प्रचण्डले छोड्न नसकेको चितवनमा के छ चुनावी अकंगणित ? – Nepal Press
संसदीय चुनाव-२०७९

प्रचण्डले छोड्न नसकेको चितवनमा के छ चुनावी अकंगणित ?

चितवन । हरेक पटकमा निर्वाचन क्षेत्र फेर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक भने चितवन ३ बाटै दोस्रोपटक चुनाव लड्दैछन् । २०६४ मा रोल्पा र काठमाडौं, २०७० मा काठमाडौं र सिरहा तथा २०७४ मा चितवनबाट प्रचण्डले चुनाव लडेका थिए । यसपटक निर्वाचन क्षेत्र फेर्न पार्टीभित्र सुझाव आए पनि आफू चितवन ३ बाटै उम्मेदवार बन्ने घोषणा उनले गरेका छन् । प्रचण्डले चितवन ३ बाटै चुनाव लड्न चाहनुका खास कारणहरु छन् ।

चितवन किन नछाड्ने भए ?

चितवन ३ मा पाँचदलीय गठनबन्धन सुरक्षित देखिन्छ । दुवै स्थानीय चुनावमा कांग्रेससँग तालमेल गरेर छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाएका प्रचण्डले अघिल्लो संसदीय निर्वाचनमा भने नेकपा एमालेसँग तालमेल गरेका थिए । महानगर प्रमुख रेणु भएको राजनीतिक लाभ प्रचण्डलाई हुने नै छ । अर्कोतिर कांग्रेस र एमाले दुवैसँग चुनावी तालमेल गरेको अनुभव भएका कारण सो क्षेत्रको ‘भोट बैंक’ र ‘भोट होल्डर’ बारे प्रचण्ड पर्याप्त जानकार छन् ।

बारम्बार निर्वाचन क्षेत्र फेर्दा पार्टीले सांगठनिक रुपमा व्यहोर्नुपरेको असहजताको अन्त्य होस् भन्ने पनि प्रचण्डको चाहना छ । ‘प्रचण्ड कमरेड नेपालको जुनसुकै क्षेत्रबाट लड्न तयार हुनुहुन्छ । तर, गृहजिल्ला भएको र शीर्ष नेताहरुले निश्चित क्षेत्रलाई प्राथमिकता दिने संसदीय परम्परा पनि स्थापित भइसकेकाले उहाँ चितवन ३ बाटै चुनाव लड्नुहुन्छ’, प्रचण्ड निकट एक माओवादी नेताले भने ।

चितवन ३ को लेखाजोखा

गत संसदीय निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्ड ९ हजार ३५१ मतान्तरले निर्वाचित भएका थिए । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा नेपाली कांग्रेसको समर्थन पाएका राप्रपा उम्मेदवार विक्रम पाण्डेले ३८ हजार ९२५ मत ल्याएका थिए । यसपटक कांग्रेस, नेकपा एस र जसपाको समर्थन प्रचण्डलाई हुनेछ भने एमाले र राप्रपाबीच तालमेल हुनसक्ने सम्भावना देखिन्छ ।

गत स्थानीय तह निर्वाचनलाई आधार मान्दा चितवन ३ मा गठबन्धन बलियो देखिन्छ । सो क्षेत्रका वडा अध्यक्षमा पदमा दलहरुले प्राप्त गरेको मतका आधारमा एमाले पहिलो पार्टी भए पनि तालमेलका कारण सत्ता गठबन्धनले अग्रता लिने देखिन्छ । स्थानीय निर्वाचनको परिणाममा सो क्षेत्रमा एमालेको २९ हजार ७७१ मत छ । नेपाली कांग्रेसको २९ हजार ३४३ मत रहेको छ । माओवादीसँग १० हजार ९४० मत छ भने राप्रपाको मत ६ हजार १९८ छ । सो क्षेत्रमा नेकपा एसको ५ हजार ३७ मत रहेको तथ्यांक छ ।

स्थानीय निर्वाचनमा एमाले र राप्रपाले भरतपुर महानगरपालिकामा तालमेल गरेका थिए । संसदीय निर्वाचनमा पनि तालमेल निरन्तर भयो भने चितवन ३ मा एमाले-राप्रपाको संयुक्त मत ३५ हजार ९६९ हुनेछ । जबकि सत्ता गठबन्धनसँग ४५ हजार ३३० मत छ । यो तथ्यांकका आधारमा राष्ट्रिय चासोको क्षेत्र बनेको चितवन ३ प्रचण्डका लागि तुलनात्मक रुपमा सुरक्षित देखिन्छ ।

समस्यामा सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर १ बाट लगातार निर्वाचित हुँदै आएका छन् । गत निर्वाचनमा पाण्डेले कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १५ हजार ७२० मतको फराकिलो अन्तरले पराजित गरेका थिए । यसपटक भने परिस्थिति बदलिएको छ । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको निर्णय भइसकेका कारण गत स्थानीय तहको मतका आधारमा एमाले केही पछि पर्ने देखिन्छ । स्थानीय चुनावमा वडा अध्यक्षहरुले पाएको मतका आधारमा एमालेसँग ३९ हजार ६६ मत रहेको छ ।

यद्यपि २६ हजार ७८३ मत रहेको कांग्रेस, ५ हजार ५०८ मत रहेको माओवादी र ४ हजार ५ मत रहेको नेकपा एसबीच तालमेल हुँदा पाण्डेको बाधा बढ्ने देखिन्छ । एमाले र राप्रपाबीच सो क्षेत्रमा तालमेल भएमा भने प्रतिस्पर्धा कडा हुने देखिन्छ । सत्ता गठबन्धनसँग ४६ हजार २९६ मत हुँदा एमाले र राप्रपाको संयुक्त मत ४४ हजार १९६ रहेको छ ।

चितवन २ मा सुदृढ एमाले

गत स्थानीय तहको परिणामलाई आधार मान्दा चितवनका ३ क्षेत्रमध्ये सत्ता गठबन्धन तुलनात्मक रुपमा कमजोर रहेको क्षेत्र हो चितवन २ । जहाँ स्थानीय चुनावमा कांग्रेस, माअ‍ोवादी र नेकपा एसका वडा अध्यक्षहरुले ल्याएको संयुक्त मतभन्दा एमाले एक्लैले ल्याएको मत बढी छ । एमालेसँग ३५ हजार ५४३ मत हुँदा सत्ता गठबन्धनको मत ३५ हजार ४७४ मात्रै रहेको छ ।

एमाले र राप्रपाबीच तालमेल हुनसके सो क्षेत्रमा राप्रपासँग रहेको २ हजार ११३ मतले एमालेलाई थप सुदृढ बनाउनसक्छ । अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेल १७ हजार ३१४ मतान्तरले विजयी भएका थिए । माओवादीलाई चितवन ३ छाड्दा सो क्षेत्रमा कांग्रेसको उम्मेदवार रहने सम्भावना बढी छ । कांग्रेसबाट जिल्ला सभापति राजेश्वर खनाल, पूर्वसभापति जीतनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेशमन्त्री मिलनबाबु श्रेष्ठ, पूर्वजिल्ला सचिव उत्तमबाबु जोशी उम्मेदवार बन्ने प्रयत्नमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर