एमालेविरुद्धको गठबन्धन ८ दलीय बन्दै, वामदेव र बाबुरामले राखे यी सर्त – Nepal Press

एमालेविरुद्धको गठबन्धन ८ दलीय बन्दै, वामदेव र बाबुरामले राखे यी सर्त

काठमाडौं । नेकपा एमालेलाई सत्ताच्युत गर्न बनेको पाँचदलीय गठबन्धन आउने चुनावसम्म विस्तार हुँदै ८ दलीय बन्ने भएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलको गठबन्धनमा जसपाबाट फुटेको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान पनि मिसिएपछि सातदलीय बनेको छ । आउने चुनावमा एमालेविरुद्ध कम्तीमा ८ दलीय र बढीमा ९ दलसम्मको मोर्चा बन्ने देखिएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनमा अब बाबुराम र वामदेव पनि दलीय हैसियतमै थपिएका छन् । यद्यपि उनीहरूले माओवादीको चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको छ ।

माओवादीको चुनाव चिन्ह प्रयोग भए पनि उनीहरूले केही क्षेत्रमा आफ्ना उम्मेदवार उठाउन गठबन्धनमा भागबण्डाको माग गरेका छन् । माओवादी स्थायी कमिटी बैठकमा बाबुराम र वामदेवको सर्तबारे छलफल भएको र यो विषयमा गठबन्धनमा छलफल गर्ने माओवादी नेताहरूले बताएका छन् ।

के छन् बाबुराम र बामदेमका सर्त ?

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णवहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्त रहेको र त्यसबारेमा गठबन्धन पछि छलफल हुने जानकारी दिए । माओवादी स्थायी कमिटी बैठक बुधबार फेरि बस्ने महराले बताए । पार्टीका एक स्थायी समिति सदस्यका अनुसार बाबुराम भट्टराई र वामदेव गौतमले माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनका लागि केही सर्त राखेका छन् ।

उनका अनुसार ती सर्तमध्ये मुख्य सर्त भनेको आफ्ना कतिपय नेतालाई चाहेको ठाउँमा निर्वाचनमा सहभागी गराउनुपर्ने छ ।

उनले भने, ‘त्यस्तो खासै सर्त त होइन, तर उहाँहरुले हाम्रा कतिपय नेता कार्यकर्तालाई हामीले रोजेको ठाउँमा निर्वाचनमा लड्न दिनुपर्छ भन्नुभएको छ । त्यो गठबन्धनसँग छलफल गरेको टुंगो लगाउने भन्ने भएको छ ।’

यसैबीच गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि समेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेका छन् । चुनावपछिको गठबन्धनलाई समेत आँकलन गरेर देउवाले लोसपालाई पनि गठबन्धनमा समेट्न खोजेको बताइएको छ ।

सरकारमा सामेल हुन लोसपा चाहेको छ । तर, सरकारमा सामेल गर्न अब समय कम भए पनि गठबन्धनमा सामेल गरेर चुनावमा लैजाने तयारी भइरहेको गठबन्धनका नेताहरूले बताएका छन् ।


प्रतिक्रिया

One thought on “एमालेविरुद्धको गठबन्धन ८ दलीय बन्दै, वामदेव र बाबुरामले राखे यी सर्त

  1. यसो हेर्दा नेकपा एमाले एक दल नेपाली काँग्रेस एक दल अन्य अदल बदलहरुको एक दल भएर चुनावमा त्रिपक्षीय भिडन्त होला जस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर