एमाले बलियो भएरै प्रतिपक्षविरुद्ध गठबन्धनः नेम्वाङ – Nepal Press

एमाले बलियो भएरै प्रतिपक्षविरुद्ध गठबन्धनः नेम्वाङ

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत कसैसँग नभएकाले गठबन्धन भएको बताएका छन् ।

एमाले अर्घाखाँचीले सन्धिखर्कमा सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख नेम्वाङले एमालेसँग एक्लै चुनाव लड्ने कांग्रेससँग पनि हिम्मत नभएकोले गठबन्धनको टेको समाउनुपरेको बताएका हुन् ।

गठबन्धनबिना एमालेसँग चुनाव लड्न कसैले नसक्ने ठहर गर्दै ५ दलीय गठबन्धन भएको उनको भनाइ थियो ।
स्थानीय तहको चुनावमा एमालेको पक्षमा लोकप्रिय मत आएकाले र देशको विकासका लागि जनताले एमालेको सरकार आवश्यक ठानेका बहुमत ल्याएरै छाड्ने उनको दाबी थियो ।

‘अझै जति दल एक ठाउँ भए पनि मंसिरको चुनावमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैनन्’ उनले भने ।

‘कांग्रेसको धरातल कहाँ झर्‍यो, गठबन्धनबिना एक्लै चुनाव लड्न नसक्ने ठहर गर्दै ५ दलीय गठबन्धन गरियो,एमालेको शक्ति कति रहेछ भन्ने यही प्रमाण हो, गठबन्धन भए पनि चुनावमा एमाले आयो आयो’’ उनले भने, ‘एमालेका सबै नेताकार्यकर्ता एकढिक्का भएर अर्घाखाँचीका स्थानीय तहमा धेरै स्थानमा जित्न सफल भयौं । संघ र प्रदेशसभाका तीन वटै सिटमा एमाले उम्मेदवार विजयी भएरै छाड्छन् ।’

एमालेलाई चारैतिरबाट जति घेराबन्दी गरेपनि देशभर एमालेको बहुमतलाई रोक्न अब ५ दलीय गठबन्धनले नसक्ने उनले बताए ।

स्थानीय तहको निर्वाचनले एमालेबाट चोइटिएर बाहिरिएका माधवकुमार नेपालले आफ्नो औचित्य पुष्टि गर्न नसकेको उनले टिप्पणी गरे ।

एमाले सचिव टोपबहादुर रायमाझीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अर्घाखाँचीवासी जनता एमाले उम्मेदवारलाई जिताउन आतुर रहेको बताए । उनले एमाले नेतृत्वमा भएको विकासलाई जनताले बुझेको बताउँदै आफ्नो रक्षाका लागि भएको गठबन्धनलाई परास्त गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर