एउटै चुनाव चिन्हबाट लड्ने जानकारी गराउन माओवादी र नेसपा आयोग जाँदै – Nepal Press

एउटै चुनाव चिन्हबाट लड्ने जानकारी गराउन माओवादी र नेसपा आयोग जाँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्ने जानकारी दिन नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा निर्वाचन आयोगमा जाँदैछन् ।

दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर एउटै चिन्ह्रबाट चुनाव लड्ने जानकारी गराउने कार्यक्रम रहेको पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रमेश मल्लले बताए ।  उनले भने,  ‘दुई पार्टी एक चुनाव चिन्हको मान्यताबाट अघि बढिने र निर्वाचन आयोगमा पनि सोही बमोजिम जानकारी गराउने हाे ।  अध्यक्षज्यू जानुहुँदैन  ।पार्टीका अरु नेता  जानुहुन्छ हाेला ।’

माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि अन्ततः डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने निश्चित भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको थियो ।

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले आँखा चिन्ह होल्ड गर्दै माओवादीकै गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।

योबाहेक सीट बाँडफाँटका बारेमा भने छलफल हुन बाँकी छ । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।

यो सहमतिसँगै अब नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुने निश्चित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर