मंगलबार सकिँदै पाँचौं शताब्दीको नीलबाराही नाच – Nepal Press

मंगलबार सकिँदै पाँचौं शताब्दीको नीलबाराही नाच

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ८ स्थित बोडेमा करिब एक हजार पाँचसय वर्ष पुरानो नीलबाराही नाच शनिबार रातिदेखि सुरु भएको छ । नाच गाईजात्राको दुई दिनपछि निस्किन्छ । जसअनुसार मंगलबार यस वर्षको अन्तिम नाच प्रदर्शन हुनेछ ।

बोडेस्थित द्योछेंबाट सुरु भएको नाच प्रत्येक दिन मध्यरातमै निकालिन्छ । द्योछेंबाट निस्केका देवगणले लायकुटोल, लाछीटोल, लायकु, विष्णुघाट, महालक्ष्मीस्थान र भाँगुटोल हुँदै खाँसी टोलमा नाच प्रदर्शन गर्छन् । खाँसी टोलस्थित नीलबाराही मन्दिर अगाडि नाच प्रदर्शनपछि देवगण पुनः खाँसीटोलबाट लाछीटोल हुँदै द्योछें फर्कन्छन् ।

दैनिक १२ देखि १८ घन्टा निरन्तर नाच

‘नाच सुरु भएपछि दैनिक १२ देखि १८ घन्टा निरन्तर प्रदर्शन गर्नुपर्छ’, मध्यपुर थिमि नपा- ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले भने, ‘अन्तिम दिन त कम्तीमा २४ घन्टा अथक भई नाच्नुपर्छ ।’

उनका अनुसार द्योछेंबाट नाच निस्केपछि पुनः द्योछें नफर्केसम्म देवगणले बस्नसम्म पाइँदैन । त्यस्तै नाच सुरु भएपछि देवता बन्नेहरुले बोल्न र खान तथा कसैलाई छुन पनि नहुने नाचको प्रचलन रहेको छ ।

‘नाच सुरु भएपछि देवता बन्नेले गा¥हो भयो र थाक्यो भनेर बस्नसमेत पाइँदैन’, उनले थपे, ‘उभिएर कतै अडेस लाउन भने पाइन्छ । त्यस्तै आफ्नो सहयोगीको काखमा पनि बस्न सकिन्छ । त्यसैले प्रत्येक नाचका गणलाई एकएकजना ज्वकालु (सहयोगी) व्यवस्था हुँदै आएको छ ।’

ज्वकालुले देवता बन्नेको इसारा बुझेर उनले भनेका सबै काम पूरा गरिदिनुपर्ने स्थानीय सजीव श्रेष्ठ बताउँछन् ।

उनका अनुसार ज्वकालुले देवताले भनेका काम गर्न सघाउँछन् । त्यस्तै उनको मुकुन्डो समाउने, जात्रालुलाई नमस्कार गर्न लगाउनेलगायतका काम पनि ज्वकालुले नै गर्छन् ।

नाचमा ८९ जना सहभागी हुन्छन्

तीन दिन र चार रातसम्म चल्ने नीलबाराही नाच उपत्यकाकै सबैभन्दा बढी जनशक्ति सहभागी हुने नाच हो । यस नाचमा कूल ८९ जना प्रत्यक्ष सहभागी हुन्छन् । जसअनुसार नाचमा नीलबाराही, गणेश, नरसिंह र कुमारी चारचार, भैरव, द्वारपाल र क्षत्रपाल एकएक गरी देवगणमात्रै १९ जना सहभागी हुन्छन् ।

त्यस्तै १९ जना देवगणलाई नाचमा सहयोग गर्न ६ जना गुरुहरु, प्रतिगण एकजना सहयोगी (ज्वकालु) गरी थप १९ जना परिचालन हुने स्थानीय संस्कृतिकर्मी सजीव श्रेष्ठ बताउँछन् ।

यसैगरी वाद्यवादनहरु बजाउने नौजना, प्वंगा (तामाबाट बनाइएको लामो फुक्ने बाजा) बजाउने १३ जना, तः बजाउने एकजना, भुस्याय् र झ्याली बजाउने चारजना पनि नाचमा प्रत्यक्ष संलग्न हुन्छन् ।

नाचमा सुकुन्दा समाउने दुईजना, संधाय् (करिब २२ फुट लामो झण्डा फहराइएको बाँस आकारको काठ) समाउने एकजना, राजदण्ड समाउने एकजना, भैरवको मूर्ति र खड्ग समाउने एकजना, चिराग बत्ती समाउने एकजना, चिराग तथा सुकुन्दा बाल्न तेल ल्याउने र लैजाने चारजना, नाच संयोजक र उनकी जहान गरी ६ जना तथा सहनाई फुक्ने दुई गरी ८९ जनाको अनुशासित टोलीले नाच सम्पन्न गरिने उनले बताए ।

भाद्र शुक्ल प्रतिपदाका दिन काठमाडौं उपत्यकामा मनाइने गाईजात्राको दुई दिनपछि भाद्र शुक्ल द्वितीयादेखि तीन दिन र चार रातसम्म यो नाच नचाइन्छ ।

इतिहासविद् तथा संस्कृतिविद्हरुका अनुसार नाच पाँचौं शताब्दीदेखि सुरु भएको मानिन्छ । बोडेको टिगनीमा रहेको नीलबाराहीले नै परापूर्व कालमा बोडेका नेवार (घों थरका) लाई उक्त नाच चार दिनसम्म सिकाएर पठाएको जनविश्वास छ । जुन नाच हालसम्म चल्दै आएको छ ।
नीलबाराही देवीले नै सिकाएर पठाएका हुनाले उक्त नाचका नियमहरु कडा र नाच्ने नीलबाराही गणका सदस्यहरुलाई पालना गर्न कठिन रहेको बताइन्छ ।

नाच्न गाह्राे हुने भएकैले भाद्र शुक्ल द्वितीयामा नाच निकाल्नुअघि साउन कृष्ण द्वितीयादेखि पूर्णिमासम्म नाच सिकाइने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *