३७ औँ प्राज्ञ सभा : प्रज्ञा पुरस्कार घोषणा र ३० करोड २० लाखको बजेट पारित – Nepal Press

३७ औँ प्राज्ञ सभा : प्रज्ञा पुरस्कार घोषणा र ३० करोड २० लाखको बजेट पारित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभाले विभिन्न पुरस्कारहरु घोषणा तथा बजेट पारित भएको छ ।

अध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको ३७ औँ बैठकले विभिन्न विशिष्ट प्रतिभाहरूलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

जसअनुसार २०७९ का लागि रुपन्देहीका रामचन्द्र भट्टरालाई एक लाख रुपैयाँ राशीको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार, पहाडी हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई एक लाख राशीको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, यसै गरी मधेस तराईमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई रु. एक लाख राशिको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, भोजपुरका प्रा.डा. प्रेमकुरमार खत्रीलाई एक लाख राशीको नेपाल प्रज्ञा संस्कृति पुरस्कार, काठमाडौँका प्रा. विद्यानाथ उपाध्यायलाई एक लाख राशीको नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार, काठमाडौँका डा. नयनाथ पौडेललाई एक लाख राशीको नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी २०७८/०७९ का लागि भारत, दार्जिलिङका नरबहादुर दाहाललाई दुई लाख राशीको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र झापाका प्रा.डा. गोविन्दराज भट्टराईलाई दुई लाख राशीकै नेपाल प्रज्ञा अनुवाद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

३० करोड २० लाख ४२ हजारको बजेट पारित

प्राज्ञ सभाको ३७ औँ बैठकले आ.व. २०७९/०८० का लागि रु. ३० करोड २० लाख ४२ हजारको बजेट पारित गरेको छ । नेपाल सरकारबाट विगतमा भन्दा कम बजेट विनियोजन भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३७ औँ बैठकले थप रकम माग गर्ने गरी चालु आर्थिक वर्षका लागि बजेट र कार्यक्रम स्वीकृत गरेको हो ।

गत आर्थिक वर्षमा सरकारबाट प्रज्ञा–प्रतिष्ठानलाई रु. १९ करोड १२ लाख ६४ हजार विनियोजन भएकामा चालु आर्थिक वर्षका लागि रु १४ करोड २३ लाख मात्रै विनियोजन भएको छ । गत आर्थिक वर्षमा रु २५ करोड १४ लाख ३९ हजार आठ सय २४ यथार्थ आयव्यय विवरण सभामा प्रस्तुत भई पारित भएको छ । गत आ.व.मा प्रज्ञा–प्रतिष्ठानले आन्तरिक कोषबाट रु. ६ करोड एक लाख ८५ हजार खर्च गरेको थियो ।

त्यस्तै, सभाको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका भाषा, साहित्य, कला र संस्कृति मुलुकको विशिष्ट गहना भएको बताएका छन् ।

उनले विश्वमा नेपाललाई परिचित गराउन भाषा, साहित्य, कला र संस्कृतिको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै यसको विकासमा सबैको प्रयास हुनुपर्ने विचार व्यक्त गरे ।

नेपाली भाषा, साहित्य, संस्कृतिको अध्ययन–अनुसन्धान र प्रवर्द्धनमा प्रज्ञा–प्रतिष्ठानले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रवासमा रहेका नेपालीलाई समेत भाषा र साहित्यको माध्यमले देशलाई जोड्ने कार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले महत्वपूर्ण कार्य गरिरहेको बताए ।

उनले भने– “इतिहास निर्माणमा पुर्खाका योगदान हाम्रा गौरव हुन् । विविध जाति, भाषा, संस्कृति हाम्रा विशिष्ट सम्पदा हुन् । तिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता हो । यो कार्यमा प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा ध्यान दिई हाम्रो अपार बौद्धिक सम्पत्तिलाई विश्वसामु पस्कँदै ज्ञानको भण्डारलाई फराकिलो बनाउँदै लैजानुपर्छ ।” उनले स्थापना कालमा ज्ञान विज्ञानको क्षेत्रसमेत प्रतिष्ठानको कार्यक्षेत्रभित्र रहेको स्मरण गर्दै वर्तमानमा भाषा साहित्य, कला, सङ्गीत नाट्यको बेग्लाबेग्लै प्रज्ञा–प्रतिष्ठान स्थापना गरी राज्यले प्राथमिकता दिइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *