करार कर्मचारी भर्नामा राजनैतिक हस्तक्षेप, दलको दबाबमा परीक्षा स्थगित – Nepal Press

करार कर्मचारी भर्नामा राजनैतिक हस्तक्षेप, दलको दबाबमा परीक्षा स्थगित

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले साउन १ गते विभिन्न १६ पदको लागि २९ जनाको विज्ञापन खोलेको थियो । विज्ञापनमा आठौँ तहको मेडिकल अफिसर देखि श्रेणी विहीन स्पिर सम्म दरखास्त आह्वान गर्न भनिएको थियो ।

सोही विज्ञापनलाई आधार गरेर दर्जनौँले आवेदन दिएका थिए । कार्यालयले साउन २९ गते देखी भदौ १२ गते सम्म परीक्षाको मिति समेत तोकिसको थियो ।

पहिलो दिन साउन २९ गते स्टाफ नर्स र अनमिको परीक्षा तोकिएको थियो । सोही तालिका अनुसार अनमि तर्फ १६ जना र स्टाफ नर्स तर्फ १४ जनाले परीक्षा दिइरहेका थिए । उता परीक्षार्थीले परीक्षा दिइरहेका बेला यता नगरपालिकाले अर्को सूचना जारी नहुँदा सम्मको लागि परीक्षा स्थगित भएको सूचना जारी गर्‍यो ।

परीक्षार्थीले परीक्षा दिइरहेका बेला परीक्षा नै स्थगित गर्नुको कारण भने राजनैतिक दबाब रहेको नगरपालिकाले जनाएको छ । परीक्षा स्थगित गर्ने भन्दै सूचना जारी गरेका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले नै राजनैतिक दबाबका कारण परीक्षा स्थगित गर्न बाध्य भएको बताएका छन् ।

‘कर्मचारी प्रति हाम्रो विश्वास छैन, यो परीक्षा हाललाई स्थगित गरी नयाँ ढंगले जानुपर्छ भन्ने कुरा आएर दबाब सृजना भएपछि मैले नै हाललाई स्थगित गरेको हुँ’ आचार्यले नेपाल प्रेसलाई भने ।

बैठकमा एमाले, माओवादी र कांग्रेसका प्रतिनिधिहरू रहेको आचार्यले बताए । सबै दलका प्रतिनिधिहरुले परीक्षा स्वच्छ र निष्पक्ष नभएको आशङ्का व्यक्त गरेको बताएका आचार्यले कांग्रेसले परीक्षा स्थगित गर्न पर्ने माग गरेको जनाए ।

उनले भने, ‘अविश्वासको कुरा सबै दलको उस्तै उस्तै थिए तर, भइसकेका प्रक्रिया नरोकौँ भन्ने थियो बाँकी दुई दलको ।’

बैठकमा कांग्रेसका प्रतिनिधिहरुले कर्मचारीहरूको सेटिङमा कर्मचारी भर्ना गर्न लागिएको भन्दै तत्काल परीक्षा स्थगित गर्न दबाब दिएका थिए ।

‘परीक्षा स्वच्छ र निष्पक्ष बनाउने भए प्रदेश लोक सेवा आयोगलाई जिम्मा पनि दिन सक्थ्यो’ बैठकमा सहभागी भएका कांग्रेस कैलालीका उपसभापति भीम बडूवालले भने, कर्मचारीहरूको सेटिङको शङ्काले विरोध गरेका हौँ ।’

माओवादी घोडाघोडी नगर अध्यक्ष खगेन्द्र हमालले परीक्षा स्थगित गराउने विषयमा आफ्नो पार्टी नरहेको स्पष्ट पारे ।

उनले भने,’कांग्रेस नगर सभापतिले बोलाएपछि म त्यहाँ गएको हु । हामी छिटो कर्मचारी नियुक्त गरेर नापीको काम गर्नु पर्छ, अस्पताल सुरु गर्नु पर्छ भन्ने मागमा छौँ तर, परीक्षा स्थगित गर्ने कुरामा कांग्रेसले जोड दिएको हो ।’

एमाले घोडाघोडीका अध्यक्ष बक्त बहादुर शाहीले पनि परीक्षा पारदर्शी बनाउने कुरामा सहमत भए पनि परीक्षा स्थगित गर्न नहुने बताएको जनाए ।

‘हामीले स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिएका थियौँ तर भइरहेको परीक्षा स्थगित गर्नु पर्छ भन्ने हाम्रो माग होइन’ उनले भने, ‘परीक्षा स्थगित गर्ने निर्णय हुँदा हस्ताक्षर नगरी म बाहिर निस्किए ।’

कर्मचारीले दलको दबाबमा परीक्षा स्थगित गरेको गरेको आरोप लगाए पनि दलहरूले भने कर्मचारीले आर्थिक प्रलोभनमा परेर कर्मचारी नियुक्त गर्न खोजेको आरोप लगाएका छन् । यी दुई अपरोपका कारण परीक्षार्थीहरू भने मारमा परे । भइरहेको परीक्षा स्थगित हुँदा नगर अस्पताल सुरु गर्न र जग्गा नाप जाँच गर्ने काम प्रभावित हुन सक्ने नगरपालिकाले जनाएको छ ।

‘दसैँ भन्दा अगाडी वितरण गर्नु पर्ने लालपुर्जा वितरण गर्न समस्या हुने भएको छ ।’ उनले भने, ‘१५ दिन भित्रमा पूर्ण क्षमता सहित नगर अस्पताल सञ्चालन गर्दै थियौँ त्यो पनि हाललाई स्थगित हुने अवस्था छ ।’

परीक्षा प्रशासनको कारणले स्थगित नभएको हुँदा अब कहिले हुने भन्ने बारे पनि आफू अनविज्ञ रहेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।


प्रतिक्रिया

One thought on “करार कर्मचारी भर्नामा राजनैतिक हस्तक्षेप, दलको दबाबमा परीक्षा स्थगित

  1. अब सबै पाटीले आफ्नु मान्छे राखेको होला तेसो गर्द्खेरी कशैको मान्छे न परेको रैछ
    अब परिक्षा परदेश को जिम्मा दिनु पर्छ

Leave a Reply to टेक बुढा Cancel reply

Your email address will not be published. Required fields are marked *