यी हुन् २० रुपैयाँका लागि २२ वर्ष मुद्दा लडेका तुङ्गानाथ, पाए १५ हजार क्षतिपूर्ति – Nepal Press

यी हुन् २० रुपैयाँका लागि २२ वर्ष मुद्दा लडेका तुङ्गानाथ, पाए १५ हजार क्षतिपूर्ति

काठमाडौं । कानूनी मुद्दा मामिला टुंगो लाग्न लामो समय लाग्छ भन्ने हामीलाई थाहै छ । कानूनी प्रक्रिया लामो हुने भएकाले नै मानिसले सकेसम्म आफ्नो विवाद अदालतभन्दा बाहिर नै सुल्झाउन खोज्छन् । मानिसले अलिक गम्भीर किसिमका मुद्दा सुल्झाउनमात्र अदालतको सहारा लिने गर्छ ।

तर यो मान्यतालाई तोड्दै एकजना भारतीय नागरिकले मात्र २० रुपैयाँको लागि २२ वर्ष मुद्दा लडे । यसले धेरैलाई अविश्वसनीय लाग्नसक्छ । तर यथार्थ हो, मात्र २० रुपैयाँको लागि २२ वर्ष मुद्दा लड्ने भारतीय नागरिक हुन् तुङ्गानाथ ।

कुरा सन् १९९९ को हो । तुङ्गानाथ मथुरादेखि मोरादाबाद जाने क्रममा उनलाई दुइटा टिकटमा कुल २० रुपैयाँ बढी लिइयो । मिडिया रिपोर्टअनुसार खासमा उनको टिकटको कुल मुल्य भारु ७० हुनुपर्ने थियो । तर, टिकट अधिकारीले उनीसँग ९० रुपैयाँ लिए । तत्पश्चात तुङ्गानाथ ती अधिकारी र रेल विभागविरुद्ध अदालत गए ।

उनले मथुराको उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दा दायर भएको २२ वर्षपछि अदालतले उनको पक्षमा फैसला सुनाउँदै तुङ्गानाथले पाएको मानसिक र शारीरिक दबाबको क्षतिपूर्तिस्वरुप रेल विभागलाई भारु १५ हजार जरिवाना तिर्नसमेत आदेश दिएको छ ।

यस्तै उनलाई २० रुपैयाँको १२ प्रतिशतको दरले २२ वर्षसम्मको ब्याजसहित रकम फिर्ता गर्नसमेत रेल विभागलाई आदेश दिइएको छ । तुङ्गानाथ आफैं पनि पेशाले वकिल हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर