झापाको हिसाब- गठबन्धनभन्दा एमाले माथि, निर्णायक मत बोकेर राप्रपा खोज्दैछ साथी – Nepal Press
आम चुनाव-२०७९

झापाको हिसाब- गठबन्धनभन्दा एमाले माथि, निर्णायक मत बोकेर राप्रपा खोज्दैछ साथी

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनको मानक मानिने झापा विद्रोहको लिगेसी बोक्ने झापा जिल्लामा बहुदलयताका अधिकांश निर्वाचनमा नेकपा एमाले हाबी छ ।

बहुदलपछि भएको पहिलो २०४८ को आमनिर्वाचनमा देशभर नेपाली कांग्रेसले सुविधाजनक बहुमत हासिल गर्दा झापासहित मेची अञ्चलका सबै जिल्लामा एमालेले जितेको थियो । त्यो निर्वाचनपछि झापालाई एमालेको ‘लालकिल्ला’ भनेर प्रचारित गरियो ।

त्यसको दुई वर्षपछि तत्कालीन झापा १ मा भएको उपनिर्वाचनमा कांग्रेसले जीतको स्वाद चाख्न पाएको थियो । तत्कालीन सांसद द्रोणाचार्य क्षेत्रीको निधनपछि २०५० सालमा भए उपनिर्वाचन भएको थियो । जसमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार भएर जीत निकाल्न सफल भएका थिए ।

त्यसबेला कांग्रेस कार्यकर्ताले ‘मेची-काली जोडियो, लालकिल्ला तोडियो’ भन्ने नारा गुञ्जाएका थिए । त्यसयताका निर्वाचनमा कांग्रेसले झापामा केही सुधार गर्दै लगेपनि एमालेको ओज भने घटाउन सकेको छैन ।

२०५१ को मध्यावधि निर्वाचनमा सिटौला हार्दा चक्रप्रसाद बाँस्तोलाले झापा-४ मा जित निकालेका थिए । २०५६ को निर्वाचनमा एमाले विभाजनको फाइदा उठाउँदै ६ मध्ये ३ मा कांग्रेस जित्यो । जसमा सिटौला, बाँस्तोला र नरेन्द्र नेम्वाङले निर्वाचन जितेका थिए । बाँकी तीनमा एमाले विभाजनका बाबजुत पनि हारेन ।

पहिलो संविधानसभा निर्वाचन २०६४ मा भने तत्कालीन नेकपा माओवादीले ७ निर्वाचन क्षेत्रमध्ये पाँचमा कब्जा जमायो । कांग्रेस र एमाले १/१ मा खुम्चिएका थिए ।

दोस्रो संविधानसभा निर्वाचन २०७० यता भने एमालेले आफ्नो गुमेको बर्चस्व फर्काउँदै ल्याएको छ । उतिबेला ७ निर्वाचन क्षेत्रमध्ये एमालेले ४ र कांग्रेसले ३ सीट जितेको थियो ।

२०७४ मा झापामा ५ निर्वाचन क्षेत्र कायम हुँदा एमालेले १ क्षेत्र माओवादी केन्द्र र १ क्षेत्रमा राप्रपालाई छाड्दै बाँकी ३ क्षेत्र आफैँले लियो । जहाँ सबै सीटमा एमालेको मोर्चाले जित्यो ।

झापाको निर्वाचनमा एमाले यसरी हाबी भएको इतिहास वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले पनि कायम राखेको छ । अहिले पनि झापामा गठबन्धनलाई धेरै स्थानीय तहमा पराजित गर्दै एमाले नै पहिलो शक्ति बनेको छ ।

शक्तिका आधारमा एमाले पहिलो दल त बनेको छ, तर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा भने त्यो कायम रहने/नरहने भन्ने प्रश्न उत्तिकै छ ।

एक्लाएक्लैमा एमाले हाबी देखिँदा कांग्रेसको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धन हुँदा पनि एमालेलाई झापामा ठूलै क्षति पुग्ने देखिँदैन ।

यति हुँदा पनि एमालेले झापामा अस्तित्वको लडाइँ लड्न गाह्रै त देखिँदैन ।

तर, एमाले र सत्तारूढ गठबन्धन आमने-सामने हुँदा पूर्वपञ्चहरूको पार्टी राप्रपा निर्णायक अवस्थामा पुगेको छ ।

यसले देशैभर एउटा पनि निर्वाचन क्षेत्र एक्लै जित्न धौधौ पर्ने राप्रपालाई झापामा कसै न कसैले अंगाल्नुपर्ने बाध्यता देखिन्छ । त्यसो गर्दा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले यसपटक पनि लाभ उठाउनसक्ने समीकरण बनेको छ ।

अन्य जिल्लाभन्दा फरक झापाका अधिकांश निर्वाचन क्षेत्रमा राप्रपा निर्णायक मतसहित उपस्थित छ । गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएर राप्रपा आफ्नै शक्तिसहित लड्दा झापाका प्रायः सबै सीटमा एमाले आउन सक्छ तर राप्रपा अध्यक्ष लिङ्देन जित्नैपर्ने बाध्यता छ ।

राप्रपाले यसपटक समानुपातिकमा थ्रेसहोल्ड कटाउन सक्छ, तर त्यसका लागि प्रत्यक्षमा कम्तीमा एक सिट जित्नुपर्छ । राप्रपामा प्रत्यक्ष चुनाव जित्न सक्ने पहिलो नम्बरमा अध्यक्ष लिङ्देन नै छन् । त्यसैले उनले कि त एमाले वा गठबन्धनसँग तालमेल गर्नुपर्ने हुन्छ ।

लिङ्देनले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे पनि कुनै सहमति भएको छैन । तर, झापाको चुनावी गणितले एमाले र राप्रपा मिल्दा दुवैलाई फाइदा हुने देखिन्छ । राप्रपाले एक सीट सुनिश्चित गर्छ भने एमालेले झापाका बाँकी ४ सिट जित्ने सुनिश्चित हुन्छ ।

कुन क्षेत्रमा कस्तो समीकरण ?

झापा-१

यो क्षेत्रमा २०७४ को निर्वाचनमा कांग्रेस महामन्त्री शर्मा र माओवादी केन्द्रका राम कार्की भिड्दा कार्कीले बाजी मारेका थिए । दुवैबीचको अन्तर जम्मा २ हजार ८६३ मत थियो ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनले यहाँ वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले सबैभन्दा अगाडि देखिएको छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले ३१ हजार २३२ मत ल्याउँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २४ हजार ५९ पाएका छन् । यस्तै गठबन्धनकै अन्य दलहरू माओवादी ३ हजार ९०५ र नेकपा एसले १ हजार २५२ मत पाएका छन् । गठबन्धनका दलको जोडफल २९ हजार २१६ मात्रै हुन्छ ।

एमालेलाई जित्न सत्तारूढ गठबन्धनले राप्रपाको साथ लिनुपर्छ । यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ९२२ मत बटुलेका छन् । यदि राप्रपाले एमालेलाई साथ दियो भने यहाँ एमालेको जित अझ सुनिश्चित हुन्छ ।

झापा-२

यहाँ २०७४ को निर्वाचनमा एमालेकी पवित्रा निरौला खरेल जितेकी थिइन् । उनले ४५ हजार ८१७ मत प्राप्त गरेकी थिइन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उद्धव थापाले ३२ हजार ५० पाएका थिए ।

स्थानीय तहको नतिजाअनुसार यहाँ पनि राप्रपा नै निर्णायक देखिएको छ । एमाले र सत्तारूढ गठबन्धनको ब्याटल हुँदा एमाले हाबी देखिन्छ । एमाले वडाध्यक्षका उम्मेदवारहरूले ३६ हजार ३९६ मत बटुल्दा कांग्रेसका उम्मेदवारहरूले ३२ हजार ६७२, माओवादी केन्द्रका उम्मेदवारहरूले २ हजार ४३७, जसपाका उम्मेदवारहरूले ५०६ र नेकपा एसका उम्मेदवारहरूले १७३ मत बटुलेका छन् ।

सत्तारूढ गठबन्धनका उम्मेदवारहरूको योगफल ३५ हजार ७८८ हुन आउछ । जुन एमालेका उम्मेदवारभन्दा ६०८ मत कम हो । यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले ९ हजार ५३१ मत पाएका छन् । यसकारण यो मत जता जान्छ उतैको ब्याटल हाबी हुने देखिन्छ ।

झापा ३

२०७४ मा लिङदेनले सिटौलालाई हराएको क्षेत्र यही हो । अहिलेको स्थानीय तह निर्वाचनले यहाँ एक्लाएक्लैमा कांग्रेस बलियो देखिएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २५ हजार ९४९ मत बटुल्दा दोस्रोमा राप्रपा छ । जसका वडाध्यक्षका उम्मेदवारहरूले २१ हजार १५९ मत पाएका छन् । यस्तै तेस्रोमा एमालेको २१ हजार ८५मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौमा जसपाको ५३७ मत, छैठौंमा लोसपाको २०८ मत र नेकपा एसको १२ मत छ ।

एक्लाएक्लै लड्दा यसपटक यो क्षेत्रमा लिङदेनमाथि सिटौला हाबी हुने देखिन्छन् । झन् गठबन्धनको साथ हुँदा उनी जीतकै नजिक हुन्छन् । तर, जोखिम त्यो बेला हुन्छ, जब एमालेले लिङ्देनलाई सघाउँछ । एमाले र राप्रपाको मत जोड्दा यहाँ ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मतमात्रै हुन्छ । यसकारण सिटौला फेरी जोखिममा पर्छन् ।

झापा-४

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट एमालेका लालप्रसाद साँवा लिम्बू ४३ हजार ५१५ मतसहित विजयी भएका थिए । कांग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत पाएका थिए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतअनुसार यहाँ पनि राप्रपा नै निर्णायक देखिएको छ । यहाँ एमालेका उम्मेदवारहरूले ३१ हजार २७२ मत, कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २८ हजार १६५ मत, माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ३८२ मत, राप्रपाका उम्मेदवारले ४ हजार ५५६ मत, नेकपा एसका उम्मेदवारले ७०२ मत, लोसपाका उम्मेदवारले २४८ मत र जसपाका उम्मेदवारले ११० मत पाएका छन् ।

यो आँकडाअनुसार राप्रपा एमाले वा गठबन्धन जता मिल्छ उतैको समीकरण हाबी हुने निश्चित छ ।

झापा-५

यो एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । स्थानीय तहको निर्वाचनको नतिजा अनुसार यहाँपनि राप्रपा नै निर्णायक देखिएको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्र र राप्रपाको समेत समर्थन पाएर अध्यक्ष ओली ५७ हजार १३९ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत मात्रै पाएका थिए ।

यसपटकको समीकरण अनुसार एमाले एक्लैको ४१ हजार ६१९ मत छ । यस्तै सत्तारूढ गठबन्धनका कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७८८ र नेकपा एसको १ हजार ९८८ मत छ । यसरी सत्तारूढ गठबन्धनका दलहरूको योगफल ३४ हजार ७९८ मत हुन्छ ।

जुन एमालेभन्दा ६ हजार ८२१ मत कम हो । यहाँ राप्रपाको ८ हजार ३५३ मत छ । जुन सत्ताहरूढ गठबन्धनमै मिसिन पुगे अध्यक्ष ओलीलाई पनि चुनौति हुन्छ । स्थानीय चुनावमा ओलीको गृहनगर दकममा सत्ता गठबन्धनले राप्रपालाई समर्थन गरेका थिए ।

राप्रपालाई तालमेल जरुरी

२०७४ सालको निर्वाचनमा राप्रपाले देशभरिमा एउटा मात्रै सीट जितेको क्षेत्र झापा-३ हो । त्यो पनि जिल्लाभर बामगठबन्धनलाई सघाएको बलमा सिटौलाविरुद्ध लिङदेन जितेका थिए ।

‘थ्रेसहोल्ड’को मापदण्डअनुसार समानुपातिकतर्फ ३ प्रतिशत मत नपुग्दा राप्रपा राष्ट्रिय पार्टी हुनबाट बञ्चित भयो ।

यसपटक राप्रपाका लागि देशभरीको परिस्थिती फेरिएको छ । समानुपातिकतर्फ उसले ३ प्रतिशत मत कटाउने सम्भावना बढेको छ । त्यो पनि लिङदेनकै लोकप्रियताको बलमा । उनी अहिले राप्रपाको निर्वाचित अध्यक्ष समेत छन् । स्थानीय तह निर्वाचनमा उनको दलबाट उठेका वडाध्यक्षका उम्मेदवारहरूले ३.१६ प्रतिशत मत बटुलेका छन् ।

देशभर सदर भएको १ करोड १५ लाख ४० हजार ३८ मतमध्ये ३ लाख ६४ हजार १६० मत राप्रपाका वडाध्यक्षका उम्मेदवारले बटुलेका छन् । यसकारण उसले समानुपातिकबाट ३ प्रतिशत मत कटाउने सम्भावना छ । तर, उसका लागि महत्वपूर्ण चुनौती प्रत्यक्षमा कम्तीमा एक सीट हासिल गर्नु हुनेछ । एक सीट मात्रै नजित्ने हो भने, उसले तीन प्रतिशत मत कटाउँदा नि राष्ट्रिय दलको मान्यताबाट बञ्चित हुन्छ ।

राप्रपाले प्रत्यक्षमा एक सीट जित्नसक्ने सम्भावना भएको क्षेत्र भनेकै फेरि पनि झापा-३ नै हो । स्थानीय तहको गणित, व्यक्तिगत लोकप्रियता, पार्टीको अध्यक्ष सबै दृष्टिकोणबाट लिङ्देन सम्भाव्य जित्ने पात्र हुन । तर, समीकरणले भने उनलाई यसपटक पनि गठबन्धनकै बैसाखी भने अनिवार्य देखाएको छ । उनले या एमालेसँग गठबन्धन गर्नुपर्छ, या सत्तारुढ गठबन्धनसँगै गर्नुपर्छ । राप्रपा एक्लै लड्दा लिङ्देनको जित अनिश्चित छ ।

तर, राप्रपा र लिङ्देनका लागि झापाको ‘निर्णायक’ अंकगणितले भने काम गर्ने देखिएको छ । एमाले वा सत्तारूढ गठबन्धन जसले पनि उनलाई झापा-३ छाड्दा बाँकी सीटमा राप्रपाको सहयोग पाउने अवस्था छ । जुन सहयोग जितका लागि पर्याप्त देखिन्छ । यही कारण उनी तानातानमा पर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर