रुस्दीमाथिको आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानको दाबी – Nepal Press

रुस्दीमाथिको आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानको दाबी

काठमाडौं । इरानले प्रख्यात लेखक सलमान रुस्दीमाथि भएको हमलामा आफ्नो कुनै पनि संलगनता नरहेको बताएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले सोमबार यस्तो दाबी गरेका हुन् ।

‘अमेरिकामा सलमान रुस्दीमाथि भएको आक्रमणको घटनामा उनी र उनका समर्थकबाहेक अरु कसैलाई दोषारोपण गर्न मिल्छ जस्तो हामीलाई लाग्दैन । उक्त घटनामा इरानलाई दोष लगाउने अधिकार कसैसँग पनि छैन ।’

कनानीलाई उद्धृत गर्दै एपीले जनाएको छ । अवार्ड विनर लेखक सलमान रुस्दीले विगत ३० वर्षदेखि ज्यान मार्ने धम्की खेप्दै आएका छन् । उनको चरम विवादित उपन्यास ‘सेटनिक भर्स’ सार्वजनिक भएसँगै इरानका तत्कालीन ता आयतोल्लाह रुहोल्लाह खोमेनीले उनको मृत्युको माग गर्दै फतवा जारी गरेका थिए ।

यति मात्र नभई अर्को एक इरानी संस्थाले पनि तिन मिलियन अमेरिकी डलर उनको टाउकोको मुल्य तोकेको थियो । इरानले १९७९ इस्लामिक क्रान्तिपछि कुनै पनि देशमा यस किसिमका अप्रेसनहरु संचालनमा नल्याएको दाबी गर्दै आए तापनि रुस्दीमाथि आक्रमण हुनुमा इरानको हात हुनसक्ने पश्चिमा मुलुकको आशंका रहेको छ ।

रुस्दीमाथि गत शुक्रबार न्युयोर्कमा आयोजित एक कार्यक्रमका बिच छुरा प्रहार भएको थियो भने सो आक्रमणका कारण रुस्दीले एउटा आँखा गुमाउन सक्ने प्रबल सम्भावना रहेको बताइएको छ । उनका आक्रमणकारी २४ वर्षीय हादी मतर हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *