अर्घाखाँचीमा टोपबहादुर एमालेबाट निर्विकल्प, कांग्रेसका गुटैपिच्छेका उम्मेदवार – Nepal Press

अर्घाखाँचीमा टोपबहादुर एमालेबाट निर्विकल्प, कांग्रेसका गुटैपिच्छेका उम्मेदवार

रुपन्देही । एउटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट संघीय सांसदका लागि नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी आफ्नो पार्टीबाट निर्विकल्पजस्तै भएर चुनावी मैदानमा लागेका छन् । यता गठबन्धन दलमा आ-आफ्नो दाबीका कारण उनीविरुद्ध मैदानमा को आउला भन्ने लक्षण देखिसकेको छैन ।

गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसमा आकांक्षी धेरै हुँदा उनीहरूबीचको अन्तर्घातको जरो समातेर रायमाझीले चुनावी बाजी मारिरहेका छन् ।

२०६४, २०७० र २०७४ सालमा माओवादीबाट चुनाव जितेका रायमाझी मंसिर ४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने अहिलेसम्म पक्कापक्की नै छ । ३ पटक लगातार जितेर ‘ह्याट्रिक’ गरी १५ वर्ष एकछत्र सांसद बनेका उनी चुनावी खेलाडीको रूपमा परिचित छन् ।

रायमाझी २०७० मा माओवादीबाट लुम्बिनीमा चुनाव जित्ने एक्ला व्यक्ति थिए । नेता प्रचण्डले मतगणना बहिष्कार गरी काठमाडौं बोलाउँदासमेत जनमत स्वीकार गर्ने बताएर उनी चर्चामा आए ।

पटक-पटक मन्त्री भएर विकासे नेताको छवी बनाएका रायमाझी जनताको सुखदु:खका सारथी बनेकै कारण गठबन्धनलाई भारी पर्ने उनका समर्थकको दाबी छ ।

कांग्रेसबाट यसअघि रायमाझीसँग पराजित महाधिवेशन प्रतिनिधि डा. रामबहादुर बिसी, केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल, पार्टीको प्रदेशका सहमहामन्त्री विष्णु मुस्कान, पूर्वराज्यमन्त्री रेवती भुसाल, महाधिवेशन प्रतिनिधि लेखनाथ पोखरेल, मुक्ति श्रेष्ठ, जिल्ला सभापति पराजित इन्द्रमणि पौडेलले टिकटका लागि लबिङ थालेका छन् ।

पुष्पा भुसाललाई प्रदेशमा ल्याएर मुख्यमन्त्री बनाउनेगरी कांग्रेस नेताहरूले छलफल चलाएका छन् । भुसालबाहेक सबै संस्थापनइतर समूहका हुन् । यहाँबाट संस्थापन समूहका नेता मानबहादुर विक रहेपनि उनी अहिले प्रत्यक्षमा नलड्ने जनाउ दिइसकेका छन् ।

गठबन्धन दलमा यहाँबाट संघमा कांग्रेस र माओवादीको दाबी छ । माओवादीबाट नेता डिलाराम आचार्य आकांक्षीको रूपमा छन् । प्रचण्डसँग नजिक भएकाले भागबण्डामा माओवादीले पाउँदा आचार्यले नै टिकट पाउने छन् । तर, सांगठनिक आधार कांग्रेसको भन्दा कमजोर भएकाले कांग्रेसकै भागमा पर्ने संभावना बलियो छ ।

गठबन्धनका नेताहरूका अनुसार प्रदेशको १ नं क्षेत्र माओवादी वा जनमोर्चा र २ नं क्षेत्र कांग्रेसलाई बाँड्ने गरी छलफल भइरहेको छ । कांग्रेसबाट प्रदेशमा सूर्य अधिकारी, कमल भुसाल, जयबहादुर टण्डन लड्ने तयारी गरेका छन् भने माओवादी कोटामा संघ नपरे डिलाराम आचार्यलाई प्रदेशमा लडाएर मुख्यमन्त्री बनाउने गरी छलफल चलेको छ ।

नेकपा एसबाट नेता रामबहादुर चौहानले प्रदेश सांसदमा दाबी गरेका छन् । जनमोर्चाले सागर केसी, शेरबहादुर बिसीको नाम अघि सारेको छ । यद्यपि उनीहरूले गठबन्धनमा भाग पाउने निश्चित छैन ।

२०७४ को संसदीय चुनावमा रायमाझी १८ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए । उनले ५० हजार ३८५ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका रामबहादुर बिसीले ३१ हजार ९४१ मत ल्याएका थिए ।

२०७४ अघि जिल्लामा २ निर्वाचन क्षेत्र थिए । २०६४ सालमा जिल्लाको १ नम्बर क्षेत्रबाट रायमाझीले कांग्रेसका मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए, २ नम्बर क्षेत्रमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी थिइन् । २०७० सालमा रायमाझीले कांग्रेसका रामबहादुर बिसीलाई पराजित गरेका थिए, २ नम्बर क्षेत्रबाट एमालेका डा. दुमन थापा निर्वाचित भए । डा. थापाको निधन भइसकेको छ ।

आउँदो निर्वाचनमा पनि बिसी टिकटको लाइनमा छन् । कांग्रेसको एउटा समूहले महिला नेत्री पुष्पालाई प्रदेशसभामा उठाएर लुम्बिनीको भावी मुख्यमन्त्रीको रूपमा अगाडि सानुपर्ने छलफल पनि अगाडि बढाएको छ । तर, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ भुसाल प्रदेशसभा झर्ने सम्भावना नभएको दाबी गर्दछन् ।

एमालेले भने रायमाझीसँगै जिल्लाका ७० प्रतिशत माओवादी एमालेमा समाहित भएको दाबी गर्दै आएको छ । गत निर्वाचनमा प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (१) बाट एमालेका चेतनारायण आचार्य र (२) बाट पनि एमालेकै रामजीप्रसाद घिमिरे निर्वाचित भएका थिए ।

एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले स्थानीय निर्वाचनको आधारमा नै संघ र प्रदेशको निर्वाचनमा जित्ने गरी पार्टी निर्वाचनमा जुटिसकेको बताए । भुसालले भने, ‘बलियो संगठन, व्यवस्थित पार्टी परिचालन र जनपरिचालन आउँदो निर्वाचनमा पनि एमालेका जितका आधार हुन् ।’

अर्घाखाँचीमा नेकपा एकीकृत समाजवादी र जसपाको प्रभाव कम छ । स्थानीय निर्वाचनमा नेकपा एसले एउटा वडा पनि जित्न सकेन ।

भर्खरै सकिएको स्थानीय चुनावमा अर्घाखाँचीमा एमाले पहिलो शक्ति देखिएको छ । ६ पालिका रहेको जिल्लामा एमालेका प्रमुख/उपप्रमुख ७ स्थान जितेको छ । जिल्ला समन्वय समिति एमालेको एकल छ । जिल्लाका कूल ३१७ जनप्रतिनिधिमध्ये एमालेका १६६ विजयी भएका छन् भने ६१ वडामध्ये एमाले एकल चुनाव लडेर ३० वडामा जित निकालेको छ ।

स्थानीय तहको निर्वाचनअनुसार जिल्लामा सत्ता गठबन्धन तर्फका वडाध्यक्षले पाएको मत भने धेरै छ । सत्ता गठबन्धनका वडाध्यक्षले ५३ हजार ७७२ मत ल्याउँदा एमालेले ४८ हजार २८० मत पाएको छ । तर जिल्लामा रहेका ६ पालिकामध्ये ४ वटा पालिकाको प्रमुख भने एमालेले जितेको छ ।

कांग्रेस अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि तथा प्रतिनिधिसभातर्फ आकांक्षी लेखनाथ पोखरेल जिल्लाले अब नयाँ अनुहार खोजेको दाबी गर्छन् । ‘टोपबहादुरजीले जितेर जिल्लामा के गर्नुभयो भन्ने प्रश्न उठेकाले पनि अब मतदाताले विकल्प खोजेको प्रष्ट हुन्छ’, उनी भन्छन् ।

मंसिर ४ मा गठबन्धनको जित बलियो रहेको दाबी गर्दै पोखरेलले भने, ‘स्थानीय निर्वाचनमा केही प्राविधिक त्रुटिले हारिएको हो । हामीले उम्मेदवार छनोटमा पनि केही कमजोरी गरेका थियौं । अबको निर्वाचनमा त्यस्तो हुँदैन।’

नेकपाको विघटनपछि एमालेमै बसेर सांसद पद गुमाएका रायमाझीले बढी समय जिल्लालाई दिएका छन् । यो कारण पनि रायमाझीले नै चुनाव जित्नेमा एमाले नेता-कार्यकर्ता ढुक्क छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर