चन्द्रागिरी रिट्रिट: प्रचण्ड-बाबुराम पुनर्मिलनको पानीढलो, खुमलटारमा कसरी खुले सूत्रधार ? – Nepal Press

चन्द्रागिरी रिट्रिट: प्रचण्ड-बाबुराम पुनर्मिलनको पानीढलो, खुमलटारमा कसरी खुले सूत्रधार ?

काठमाडौं । खुमलटारस्थित प्रचण्ड निवासको माथिल्लो तल्लामा आधा घण्टा ‘वान टु वान’ वार्तापछि मिटिङ हलमा झरेका डा.बाबुराम भट्टराईले प्रचण्डलाई भने- यो प्रक्रियाको सूत्रधार विश्वदीप हुन् ।

प्रचण्डले आफू यसबारेमा पूरै जानकार रहेको जवाफ दिए । मिटिङ हलमा रहेका केही नेताहरुलाई प्रचण्ड-बाबुरामबीच महत्वपूर्ण सहमति भएको बुझ्न कठिन भएन । सूत्रधार भनिएका विश्वदीप पाण्डे पनि प्रचण्डसँगै फोटो खिचाएर बाहिरिए ।

जनयुद्धकालदेखि नै बाबुरामसँग रहेका विश्वदीप प्रचण्डका पनि प्रिय पात्र हुन् । तर, बाबुरामसँगै माओवादीबाट बाहिरिएको पाण्डेले लामो समयपछि प्रचण्डसँगै बसेको फोटो सार्वजनिक गरे । बिहीबार बिहान प्रचण्ड-बाबुरामबीचको निर्णायक वार्ता सफल भएपछि उनले फेसबुकमा फोटो राखेका थिए ।

कुनै ठूलै उथलपुथल भएन भने मंगलबार प्रचण्ड र बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जानेछन् । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ ।

२०७२ सालमा संविधान जारी भएपछि माओवादी आन्दोलनबाट बाहिरिएका बाबुराम ७ वर्षपछि माओवादी पार्टीकै चुनाव चिन्ह र संयुक्त घोषणापत्रमा चुनाव लड्न तयार भएका छन् । यद्यपि उनले माओवादी नाममा सहमति नजनाएका कारण पार्टी एकता भने भएको छैन ।

उपेन्द्र यादवसँग सँगै बस्न नसकिने भएपछि जसपाबाट बाहिरिएका बाबुरामलाई सत्ता गठबन्धनमै राख्न र समाजवादी मोर्चा बनाउन प्रचण्डले यसबीचमा पटकपटक एक्लाएक्लै र सामूहिक वार्ता गरेका थिए । तर, बाबुरामलाई माओवादी धारमै राख्नुपर्छ भनेर केही नेताले निर्णायक पहल गरे ।

यसबीचमा प्रचण्ड जापान जानुभन्दा अगाडि दुई शीर्ष नेतासहित अन्य दोस्रो तहका नेता पनि तारन्तार छलफलमा थिए । हात्तीवनस्थित प्रचण्डका भाञ्जा गोकुल भण्डारीको घरमा भएको वार्ताले कुनै आकार नलिएपछि नेताहरु तितरबितर भएका थिए ।

तर, बाबुराम र उनी निकट नेता गंगानारायण श्रेष्ठसँग वर्षमान पुन र जनार्दन शर्माले छलफल निरन्तर गरिरहे । उनीहरु बाबुराम समूहलाई माओवादीमा फर्काउन चाहन्थे ।

बाबुरामले भने आफू कुनै हालतमा माओवादी नबन्ने बताए । यसबीचमा गंगा श्रेष्ठ र विश्वदीप पाण्डेले बाबुरामसँगको छलफलमा ‘तपाईंहरु माओवादीमा जाने भए जानुस् । तर, म माओवादी हुन्न’ भनेर प्रस्ट बताए । त्यसपछि यी नेताहरु अर्को विकल्पमा जुटे ।

प्रचण्ड जापान जानुभन्दा एक दिनअघि जनार्दन शर्मा र विश्वदीप पाण्डेबीच छलफल भएको शर्मा निकट स्रोतले पुष्टि गर्‍यो । बाल्यकालदेखि नै बाबुरामसँग बसेको कारण विश्वदीपको कुरा बाबुरामले नकाट्ने बुझाइ माओवादी नेताहरुको थियो ।

बाबुरामसँग विकल्पहरु सकिँदै गएको र वैकल्पिक राजनीतिक ग्राउण्ड पनि नबनेको अवस्थामा समाजवादी केन्द्रको विचार निर्माण गर्दै माओवादीसँगै एकता थाल्नुपर्ने बाध्यता आइसकेको थियो । अन्ततः जनार्दन र विश्वदीपको आइडिया काम लाग्यो ।

प्रचण्ड जापान गएकै दिन विश्वदीपले बाबुराम र जनार्दनबीच चन्द्रागिरी हिल्समा भेट गराए । त्यही दिन तत्काल पार्टी एकता सम्भव नभए पनि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट जाने सहमति भयो । सोहीबमोजिम प्रचण्ड आएपछि दुई नेताबीच वान टु वान र सामूहिक वार्तापछि माअ‍ोवादी र नेपाल समाजवादी पार्टीबीच एकल चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने सहमति भएको थियो ।

यसबीचमा पार्टी एकता संयोजन समिति बनाउने कुरा पनि उठे । बाबुराम सकेसम्म कम्युनिष्ट नाम नराख्ने, समाजवादी केन्द्र वा त्यस्तै नाम राखेर बृहत एकताको पक्षमा थिए । तर, प्रचण्डले एउटा छलफलमा ‘नेकपा’ ब्राण्ड केपी ओलीलाई एक्लै किन छाड्ने ? भन्दै माओवादी पुच्छर हटाउन सकिने आशय व्यक्त गरे ।

तर, अहिले चुनावअघि पार्टी एकता संयोजन समिति बनाउने र त्यसपछि एकता गर्ने कुरा पनि आयो । छलफलहरुमा नेकपा (समाजवादी केन्द्र) नाम राख्ने र त्यसमा माधव नेपाल लगायतका पार्टी पनि समेटिने कुरा आए । माधव नेपालभन्दा नेकपा एसमा झलनाथ खनाल हावी भएकाले समाजवादी केन्द्रको भ्रुण बढ्न नसकेको बुझाइ माओवादी र बाबुराम निकट नेताहरुको छ ।

बाबुराम भट्टराई सकेसम्म कम्युनिष्ट पार्टीको नामबाट होइन समाजवादी नामबाट बृहत एकताको पक्षमा छन् । तर, प्रचण्डले कम्युनिष्ट ब्राण्ड छाड्न सम्भव छैन । बरु नेकपाको पछाडि समाजवादी केन्द्र वा केही राखेर चुनावपछि बृहत एकता गर्ने अनौपचारिक समझदारी बनेको छ ।

बाबुरामसँग मधेस आन्दोलनका नेताहरु महिन्द्र यादवसहित छन् । त्यस्तै राजकिशोर यादवलाई पनि उनले यसबीचमा प्रचण्डसँग लगेर छलफल गराई आफ्नो मोर्चामा ल्याउने तयारी गरिरहेका छन् । त्यसो हुँदा बाबुराम पनि एउटा सानो शक्ति हुनेछ । जुन प्रचण्डका लागि आउने चुनावपछि आफू प्रधानमन्त्री बन्ने सन्दर्भमा सहयोगी हुनसक्छ ।

प्रचण्ड आउने चुनावपछि कुनै पनि हालतमा प्रधानमन्त्री बन्न चाहन्छन् । प्रधानमन्त्री पनि पहिलो चरणमै बन्ने उनको प्रयास छ । त्यसका लागि बाबुरामसहित हुँदा सहज हुनेछ ।

बाबुरामले अब आफू शक्ति र सत्ताको राजनीतिमा नलाग्ने र समाजवाद निर्माणका वैचारिक काममा लाग्ने भनेकाले प्रचण्डका लागि अझ सहज हुनेछ । बाबुरामले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सके जति पहल गर्ने निकटस्थहरुसँग बताएका छन् ।

यसै साता खुमलटार पुगेका केही मधेसवादी नेताहरुसँग प्रचण्डले ‘मैले पनि एमालेजस्तो पार्टीसँग एकता गरेर असफल भएँ, बाबुरामजी पनि नयाँ बैकल्पिक शक्ति बनाउने अभियानमा असफल हुनुभयो । हामी दुवैका प्रयोग असफल भएकाले अब हामी एक ठाउँमा उभियौं भने बलियो शक्ति बन्न सक्छौं’ भनेका थिए । उनले बाबुरामसँग आउने नेताहरुलाई गठबन्धनबाट सीट मिलाउने आश्वासनसमेत दिएका छन् ।

राजनीतिक जीवनमा लगभग उत्तरार्द्धमा प्रचण्डलाई बाबुराम र बाबुरामलाई प्रचण्डको सहारा चाहिएको सत्य हो । अब पार्टी एउटै बनाउने सन्दर्भमा बाबुरामको माग प्रचण्डले कसरी सम्बोधन गर्छन् ? माओवाद ब्राण्ड हटाएर समाजवाद राख्न तयार होलान् ? चुनावअघि यो प्रश्न अनुत्तरित रहनेछ । तर, यो चुनावी एकताले दुवै पक्षले केही न केही लाभ भने लिने निश्चित छ ।


प्रतिक्रिया

3 thoughts on “चन्द्रागिरी रिट्रिट: प्रचण्ड-बाबुराम पुनर्मिलनको पानीढलो, खुमलटारमा कसरी खुले सूत्रधार ?

  1. थुक्क मुलाका साग हो ! नेपाली जनतालाई बेवकुफ बनाउन सम्म बनायौ, अब तिमिहरु फेरि पनि जनतालाई मुर्गा हान्न सकिन्छ भन्ठानेका होलाउ ! अब तिमीहरूको खेल खत्तम ! जोगी बनेर हिन्डे हुन्छ !

    1. यो बाबुराम भनिने बबुरो पनि हावा रहेछ । यो एकपटक मधिसे भयेको थियो र उपेन्द्र यादव को चाकरी बजाउन पहाडेहरुलाइ गाली गर्दथ्यो। न्यून सान्स्कृतिक चेतना भयेको मानिस रहेछ यो ।

      1. भाइफुटे गँवारलुटेको अर्थ बल्ल महसुस हुदैछ होला यी नेताहरुलाई ।ठिकैछ जे सोचे जे सम्झे राम्रै गरे जस्तो लाग्यो बाबुरामको ब्यक्तित्व अध्यन अनुहार हेर्दा पनि कम्युनिष्ट जस्तै लाग्छ बोतल भित्र पानीनै भए पनि बाहिरबाट हेर्दा रक्सिनै लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर