नेपालसँग पराजित नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल्न किन बाध्य भयो पाकिस्तान ? – Nepal Press

नेपालसँग पराजित नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल्न किन बाध्य भयो पाकिस्तान ?

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भए पनि टेस्ट राष्ट्रहरु एसोसिएट तथा एफिलिएट टोलीहरुसँग शृंखला खेल्न मान्दैनन् । तर, यतिबेला पाकिस्तान नेदरल्याण्ड्स पुगेर तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको छ ।

पहिलो खेलमा सोमबार राति नेदरल्याण्ड्सले पाकिस्तानलाई आच्छुआच्छु पार्‍यो । ३१५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन जोडेको थियो ।

नेदरल्यान्ड्स त्यही टोली हो, जसलाई गत वर्ष घरेलु मैदानमा बोलाएर नेपालले हराएको थियो । पाकिस्तान नेदरल्यान्ड्ससँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न बाध्य भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका १२ पूर्ण सदस्य र नेदरल्यान्ड्स यतिवेला आईसीसी वर्ल्ड कप सुपर लिग २०२०-२०२२ खेलिरहेका छन् ।

आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप २०१५-२०१७ को विजेता भएका कारण नेदरल्यान्ड्सले आईसीसी वर्ल्ड कप सुपर लिग खेल्न पाएको हो । सुपर लिगका अन्तिम पाँच टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकपका लागि विश्वस्तरको छनोट खेल्नुपर्नेछ ।

नेपालले हाल खेलिरहेको विश्वकप लिग- २ बाट शीर्ष तीन टोली विश्वस्तरको छनोटमा पुग्नेछन् । यसैगरी प्ले अफबाट पनि २ टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् । सुपर लिगमा रहेका १३ टोलीमध्ये एउटा टोलीले ८ टोलीसँग तीन-तीन खेलको अन्तरदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नुपर्ने व्यवस्थाा छ । यही प्रावधानअन्तर्गत पाकिस्तान नेदरल्यान्ड्ससँग एक दिवसीय खेल्न बाध्य भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर