुझाव दिँदै आएको बताए । ‘उहाँको जन्म, शिक्षा, पार्टी निर्माणदेखि पारिवारिक इतिहास पनि प्यूठानमै छ, त्यसलाई ख्याल नगरी लामो समय बर्दियामा अल्मलिनुभयो’, शर्माले भने, ‘अब उहाँसँग राम्रो मौका छ, सदुपयोग गर्नुहोला ।’

वामदेव त्यहाँको दाखाक्वाडीमा जन्मिएका हुन् । उनका हजुरबुबा गाउँका सामन्त थिए, बुबा कविराम धनी किसानका रूपमा जिल्लाभर परिचित थिए । उनका मामा प्यूठान कांग्रेसका संस्थापक सभापति र ०१५ सालका सांसद थिए । उनी भने वाल्यकालमै मोहनविक्रम सिंहबाट दीक्षित भई पहिलो चरणमा प्यूठानमै ‘कम्युनिष्ट’ बने । दोस्रो चरणमा, अर्थात् युवा अवस्थामा मोदनाथ प्रश्रितसँग भैरहवामा भेट भएपछि संगठित रूपमा कम्युनिष्ट भएका हुन् ।

कांग्रेस समस्याको लाभ लिने दाउ

वामदेवले चुनाावअघि नै एमाले र कांग्रेसको नाममा प्रोक्सी अन्तरविरोधको प्रयास गरिरहेका छन् । यसचोटि वामदेव प्यूठानका गठबन्धन उम्मेदवार बने भने उनले कांग्रेस समस्याबाट ठूलो लाभ लिने सम्भावना रहेको भन्दै निकटस्थहरूले प्रचार गरिरहेका छन् ।

जिल्ला पार्टी सभापति विष्णु गिरी कांग्रेस प्रत्यासीका रूपमा हेरिएका डा.गोविन्द पोखरेलपक्षीय हुन् । जिल्ला अधिवेशनमा अरु सबै पद निर्विरोध, सभापतिमा मात्रै चुनाव भएको थियो । त्यसक्रममा गोलीसमेत चलेको थियो । त्यस्तो प्रतिस्पर्धामा सहभागी अर्का पात्र थिए, देउवापक्षीय शिव रिजाल । डा. पोखरेल उम्मेदवार भएको अवस्थामा रिजाल पक्षले असहयोग गर्ने स्थिति थियो । अब कांग्रेसले प्रदेशसभाको एउटा क्षेत्र लिएर गठबन्धन गर्दा र वामदेव नै उम्मेदवार हुँदा अविभाजित रूपमा उनीहरूले मतदान गर्ने स्थिति बन्ने वामदेव निकटहरूको दावी छ ।

०७४ को निर्वाचनमा डा.पोखरेल उम्मेदवार हुँदा कांग्रेस एक्लैले ३१ हजार २ सय ८६ मत ल्याएको थियो । एमाले, माओवादी र जनमोर्चाको गठबन्धनबाट उम्मेदवार बनेकी सांसद दुर्गा पौडेलले ४७ हजार ५ सय १४ मत ल्याएकी थिइन् । कांग्रेसले उक्त जिल्लामा ल्याएको समानुपातिकतर्फको मत भन्दा डा.पोखरेलले ल्याएको मत बढी थियो । जिल्लामा जनमोर्चासँग ११ हजार स्थिर मत छ ।

गणितमा परिणाम

वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडागत मत विश्लेषणमा प्यूठानमा एमाले करीव ४० हजार मतसहित पहिलो शक्ति छन् । गठबन्धनका पाँचवटै घटकको मत जोड्दा करीव ५० हजार मत छ । तर, वामदेव उम्मेदवार बन्दा एमालेले १० हजार भन्दा बढी मत लाभ पाउने आँकलन एमाले नेताहरूको छ ।

प्रचण्डको पिरलो

वामदेवले माओवादी केन्द्रको चुनाव चिह्नमा भाग लिने कुरा टुंगो लगाउँदैमा भनेका थिए, ‘पाए प्यूठान, नत्र कतै न कतै ।’

उनले सत्ता गठबन्धनमा आफ्नो पार्टी अलग हैसियतमा नजाने र आफ्नो उम्मेदवारीबारे टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको बताएका थिए । तर, सबभन्दा मुस्किलमा प्रचण्ड आफैँ छन् । वामदेवलाई प्यूठानबाट उम्मेदवार बनाउने कुराले जनमोर्चाको एकमात्र सांसद रहेको जिल्ला त गुम्ने नै भयो । लीलामणि पोखरेलदेखि कृष्णध्वज खड्कासम्मका माओवादी केन्द्रका नेताको चुनावी सपना तुहिने स्थिति रहन्छ । पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई त्यहीँबाट सांसद बनाउने सिफारिस पनि प्रचण्डको हातमा छ । कृष्णध्वज पत्नी रेखा शर्मा माओवादी केन्द्रबाट सांसदकी अर्की आकांक्षी हुन् । प्रचण्डले आफ्नै पार्टीभित्रका यत्तिका आकांक्षीलाई पन्छाएर गठबन्धनमा वामदेवको जिम्मा लिनु सजिलो कुरा होइन ।

जनमोर्चाको हकमा प्यूठानको सट्टा बाग्लुङ सुरक्षित छ । त्यहाँबाट चित्रबहादुर केसीसहित अन्य नेतालाई उठाउँदा जित्ने सम्भावना बलियो छ । तर, प्यूठानी माओवादीका लागि अरु जिल्ला र क्षेत्रमा चुनाव लड्ने सुविधा कम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर