लुम्बिनीका १० प्रभावशाली कांग्रेसी नेताको के छ चुनावी तयारी ? – Nepal Press

लुम्बिनीका १० प्रभावशाली कांग्रेसी नेताको के छ चुनावी तयारी ?

रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरु चुनावी तयारीमा क्रियाशील छन् । नेकपा एमाले र माओवादीले समेत बलियो दावी गरेको लुम्बिनीका १२ जिल्लामा गएका तीन निर्वाचनमा कांग्रेसले चाहेजस्तो जीत निकाल्न सकेको छैन । वडा तहसम्म पार्टीका दुई समूहको समिति बन्नु, बलियो सांगठनिक आधार नहुनु र तुलनात्मक रुपमा कम्युनिष्ट पार्टी बलियो भएका कारण लुम्बिनीमा कांग्रेस कमजोर देखिँदै आएको छ ।

तर, कांग्रेस अहिले कम्युनिष्ट पार्टीको विभाजनले मात्रै होइन उनीहरुको साथले पहिलो बनेको छ । परिणामस्वरुप वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा समेत कांग्रेस प्रदेशको पहिलो पार्टी बन्यो । यही अवस्था रहे घोषित आम चुनावमा पनि कांग्रेस पहिलो पार्टी बन्ने निश्चित छ ।

लुम्बिनीमा कांग्रेसका प्रभावशाली नेताहरु यसैको तयारीमा लागेका छन् । उनीहरु जिल्ला-जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । कतिपय नेताहरु गठबन्धनमा आफ्नो सीट सुरक्षित गर्न लागिपरेका छन् । कति नेता गठबन्धनका लागि आफ्नो क्षेत्र छोड्नुपर्ने हो या होइन भन्ने अनिश्चित भए पनि सक्रियतापूर्वक लागिपरेका छन् ।

यहाँ प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये कांग्रेसले गठबन्धनमा कम्तीमा प्रतिनिधिसभातर्फ १६ र प्रदेशसभातर्फ २८ वटा सीट दाबी गरेको छ । संघतर्फको १६ सीट पाउँदा १० जना प्रभावशाली कांग्रेस नेताहरु ज्यानतोड लागिपरेका छन् ।

किशोरसिंह राठौर (सहमहामन्त्री )

कांग्रेसका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज किशोरसिंह राठौर साविकको निर्वाचन क्षेत्र बर्दिया २ छाडेर बाँके आउने चर्चा छ । सभापति शेरबहादुर देउवा निकट उनी सुरक्षित हुन चाहन्छन् । बर्दियाको राजापुर क्षेत्र छाडेर राठौर अहिले बाँकेको क्षेत्र नम्बर ३ मा आउने चर्चा चुलिएको छ ।

बाँके ३ का सभापति नक्की खाँले राठौर यो क्षेत्रमा आउने तयारी भएको बताए । राठौर २०७४ सालको निर्वाचनमा समानुपातिकबाट सासंद बनेका थिए ।

अमरसिंह पुन

जनयुद्धकालमा माओवादीसँग निरन्तर संघर्ष गरेर चर्चामा आएका नेता हुन् कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन । यहाँ माओवादीको बलियो संगठन भएकाले उनले सजिलै टिकट पाउने सम्भावना कम छ । यसकारण उनले कांग्रेस एकल रुपमा चुनावमा जानुपर्ने व्यक्तिगत धारणा पहिलेबाटै राख्दै आएका छन् ।

रोल्पामा गठबन्धनबाट सभापति पुन र माओवादीबाट वर्षमान पुनबीच कसले टिकट पाउलान् भन्ने चर्चा छ । अमरसिंह २०७४ मा वर्षामानसँग पराजित भएका थिए ।

माओवादीको सबैभन्दा सुरक्षित मानिने यो क्षेत्रमा स्थानीय तह चुनावमा समेत कांग्रेसले सत्ता गठबन्धनको निर्णय लत्याएर एमालेसँग तालमेल गरेको थियो । जसका कारण पुनसँग माओवादी चिढिएको छ ।

२०७४ मा वर्षामानले ४२ हजार ८४ मत ल्याउँदा अमरसिंहले २० हजार ३३७ मत पाएका थिए । स्थानीय तह चुनावको नतिजाअनुसार माओवादीलाई पराजित गर्न बाँकी सबै दल एकै ठाउँ हुनुपर्ने अवस्था छ । स्थानीय तह चुनावमा माओवादीको ४० हजार ७९१, कांग्रेसको २४ हजार ६६४, एमालेको १५ हजार ३०१, राप्रपाको १ हजार २१८ र नेकपा एसको ९५० भोट आएको छ ।

बालकृष्ण खाण

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री छन् बालकृष्ण खाण । उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । खाणलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको दाहिने हात मानिन्छ । उनको निर्वाचन क्षेत्र हो रूपन्देही ३ ।

अघिल्लोपटक एमाले-माओवादी गठबन्धन भएपछि उनी सुरक्षित रहन समानुपातिकमा गएका थिए । आफ्नो क्षेत्रमा राप्रपा नेता दीपक बोहोरालाई साथ दिएका खाण २०७० को निर्वाचनमा यहींबाट निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले धेरै पालिका जितेको र गठबन्धनको पनि साथ रहने भएकाले अहिले उनी प्रतिनिधिसभामा पुनः प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् ।

स्थानीय तह निर्वाचनमा वडागत मत हेर्दा गठबन्धनबाट कांग्रेसले टिकट पाए ढुक्कले जित्ने देखेर गृहमन्त्री खाण उत्साहित देखिन्छन् । यो क्षेत्रमा स्थानीय तह निर्वाचन परिणामअनुसार वडागत मतमा कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, राप्रपाले १३ हजार ३९७, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका छन् ।

भरत शाह

पटक-पटक निर्वाचन जितेर चर्चामा आएका नेता हुन् रुपन्देहीका भरत शाह । गत निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच तालमेल हुँदा पनि उनी विजयी भएका थिए । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य डिलाराम आचार्य फराकिलो मतान्तरले शाहसँग पराजित भएका थिए ।

शाह ३३ हजार ८८ मतका साथ विजयी हुँदा आचार्यले २० हजार ८२९ मत ल्याएका थिए । २०५६ सालमा पनि शाह विजयी भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका नेता स्व. रामनाथ ढकालले पराजित गरेका थिए । २०७० सालको निर्वाचनमा भने ढकाललाई शाहले झिनो मतले पराजित गर्न सफल भए ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअनुसार ५ नम्बर क्षेत्रमा एमाले र कांग्रेसले बराबर जस्तै जीत निकालेका छन् । एमालेबाट पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले उम्मेदवार बन्ने चाहना राखेका छन् । स्थानीय तहको निर्वाचनमा वडागत परिणामअनुसार एमालले २७ हजार १४५, कांग्रेसले २६ हजार ८८८, जसपाले ९ हजार ३३७, जनमतले ५ हजार ६५६, माओवादीले ४ हजार ६२५, लोसपाले ३ हजार ५५६, राप्रपाले २ हजार ८१३ र नेकपा एसले १ हजार १६३ मत ल्याएका छन् ।

चन्द्र भण्डारी

गुल्मीको क्षेत्र नम्बर १ बाट सधैं चुनाव लड्दै आएका चन्द्र भण्डारीको चर्चा गुल्मी र रुपन्देही २ मा छ । गुल्मीमा गठबन्धनका कारण छोड्नुपरेमा उनलाई सुरक्षित गर्न रुपन्देही २ मा चर्चा गरिएको कांग्रेस स्रोतले बतायो ।

स्रोतका अनुसार दुवै ठाउँमा उनको बसाइ रहेको र रुपन्देही २ मा विष्णु पौडेलसँग लड्ने कांग्रेसका अरु बलियो नेता नभएकाले उनलाई चर्चामा ल्याइएको हो । २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भण्डारी २०७४ सालको निर्वाचनमा एमाले नेता प्रदीप ज्ञवालीसँग पराजित भएका थिए । ज्ञवालीले ३७ हजार ८१४ मत ल्याउँदा भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए ।

स्थानीय तह निर्वाचनको वडागत मत परिणामअनुसार यहाँ गठबन्धन दल बलियो छ । भण्डारी प्रभावशाली नेता भएकाले गठबन्धनको तर्फबाट जीत निश्चित भएको कांग्रेस नेताहरु दाबी गर्छन् । यहाँ गठबन्धनको दल माओवादीले नेता लीलामणि पौडेललाई अघि सारेको छ ।

पुष्पा भुसाल

अर्घाखाँचीबाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित र २०७४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेकी उपसभामुख पुष्पा भुसाल अर्घाखाँचीबाट चुनाव लड्ने तयारीमा छिन् । यद्यपि यहाँ आकांक्षी धेरै भएकाले कसले टिकट पाउने भन्ने टुंगो लागेको छैन । २०६४, २०७०, २०७४ सालमा निरन्तर निर्वाचित एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध निर्वाचन नलड्न उनका शुभेच्छुकले सुझाव दिएका छन् ।

उनी संस्थापन समूहमा रहे पनि जिल्लामा इतर समूहको वर्चश्व छ । त्यसैले उनलाई पार्टीभित्रैबाट चुनौती छ । २०७४ मा वाम गठबन्धन हुँदा रायमाझीले ५० हजार ८३७ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका रामबहादुर बीसीले ३२ हजार ५४४ मत ल्याएका थिए ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको वडाध्यक्षले पाएको मत अनुसार एमालेले ४८ हजार २६०, कांग्रेसले ३७ हजार ९२५, माओवादीले ७ हजार ७९०, राजमोले ४ हजार २९४, एसले ३ हजार ७६३ मत पाएका छन् । स्थानीय तहको मतका आधारमा गठबन्धन बलियो अवस्थामा छ । तर, यहाँ सत्ता गठबन्धनबाटै धेरै आकांक्षी छन् । भुसाल उपसभामुख भएका कारण जिल्लामा आएर चुनावको तयारी भने गरेकी छैनन् ।

देवेन्द्रराज कँडेल

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल २०७४ सालमा वाम गठबन्धन हुँदा पनि नवलपरासी २ बाट विजयी भएका थिए । नवलपरासी पश्चिमबाट विजयी कँडेलका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट माओबादी केन्द्रका पोलिटव्युरो सदस्य घनश्याम यादवलाई १० हजार २३२ मतले पराजित गरेका थिए ।

कँडेलसँगै यहाँबाट प्रतिनिधिसभामा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले निर्वाचन लड्ने तयारी गरेका छन् । तर खनालभन्दा कँडेल बलिया दावेदार हुन् ।

कँडेलले चुनावी तयारीका साथ दिनहुँ भेटघाटका कार्यक्रम गरिरहेका छन् । स्थानीय तहको वडागत मत परिणाममा कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र एसको ८८५ मत आएको छ ।

डा. गोविन्दराज पोखरेल

कम्युनिष्ट पार्टीले लामो समयदेखि बलियो संगठन बनाएको जिल्ला हो प्यूठान । यही कांग्रेस नेता डा. गोविन्दराज पोखरेलको निर्वाचन क्षेत्र हो ।

मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहजिल्ला भएकाले सिंह पत्नी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल वाम गठबन्धनबाट २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । अहिले पनि पौडेलले यहीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार दाबी गरिरहेकी छन् ।

एउटा निर्वाचन क्षेत्र रहेको प्यूठानबाटै कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.पोखरेलले आकांक्षा देखाएका छन् । तर, जनमोर्चाले दाबी गर्ने यहींमात्रै एउटा क्षेत्र भएकाले पोखरेलले गठबन्धनबाट टिकट पाउने सम्भावना क्षीण छ ।

२०७४ को चुनावमा पौडेल १६ हजार २२८ मतान्तरले विजयी भएकी थिइन् । उनले ४१ हजार ५१४ र निकटतम प्रतिस्पर्धी पोखरेलले ३१ हजार २८६ मत पाएका थिए । गएको प्यूठानमा स्थानीय तह निर्वाचनमा दलका वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल देखिन्छ । दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी छ । गठबन्धनमा रहेका दलमध्ये सबैभन्दा बढी भोट भएको भन्दै कांग्रेसले प्यूठान छाड्न नहुने अडानमा नेताहरू छन् ।

स्थानीय तह निर्वाचनमा वडागत मत परिणाममा एमालेको ३९ हजार ८७७, कांग्रेसको २१ हजार ५६४, माओवादीको १७ हजार १६३, जनमोर्चाको १३ हजार ८५४, एसको १ हजार ४१७ र राप्रपाको ४३३ आएको छ ।

दीपक गिरी

कांग्रेस नेता दीपक गिरी दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा छन् । दाङमा ३ निर्वाचन क्षेत्र छन् । नेकपा एसकै स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले दाङ क्षेत्र नम्बर ३ बाट पुनः उम्मेदवारीको आकांक्षा राखेका छन् । तर, केसीले आकांक्षा राखे पनि गठबन्धनबाट १ नम्बरमा मेटमणि चौधरी, २ मा कृष्णबहादुर महराले दावी गर्दा ३ मा दीपक गिरीको दाबेदारी बलियो देखिन्छ ।

२०७४ मा केसी ६ हजार ५५७ मतान्तरले विजयी भएका थिए । केसीले ४० हजार २८७ र गिरीले ३३ हजार ७३० मत प्राप्त गरेका थिए । यो निर्वाचन क्षेत्रमा एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८० र नेकपा एसको १ हजार ९३८ भोट देखिन्छ । यहाँबाट एमालेले घनश्याम पाण्डे वा कोमल वलीलाई उम्मेदवार बनाउने चर्चा छ ।

सञ्जय गौतम

२०७४ सालको निर्वाचनमा एमालेका प्रभावशाली नेता वामदेव गौतमलाई हराएर चर्चामा आएका कांग्रेस नेता सञ्जय गौतम यसपटक पनि पुनः उम्मेदवार बन्ने तयारी लागेका छन् ।

देशभर वाम गठबन्धनले जीत हात पार्दा वामदेवलाई पराजित गरेर उनी चर्चामा आएका थिए । बर्दिया १ बाट कांग्रेसका गौतमले ४४ हजार ८२९ ल्याएर विजयी भएका थिए । उपाध्यक्ष गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर