एथ्लेटिक्समा चम्किएकी निशा भन्छिन्- विश्वमा देश चिनाउन चाहन्छु – Nepal Press

एथ्लेटिक्समा चम्किएकी निशा भन्छिन्- विश्वमा देश चिनाउन चाहन्छु

रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिका- १६ भेलागीकी १८ वर्षीय निशा चौधरीको अहिले परिचय फेरिएको छ । सामान्य किसान परिवारमा जन्मेकी निशा एथ्लेटिक्स खेलाडीको पहिचान बनाएकी छन् ।

उनले हालै सम्पन्न १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४ स्वर्णसहित ३ नयाँ कीर्तिमान कायम गरिन् । निशाको यो कीर्तिमानले लुम्बिनी प्रदेशलाई नै पहिलो बनायो ।

खेलप्रतिको लगन र नियमित अभ्यासबाटै यो सफलता मिलेको चौधरीको आत्मविश्वास छ । एथ्लेटिक्समा लुम्बिनीका खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको निशाको प्रदर्शनबाटै पुष्टि हुन्छ । एथलेटिक्समा कीर्तिमानी सफलतापछि निशाको चर्चा चुलिएको छ । दैनिक सम्मान र बधाई पाउँदा खुशीमात्र होइन आत्मविश्वाससमेत बढेको उनी बताउँछिन् । ‘खेलप्रतिको लगाव र नियमित अभ्यासको नतिजा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देखाउन पाएकी हुँ’, निशाले भनिन् ।

उनले भविष्यमा अन्तर्राष्ट्रिय एथ्लेटिक्स खेलाडी बन्ने लक्ष्य लिएको बताइन् । बिहान दैनिक अभ्यास गर्ने उनले कक्षा ८ अध्ययन गर्दा नै खेलप्रति आर्कषण रहेको सुनाइन् । विद्यालयका शिक्षक, परिवारका सदस्यहरुबाट सहयोग पाएकी उनी तेक्वान्दो खेलाडीसमेत हुन् । तर, अहिले सबै छोडेर एथ्लेटिक्समा मात्रै लागेकी छन् ।

उनको परिवारमा आमाबुबा, दुई दिदी र एक भाइ गरी ६ जना छन् । बुबा भारतमा रोजगारी गर्छन् । आमा खेतीपाती गर्छिन् । पदक जितेसँगै विद्यालय, साथीभाइहरुबाट सम्मान र बधाई ओइरिँदा मेहनतको फल पाएको उनको अनुभव छ । ‘खेलाडीलाई आर्थिक रुपमा सवल बनाउने गरी सरकारले पहल थाल्नुपर्छ’, निशाले जोड दिएर भनिन् ।

‘भाइ पनि एथ्लेटिक्स र फुटबल खेल्दै आएका छन् । मेरो परिवार मध्यम वर्ग हो, सबैको मेहनतले खानलाउन पुगेको छ, मलाई खेल क्षेत्रमा लाग्न सबैको प्रेरणा छ’, नेपाल प्रेससँग उनले भनिन् ।

अरनिको माविमा शिक्षा संकायतर्फ कक्षा १२ को परीक्षा दिएर बसेकी निशाले आगामी दिनमा एथ्लेटिक्सलाई नै निरन्तरता दिने बताउँछिन् । ‘अहिलेको प्रतियोगितामा लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन सकें । अब देशलाई नै च्याम्पियन बनाउने गरी खेल्ने योजनामा छु’, उनले भनिन्, ‘निरन्तरको मेहनतले पक्कै सफल हुनेछु ।’

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निशाले एकलतर्फ ३ र समूहमा १ गरी ४ स्वर्ण हात पारेकी थिइन् । उनले चमत्कारिक खेल प्रस्तुत गर्दै यसअघिका खेलाडीहरुले बनाएको ३ वटा कीर्तिमान तोडेकी छन् । छात्रा एक सय मिटर दौड उनले १२.५३ सेकेण्डमा पूरा गर्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाइन् ।

यसैगरी लङजम्पमा समेत ५.४७ मिटर जम्प गरी निशाले नयाँ रेकर्ड कायम गरिन् । उनले रिले एक सय मिटरमा समेत ५४ सेकेण्डमा दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरेकी छन् । दाङमा मात्रै सीमित उनी आफ्नो भविष्य एथ्लेटिक्समै देख्छिन् ।

‘म एथ्लेटिक्सबाटै विश्वमा देशको नाम चिनाउने गरी अघि बढ्छु’, निशाले भनिन्, ‘नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा नियमित अभ्यास गरिरहेको छु ।’

निशाको मेहनतले लुम्बिनी प्रदेश ४ नयाँ रेकर्ड कायम गर्दै १६ स्वर्ण, ११ रजत र ११ काँस्य गरी ३८ पदकसहित प्रथम हुन सफल भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । विश्वमै एथ्लेटिक्स सम्भावना भएको खेल भएकाले विजेता खेलाडीहरुलाई थप प्रतियोगिताहरुमा भाग लिन र तालिमको राम्रो अवसर उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।

देश संघीयतामा गए पनि खेलकुदमा संघीयता नआउनु दुःखद भएको उनले गुनासो गरे । जिल्लामा रहेका कार्यालय संघीय सरकारअन्तर्गत रहनु र प्रशिक्षकहरुबाट नतिजा आउने गरी काम नभएको उनको भनाइ छ ।

‘संघीय सरकारले कुल बजेटको १ प्रतिशतमात्रै खेलकुदमा लगाउन सके खेल र खेलाडीबाट उच्च उपलब्धि देखिनेछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *