मनोनयनमार्फत देउवाको सन्देशः शेखर-गगन पक्षलाई २० प्रतिशत भागबन्डा – Nepal Press

मनोनयनमार्फत देउवाको सन्देशः शेखर-गगन पक्षलाई २० प्रतिशत भागबन्डा

विमलेन्द्र निधिबाहेक सबै नेताले पाए भाग, विश्वप्रकाशलाई पनि बेग्लै कोटा

काठमाडौं । शेखर कोइराला र गगन थापा पक्षले पार्टीभित्र समान न्याय नभए ४० प्रतिशत हिस्सा दाबी गर्ने निर्णय गरेलगत्तै सभापति शेरबहादुर देउवाले कांग्रेसमा उक्त पक्षलाई २० प्रतिशत भाग दिएका छन् ।

देउवाले मंगलबार केन्द्रीय कार्य समिति सदस्यमा १० जना महिला नेतालाई मनोनयन गर्दा शेखर पक्षका दुईजनामात्र परेका छन् । यो मनोनयनसँगै देउवाले कोइराला पक्षको हैसियत २० प्रतिशतमात्र रहेको सन्देश दिएको कांग्रेस नेताहरुले बताएका छन् ।

पार्टी केन्द्रीय कार्य समितिमा देउवा दुईतिहाइ बहुमतसहित ८२ प्रतिशतको शक्तिमा रहेकाले मनोनयनमा पनि सोहीबमोजिम शेखर पक्षलाई १८ प्रतिशत हैसियतभन्दा बढी दिइएको दाबी संस्थापन पक्षका नेताहरुको छ ।

१० जना मनोनयन हुँदा सभापति देउवाले प्रकाशमान सिंह, कृष्ण सिटौला र शशांक कोइराला तथा रामचन्द्र पौडेललाई समेत एकएक जनाको भाग लगाएका छन् । तर, सभापतिमा आफूलाई समर्थन गरेका विमलेन्द्र निधिलाई भने देउवाले यो मनोनयनमा भाग दिएनन् । महामन्त्री विश्वप्रकाश शर्मा पनि आफ्नो कोटाबाट एकजना सदस्य घुसाउन सफल भएका छन् ।

को कुन पक्षका ?

सभापति देउवाले शेखर कोइराला पक्षबाट महोत्तरीकी किरण यादव र मोरङकी रुक्मिणी कोइरालालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । त्यस्तै शशांक कोइराला र रामचन्द्र पौडेलको कोटाबाट धादिङकी उर्मिला थपलिया परेकी छन् ।

कृष्ण सिटौलाको कोटाबाट ललितपुरकी धना खतिवडा केन्द्रीय सदस्य बनेकी छन् । प्रकाशमान सिंहको कोटाबाट काठमाडौंकी कल्याणी रिजाल परेकी छन् ।

महामन्त्री विश्वप्रकाश शर्माको कोटाबाट झापाकी गोमा भट्टराई परेकी छन् । नेपाल प्रेससँग कुरा गर्दै आफू झापा क्षेत्र नम्बर एकको प्रतिनिधि रहेको भन्दै महामन्त्री शर्माको कोटाबाट परेको बताइन् । उनी महाधिवेशनमा केन्द्रीय सदस्य पराजित भएकी थिइन् ।

बाँकी काठमाडौंकी राधा घले, रुपन्देहीकी गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा, नवलपुरकी सीता देवकोटा शेरबहादुर देउवा पक्षका हुन् ।

सिटौला, शर्मा, प्रकाशमान र शशांक तथा रामचन्द्र पनि पछिल्लो समय देउवाकै टीममा रहेकाले समग्रमा ८० प्रतिशत संस्थापन पक्षले लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर