बुटवलको होटलमा जोडी मृत फेला घटना: मानव बेचबिखन अपराधमा ७ वर्ष जेल बसेका थिए सीताराम – Nepal Press

बुटवलको होटलमा जोडी मृत फेला घटना: मानव बेचबिखन अपराधमा ७ वर्ष जेल बसेका थिए सीताराम

काठमाडौं । रुपन्देहीको बुटवलस्थित एक होटलको कोठामा जोडी मृत अवस्थामा भेटिएको घटना हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

बुटवल उपमहानगरपालिका- २ स्थित फूलबारीचोकमा रहेको कारिकोट होटलमा धादिङको कुमपुर- ५ स्थायी घर भएका ३८ वर्षीय सीताराम भुजेल झुन्डिएको अवस्थामा भेटिएका थिए । उनी झुण्डिएको कोठाकै पलङमा दाङ स्थायी घर भएकी महिला पल्टिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भुजेलले युवतीको हत्यापछि आफूले आत्महत्या गरेको हुनसक्ने बताए । ‘महिलाको घाँटीमा औंलाको छापजस्तो देखिन्छ । बाँकी फरेन्सिक परीक्षणबाट थाहा होला’, एसपी रेग्मीले भने ।

प्रहरीका अनुसार महिला विवाहित हुन् । उनका श्रीमान वैदेशिक रोजगारीमा छन् । दाङबाट महिलाका आफन्त आइपुग्न बाँकी रहेकाले धेरै कुरा बुझ्न नसकिएको एसपी रेग्मीले बताए । भुजेल भने मानव बेचबिखनसम्बन्धी अपराधमा ७ वर्ष जेल बसेको पाइएको छ । उनी सुनसरीको झुम्का कारागारबाट तीन महिनाअघि मात्र छुटेको पाइएको रेग्मीले बताए ।

‘पछिल्लो समय बुटवलमै फलफूल पसल गर्दै आइरहेको बुझिएको छ। तर, भुजेल र महिलाबीच कसरी भेट भयो भन्नेबारे केही खुलेको छैन । दुवै जनाको मोबाइल पनि स्वीट्च अफ रहेको छ’, एसपी रेग्मीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर