सुध्रिएकै हो त अर्थतन्त्र ? बढ्यो विदेशी मुद्रा सञ्चिती – Nepal Press

सुध्रिएकै हो त अर्थतन्त्र ? बढ्यो विदेशी मुद्रा सञ्चिती

काठमाडौं । पछिल्लो समय मुलुकका लागि सबैभन्दा बढी चिन्ताको विषय बनेको विदेशी मुद्रा सञ्चितीमा सुधारको संकेत देखिएको छ । गएको बैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिती जेठ मसान्तसम्म आइपुग्दा ११ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ । यस अवधिमा झण्डै ३० अर्ब सञ्चिती बढेको देखिन्छ ।

असारसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिती १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्लो तीन महिनामा विदेशी विनिमय सञ्चिती बढ्दै गएको छ । तर, गत वर्षको तुलनामा विदेशी विनिमय सञ्चिती घटिरहेको छ ।

२०७८ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिती १३ खर्ब ९९ अर्ब ३ करोड थियो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

२०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

अहिले मुलुकमा रहेको विदेशी मुद्रा सञ्चितीले ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपालको विदेशी विनिमय सञ्चितीले ११.२ महिनाको वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्थ्यो ।

रेमिट्यान्स आप्रवाह पनि बढ्यो

वर्षान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेको छ । योसँगै आर्थिक वर्ष २०७८÷७९ मा १० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

गत वर्ष ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । रेमिट्यान्स घटेको छैन । तर, वृद्धिदरमा भने संकुचन आएको देखिन्छ । सन् २०१६ मा नेपाल विश्वमा सबैभन्दा बढी रेमिट्यान्समा निर्भर मुलुकको सूचीमा थियो । त्यतिबेला जीडीपीमा रेमिट्यान्सको योगदान ३१ प्रतिशतभन्दा बढी थियो । अहिले जीडीपीमा रेमिट्यान्सको योगदान २४ प्रतिशतको हाराहारीमा छ ।

महँगी दोब्बर वृद्धि

गत आर्थिक वर्षमा मूल्यवृद्धि दोब्बर बढेको छ । यो वर्ष औसतमा ६.३२ प्रतिशत मूल्यवृद्धि रहेको छ । गत वर्ष औसतमा ३.६० प्रतिशत मूल्यवृद्धि भएको थियो । नेपालमा अन्तर्राष्ट्रियस्तरमा डलरको भाउ बढेसँगै मूल्यवृद्धि पनि बढ्ने गरेको छ । नेपालमा अधिकांश मालवस्तु आयात गरिन्छ । केन्द्रीय बैंकले चालु वर्ष दोहोरो अंकको मूल्यवृद्धिको प्रक्षेपण गरिसकेको छ ।

सोधान्तर स्थिति साढे २ खर्बले घाटा

कुनै पनि देशको अर्थतन्त्रको स्वास्थ्य स्थिर छ कि छैन भनेर नाप्ने प्रमुख औजारसमेत रहेको भुक्तानी सन्तुलनसमेत भनेर चिनिने मुलुकको सोधान्तर स्थिति यतिवेला साढे २ खर्ब बढी घाटामा छ । अघिल्लो वर्ष १ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो । अघिल्लो महिनाको तुलनामा असारमा सोधान्तर घाटामा थोरै संकुचन भएको थियो । यसमा थप सुधार हुने सम्भावना देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *