काठमाडौंका १० सीट- को को छन् एमालेका सम्भावित उम्मेदवार ? (सूचीसहित) – Nepal Press

काठमाडौंका १० सीट- को को छन् एमालेका सम्भावित उम्मेदवार ? (सूचीसहित)

काठमाडौं । देशकै सबैभन्दा बढी १० निर्वाचन क्षेत्र रहेको काठमाडांैमा नेकपा एमाले यसपटक सात दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दैछ । काठमाडौंमा तेस्रो शक्तिका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एमालेको तालमेलबारे अहिलेसम्म कुनै छलफल नभएकाले एमालेले एक्लै गठबन्धनको सामना गर्ने रणनीति बनाइरहेको छ ।

पाँच वर्षअघि काठमाडौंका २, ३, ५, ७, ८ र ९ गरी ६ वटा क्षेत्रमा जीत निकालेको एमालेलाई यसपटक यो विरासत जोगाउन चुनौती छ । निर्वाचित ६ जनामध्ये माधवकुमार नेपाल र जीवनराम श्रेष्ठ नेकपा एस गठन गरेर बाहिरिएका छन् भने ७ नम्बरबाट निर्वाचित रामवीर मानन्धर पनि स्थानीय तह निर्वाचनदेखि एमालेको सम्पर्कमा छैनन् ।

स्थानीय तह निर्वाचनको परिणाम पनि काठमाडौंमा एमालेले सोचेजस्तो नआएका कारण काठमाडौंको विरासत जोगाउन एमालेलाई मुस्किल देखिएको छ । स्थानीय तहमा वडा तहको मतका आधारमा काठमाडौंका क्षेत्र नम्बर २, ४ र ५ मा मात्र एमालेको अग्रता छ ।

काठमाडौं जिल्लाभर वडाहरुमा दलले पाएको मतका आधारमा कांग्रेस पहिलो देखिन्छ । कांग्रेसका वडाध्यक्षहरुले जिल्लाभर १ लाख ५७ हजार ३४२ मत पाएका छन् । दोस्रो स्थानमा रहेको एमालेको मत १ लाख ५३ हजार ९१२ मत छ भने तेस्रो स्थानमा रहेको राप्रपाको २६ हजार ९१५ मत छ ।

नेकपा एस २१ हजार ६२४ मतसहित चौथो स्थानमा छ भने माओवादी केन्द्र १६ हजार मतसहित पाँचौं स्थानमा छ ।

एमाले काठमाडौंमा यसपटक कतिपय क्षेत्रमा उम्मेदवार बन्ने खालका लोकप्रिय व्यक्तिसमेत खोजिरहेको छ । विशेषगरी क्षेत्र नम्बर ६ र ७ मा एमालेले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने खालका हेभीवेट नेता भेटेको छैन ।

काठमाडौंका १० वटामध्ये क्षेत्र नम्बर ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाहेक अरु क्षेत्रका उम्मेदवार ‘फिक्स’ नरहेको एमाले नेताहरु बताउँछन् । यद्यपि स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ ९ नम्बर र डा.राजन भट्टराई ४ नम्बर पनि लगभग निश्चित छन् । रामेश्वर फुयाल मुख्यमन्त्रीका लागि प्रदेशमै बस्न चाहेकाले ३ नम्बरमा कृष्ण राईको टिकट पनि सुनिश्चित देखिन्छ ।

एमाले काठमाडौंका अध्यक्ष तथा प्रदेशसभा सदस्य दीपक निरौला भने उम्मेदवारको बारेमा अहिलेसम्म कुनै छलफल नभएको र पार्टीबाट पनि कुनै निर्देशन नआएकाले अहिले सबै अनुमानका कुरामात्र आइरहेको बताउँछन् । उनले केन्द्रीय कमिटी बैठकपछि मात्र जिल्लालाई निर्देशन आउने बताए ।

उम्मेदवारका आकांक्षीहरुले आआफ्नो ढंगले लबिङ गरे पनि जिल्ला पार्टीमा कसैको दाबी नआएको अध्यक्ष निरौलाले बताए ।

कुन क्षेत्रमा को को दावेदार

क्षेत्र नम्बर १

एमालेबाट काठमाडौं क्षेत्र नम्बर १ मा चारजना नेता प्रतिनिधिसभाका लागि प्रमुख दावेदार देखिएका छन् । केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, शर्मिला कार्की, काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर विदुर मैनाली र प्रदेशसभा सदस्य गणेश दुलाल प्रतिनिधिसभा सदस्यका दावेदार हुन् ।

यो क्षेत्रमा एमाले वडाको मतका आधारमा दोस्रो स्थानमा छ । कतिपयले यही क्षेत्रमा बस्ने नेता प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने कुरा गरे पनि ज्ञवाली आफ्नै निर्वाचन क्षेत्र गुल्मी २ मै व्यस्त छन् ।

क्षेत्र नम्बर २

यो क्षेत्र मदन भण्डारीको लिगेसी जोडिएको क्षेत्र हो । २०४८ सालमा मदनले जितेको यो क्षेत्रमा विद्या भण्डारीले पनि जितेको र पछि माधव नेपालले जितेको तथा हारेको क्षेत्र हो । नेपाल अहिले एमालेमा नरहेकाले अब यो क्षेत्रमा एमालेको उम्मेदवार को भन्ने चर्चा छ ।

यही क्षेत्रमा बसोबास गर्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पनि प्रत्यक्ष चुनाव लड्न चाहेमा उनी दावेदार हुन् । यही क्षेत्रका स्थानीय नेतामध्ये प्रतिनिधिसभाका अर्का दावेदार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ पनि हुन् । तर, श्रेष्ठले फेरि प्रदेशमै चुनाव लड्ने मनसाय व्यक्त गरेको एमाले स्रोतले जनाएको छ ।

उनीबाहेक प्रतिनिधिसभा सदस्यको दावेदारका रुपमा प्रदेशसभा सदस्य मणिराम फुयाल, पुराना नेता बुद्धभक्त चित्रकार र शंखरापुरका पूर्वमेयर सुवर्ण श्रेष्ठ पनि देखिएका छन् । वडाको मतका हिसाबले एमाले काठमाडौं २ मा पहिलो छ ।

क्षेत्र नम्बर ३

यो क्षेत्रमा केन्द्रीय सदस्य तथा यही क्षेत्रका सांसद कृष्ण राई नै दोहोरिने सम्भावना छ । अर्का दावेदार रामेश्वर फुयाल प्रदेशमै उम्मेदवार बन्ने तयारीमा छन् । त्यसैले राईले दोस्रोपटक उम्मेदवार बन्न चाहँदा उनले नै पाउने देखिन्छ ।

क्षेत्र नम्बर ४

यो क्षेत्रबाट स्थायी कमिटी सदस्य डा.राजन भट्टराई नै उम्मेदवार बन्ने सम्भावना छ । पहिलोपटक गगन थापासँग पराजयपछि भट्टराईले यो क्षेत्रमा आफू प्रधानमन्त्रीको सल्लाहकार भएका बेला विकास निर्माणका कामका साथै बजेट परिचालनमा जनप्रतिनिधिकै जस्तो भूमिका निर्वाह गरेका थिए । सोही कारण उनले उम्मेदवार बन्न चाहँदा अरुले दाबी गर्ने अवस्था छैन ।

भट्टराईका कारण उद्धब खरेल, रमा राई, विदुरविक्रम खड्का, निर्मल कुइँकेललगायतका नेता प्रदेशको भन्दा माथि दाबी गर्ने अवस्थामा छैनन् । स्थानीय चुनावका आधारमा काठमाडौं ४ मा एमाले पहिलो शक्ति हो ।

क्षेत्र नम्बर ५

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेको यो क्षेत्रमा यसपटक उनको विकल्प खोजिएको छैन । जनमतको हिसाबले पनि एमाले फराकिलो मतसहित पहिलो स्थानमा छ ।

यो क्षेत्रबाटै प्रदेशसभामा चुनाव जितेका केन्द्रीय सदस्य नारायण सिलवाल र जिल्ला अध्यक्ष दीपक निरौलाले नै पोखरेलको विकल्प नरहेको बताइसकेका कारण यहाँ अरु दावेदार छैनन् ।

क्षेत्र नम्बर ६

यो क्षेत्रमा यसपटक एमालेले हेभीवेट उम्मेदवार खोजेको छ । योगेश भट्टराई २ पटक हारेर ताप्लेजुङ गएपछि भएको प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनबाट माओवादीलाई भाग परेका कारण कांग्रेसले जितेको थियो ।

प्रदेशसभामा जितेकामध्ये केशव स्थापित मेयरमा पराजित भएकाले उनी उम्मेदवारको रेसमा छैनन् ।

अर्का प्रदेशसभा सदस्य योगेन्द्र संगौला प्रतिनिधिसभा सदस्यका दावेदार हुन् । तर, उनी पूर्ण रुपमा स्वस्थ हुन सकेका छैनन् । महिला नेता कल्पना रिजालले पनि यो क्षेत्रबाट उम्मेवार बन्न लबिङ गरिरहेकी छन् ।

कतिपयले यो क्षेत्रमा कि त योगेशलाई नै फिर्ता ल्याउने वा काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाउनुपर्ने चर्चा पनि चलाइरहेका छन् ।

क्षेत्र नम्बर ७

यो क्षेत्रमा पनि एमालेले हेभीवेट उम्मेदवार पाउन सकेको छैन । दुईपटक यसै क्षेत्रबाट निर्वाचित रामवीर मानन्धर यस क्षेत्रमा यसपटक पनि निर्विकल्प उम्मेदवार हुन सक्थे । तर, उनले स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा एमाले हराउन खुलेआम गतिविधि गरेर बालुवाटारमा फोटो सेसन नै गरे ।

नागर्जुन नगरपालिका तथा महानगरको १६ नम्बर वडामा पनि कांग्रेस उम्मेदवार जिताउन खुलेआम मत मागेको आरोप लागेका कारण उनी एमालेको गतिविधिमा छैनन् । रामवीरको च्याप्टर क्लोज भएका कारण यो क्षेत्रबाट कतिपयले विद्यासुन्दरकै नाम पनि लिएका छन् ।

स्थानीयस्तरमा यही क्षेत्रलाई आधार बनाएर काम गरिरहेका नेताहरु किरण शर्मा, श्याम घिमिरे र प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठ प्रतिनिधिसभा सदस्य उम्मेदवारका दावेदार हुन् ।

क्षेत्र नम्बर ८

एमालेबाट निर्वाचित जीवनराम श्रेष्ठ नेकपा एसमा लागेपछि यो क्षेत्रमा एमालेबाट उम्मेदवार बन्न उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नै अघि सर्नुपर्ने देखिएको छ । शाक्यले उम्मेदवार बन्न नचाहेमा प्रदेशसभा सदस्य राजेश शाक्यको सम्भावना हुनेछ ।

क्षेत्र नम्बर ९

यो क्षेत्रमा कृष्णगोपाल श्रेष्ठ मुख्य दावेदार हुन् । उनीबाहेक प्रदेशसभा सदस्य अजयक्रान्ति शाक्य, केशव पोखरेल पनि दावेदार हुन् । विद्यासुन्दर शाक्यको निर्वाचन क्षेत्र पनि यही हो । श्रेष्ठ अहिले पनि यही क्षेत्रका सांसद हुन् ।

क्षेत्र नम्बर १०

एमाले तुलनात्मक रुपमा कांग्रेससँगै निकै मतले पछि परेको यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट सुरेन्द्र मानन्धर प्रमुख दावेदार देखिएका छन् । उनी २०७० मा उम्मेदवार बनेर दोस्रो भएका थिए ।

उनीबाहेक कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन, गुञ्जमानसिंह बस्नेत र रामशरण आलेमगर पनि दावेदार हुन् । कीर्तिपुर नगरपालिकाको निर्वाचनमा भएको अन्तर्घातको आरोपका कारण यो क्षेत्रमा एमालेका नेताहरुबीच मन मिल्न बाँकी छ ।

कुन क्षेत्रमा कसको कति मत ?

काठमाडौं १ : कांग्रेस ९८९५, एमाले ९५४१, राप्रपा १३७६, माओवादी ११५९

काठमाडौं २ : एमाले १७३२८, कांग्रेस १४१२८, एस ७९११, राप्रपा ७२००, माओवादी ३१३१

काठमाडौं ३ : कांग्रेस १५७९५, एमाले १४८७६, माओवादी १७३०, राप्रपा १३१४, एस १०५६

काठमाडौं ४ : एमाले १६५०७, कांग्रेस १५७६३, एस २४१४, राप्रपा २२९३, माओवादी ८४४, जसपा ३१७

काठमाडौं ५ : एमाले १९७०३, कांग्रेस १४८५३, राप्रपा २८२२, एस १८२७, माओवादी ११६८, जसपा ५८

काठमाडौं ६ : कांग्रेस १७२७७, एमाले १४३०३, माओवादी २४६२, एस १८५९, राप्रपा १८१६

काठमाडौं ७ : कांग्रेस १४१६७, एमाले १२२०२, एस ३८३९, राप्रपा २०२७, माओवादी ५७६, जसपा १६२

काठमाडौं ८ : कांग्रेस १०८७२, एमाले ९२५३, एस ५१४२, राप्रपा ३१६०, माओवादी १८९

काठमाडौं ९ : कांग्रेस १९९१६, एमाले १९२८२, राप्रपा २४०१, माओवादी ६९५, एस ४६५

काठमाडौं १० : कांग्रेस २४६७५, एमाले १८८३८, माओवादी ४९४२, राप्रपा २४९६, एस १३४२


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर