उजाडिएको वामपन्थको बनेपा प्रहसन ! – Nepal Press

उजाडिएको वामपन्थको बनेपा प्रहसन !

नेपालमा वामपन्थीहरु जतिसुकै फुट र विभाजनबाट टुक्राटुक्रा भए पनि कांग्रेसलाई तह लगाएर एकलौटी शासन गर्ने सपना त्यागेका छैनन् । यथार्थमा चाहिं आफ्नै सरकार भत्काएर आधा संख्याका वामपन्थीहरु कांग्रेसको नीति र नेतृत्वमा सरकारमा छन् । थरिथरि लालसाका कारण सम्पूर्ण वामपन्थीहरु एकजुट हुनुपर्ने बहस बेलाबखत आइरहन्छ । वामपन्थको बहस गर्ने अग्रपंक्तिमा घनश्याम भुसाल रहेका छन् । एमाले नेता घनश्याम भुसालसहितका केही नेताले वाम एकताको मुद्दालाई पुनः एक पटक बहसमा ल्याएका छन् । भुसालको पछिपछि माओवादीका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र एकीकृत समाजवादीका झलनाथ खनाल पनि देखिएका छन् ।

नेपालमा वामपन्थको अवस्थाको बारेमा २०७९ साउन १५ र १६ गते बनेपामा विरक्तलाग्दो बहस भयो । जसले बहस गर्नुपर्ने हो, अर्थात् नेतृत्वको बीचमा वामपन्थको बहस नभएको वर्षाैं भइसक्यो । जसले बहस गरेर निर्णायक प्रभाव पर्दैन, त्यहाँ विरक्तलाग्दो बहस हुन छोडेको छैन । दुई जना सम्धीहरु गफ गर्दा जस्तो परिणाम आउँछ, बनेपा बहसबाट पनि त्योभन्दा भिन्नै परिणाम आएको देखिँदैन । त्यहाँ भएको बहसलाई सम्धी गफ भन्दा कुनै फरक पर्दैन । बनेपाको सम्धी गफमा घनश्याम भुसाल, पिताम्बर शर्मा, मणि थापा, राम कार्की, लेखनाथ न्यौपाने, खगेन्द्र संग्रौला, अरुण बराल, उमेश चौहानलगायतले भाग लिएका थिए ।

बेलाबखत नयाँ-नयाँ कुरा गरिरहने हुनाले घनश्याम भुसाल धेरैलाई मन पर्ने नेता हुन् । विचार, सिद्धान्त, नीति र कार्यक्रम छोड्दै गएको र नवधनाढ्यहरुले कब्जा गरिसकेको एमाले पार्टीलाई थोरै भए पनि विचारको रङ्गरोगन गर्ने काम कसैले गरेको छ भने घनश्याम भुसालले गरेका छन् । धुरीखाँबो बाङ्गिएको, डाँडाभाटासमेत झरिसकेको, प्वालैप्वाल परेको र चर्किएका भित्ताहरुमा रङ्गरोगन गरेको घर कस्तो देखिन्छ भन्ने कुरा सबैलाई थाहै छ । भुसाल निकै खराब अवस्थामा पुगेको घरलाई बारम्बार थरिथरिका रङ्गरोगन गर्ने कुरा गरिरहेका छन् । प्रचण्डको दस्तावेजलाई थाती राखेर देउवाको नेतृत्वमा समाजवादको डुंगा तरिरहेको माओवादीको दैलोलाई पनि बेलाबेलामा राम कार्की र लेखनाथ न्यौपानेले लिपपोत गर्ने गर्दछन् ।

विचार, सिद्धान्त, नीति र कार्यक्रम छोड्दै गएको र नवधनाढ्यहरुले कब्जा गरिसकेको एमाले पार्टीलाई थोरै भए पनि विचारको रङ्गरोगन गर्ने काम कसैले गरेको छ भने घनश्याम भुसालले गरेका छन् ।

एमाले र माओवादीभित्र सांगठनिक रुपमा को कति बलियो छ, कोसँग कति पैसा छ, कसले कति कार्यकर्ता पालनपोषण गरेको छ, दीर्घकालीन राजनीतिमा यी सबै अस्थायी र तपसिलका विषय भए पनि वर्तमान समयमा पैसा र गुट ती पार्टीहरुभित्र प्रधान महत्व राख्ने सत्यता हुन् । ती पार्टीभित्र घनश्याम भुसाल र राम कार्कीको हैसियत जे भए तापनि उनीहरुले बोलेका कुराहरुले देशको वैचारिक राजनीतिमा नयाँ तरङ्ग ल्याउँछन् । अझ यसरी भन्न सकिन्छ कि उनीहरुले वैचारिक तरङ्ग ल्याउनसक्ने तागत राख्छन् । ती वैचारिक बहसको पार्टीभित्रको आयतन कति छ भन्ने कुरा एमालेको सौराहा काण्ड र माओवादीको प्रज्ञा काण्डले देखाइसकेको छ । कार्यक्रमको उपस्थिति र प्रकृति हेर्दा दुवै काण्डका पीडित नेताहरु बनेपामा जम्मा भएको जस्तो देखिन्छ ।

घनश्याम भुसालले २०७९ असार २४ गते कान्तिपुर दैनिकमा ‘वाममोर्चा, एकता र पुनर्गठनको रोडम्याप’ शीर्षकमा लामो लेख लेखेको करिब एक महिनामा काभ्रेको बनेपा पुगेर कान्तिपुरमा लेखेकै विषयहरु दोहोर्‍याएका छन् । एमाले, माओवादी र एकीकृत समाजवादीको नेतृत्वलाई समाजवादको रोडम्याप खोइ भनेर बारम्बार प्रश्न गर्ने भुसालले कम्युनिष्टहरुले सम्हाल्नुपर्ने संयुक्त मोर्चा कांग्रेसले सम्हालेको उल्लेख गर्दै लेखेका छन्- श्रीमान् देउवाले योग्यताका साथ संयुक्त मोर्चाको प्रयोग गरेका छन् र माओका चेलाहरु प्रयोग भएका छन् ।’

यही वाक्यमा उनी नराम्रोसँग चुकेका छन् । वास्तविकता के हो भने भुसाल स्वयं शेरबहादुर देउवाको मोर्चामा सामेल भएर, प्रधानमन्त्री बनाएर मोर्चाबाट भागेका व्यक्ति हुन् । उनी देउवाको मोर्चामा के कारणले सामेल भए र के कारणले पुच्छर लुकाएर भागे ? भुसालले त्यसको जवाफ आजसम्म पनि दिएका छैनन् । शीर्ष नेतृत्वबाट जवाफ खोज्ने व्यक्तिले आफै संलग्न भएर गरेको कामको बारेमा जवाफ नदिनु जाली र बेइमानी हो भन्ने कुरा भुसाल जत्तिको द्वन्द्ववादी र माक्र्सवादी कसैलाई भन्नु नपर्ला ।

अब बनेपामा चर्चा भएको वामपन्थ र वाम एकताको बारेमा चर्चा गरौं । एमाले र माओवादी दुवैले आफूलाई वामपन्थी पार्टी भएको दाबी गर्दै आएका छन् । एमाले र माओवादी मिलेर २०७५ जेठ ३ गते ‘पचास वर्ष शासन गर्ने’ उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो । छ वटा प्रदेशमा एकल सरकार र केन्द्रीय संसदमा झण्डै दुईतिहाइ सीट जितेको पार्टी पुगनपुग साढे तीन वर्षमा चार टुक्रामा चिराचिरा भयो । विभाजन भइसकेपछि भुसालले उल्लेख गरे झैं कम्युनिष्टले कम्युनिष्टलाई ‘धूलो चटाउने’ काम निरन्तर अगाडि बढेको छ । पहिलो धूलो चटाई गत स्थानीय निर्वाचनमा भइसकेको छ भने दोस्रो धूलो चटाई आगामी संसदीय निर्वाचनमा हुनेछ ।

भुसाल स्वयं शेरबहादुर देउवाको मोर्चामा सामेल भएर, प्रधानमन्त्री बनाएर मोर्चाबाट भागेका व्यक्ति हुन् । उनी देउवाको मोर्चामा के कारणले सामेल भए र के कारणले पुच्छर लुकाएर भागे ? भुसालले त्यसको जवाफ आजसम्म पनि दिएका छैनन् ।

पार्टीको नाम कम्युनिष्ट भए पनि सरकार चलाउँदाको बखत नीति, कार्यक्रम, बजेट, शासन सञ्चालनको तरिका, राजनीतिक नियुक्ति आदि सबै कुरामा कांग्रेसभन्दा अग्रगामी, प्रगतिशील र भिन्न देखिएको थिएन, छैन । कम्युनिष्ट पार्टीले एकता गर्नुमात्रै महत्वपूर्ण होइन रहेछ भन्ने कुरा शासन सञ्चालनको व्यवहारबाटै पुष्टि भइसकेको छ । मूल कुरा यो हो कि कम्युनिष्ट पार्टी एकता भइसकेपछि देशलाई के प्राप्त भयो ? जनताले के प्राप्त गरे ? वामपन्थीहरुले सञ्चालन गरेको सरकारबाट जनतामा वामपन्थको गन्ध गयो कि गएन ? त्यस्तो केही देखिएको थिएन । बेरोजगार, महँगी, भ्रष्टाचार, कुशासन, विदेशी हस्तक्षेप आदि पहिल्यैदेखि थिए, कम्युनिष्ट पार्टीको सरकार बन्दा पनि रहे र अहिले पनि उस्तै वा अझै बढी मात्रामा छन् । जनतालाई अनुभूत हुने गरी कुनै कुरा दिन नसक्ने हो भने कम्युनिष्टहरु एकता भए पनि, कम्युनिष्ट र कांग्रेस एकता भए पनि कुनै फरक पर्ने रहेनछ भन्ने देखिएको छ । बनेपाको वामपन्थ बहसले यस विषयमा निष्कर्ष दिन सकेन ।

बनेपामा छलफल भएको कम्युनिष्ट पार्टीका उद्देश्यहरु पुरानै थिए । कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य भनेको सबै प्रकारका शोषण, दमन, अन्याय, अत्याचारहरुलाई हटाउँदै गरिब किसान र मजुदरहरुलाई आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रुपमा सक्षम बनाएर समाजवाद निर्माण गर्नु हो । कार्ल मार्क्स र एंगेल्सको अवधारणाअनुसार कम्युनिष्ट पार्टी वर्ग संघर्ष गर्न बनाइन्छ । एक समय थियो, कम्युनिष्टहरुले वर्ग संघर्षका कुरा गर्दथे, धनी र गरिबहरुबीचको असमानता हटाउनुपर्दछ भन्थे, सामन्त र पूँजीपतिहरुले गर्ने लुटको विरुद्धमा आवाज उठाउँथे । किसानहरुलाई जमिन वितरण गर्ने कुरा गर्दथे । कम्युनिष्टहरुले सरकारको नेतृत्व गरेपछि अब ती एकादेशको कथा भएका छन् ।

नेपालमा कम्युनिष्टको वर्ग संघर्षले उल्टो दिशा लिएको छ । एमाले र माओवादीका नवधनाढ्यहरुले गरिब, किसान र मजदुरका विरुद्ध वर्गसंघर्ष चर्काएका छन् । विगतमा किसानहरुलाई जमिन वितरण गर्ने नारा दिएका कम्युनिष्टहरुले अहिले मल र बीउ पनि नदिएर किसानहरुलाई तड्पाइरहेका छन् । बिचौलिया र व्यापारीहरुसँग मिलेर किसानले उत्पादन गरेका सामग्रीहरु बजार जानबाट रोकिरहेका छन् । मजदुरको रोजगार खोसिएको रमिता हेर्न वा खोस्न उद्यत छन् । एमाले र माओवादीहरुले अहिले गरिरहेको वर्ग संघर्ष सामन्त र पूँजीपतिको विरुद्धमा होइन, गरिब, किसान र मजदुरहरुका विरुद्धमा छ भन्ने कुरा दिउँसोको घामजत्तिकै छर्लङ्ग छ ।

एमाले र माओवादी सम्पूर्ण रुपमा नवधनाढ्यहरुको पार्टी बनिसकेका छन् । अब त्यहाँ गरिब, मजदुर र किसानको लागि कुनै स्थान रहेको छैन । ती पार्टीका नेताहरु जति सकिन्छ, गरिबको घाँटी अठ्याएर भोटमात्रै हाल्ने बैंकको रुपमा कब्जा जमाइरहन चाहन्छन् । यदि ती दुई पार्टीको शुद्धीकरण गर्ने हो भने सामान्य किसानको सम्पत्ति वा नेताहरुको पैतृक सम्पत्तिभन्दा धेरै हुन आउने सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ ।

नेपालमा कम्युनिष्टको वर्ग संघर्षले उल्टो दिशा लिएको छ । एमाले र माओवादीका नवधनाढ्यहरुले गरिब, किसान र मजदुरका विरुद्ध वर्गसंघर्ष चर्काएका छन् ।

घनश्याम भुसाल र राम कार्कीहरुले आफ्ना नेताहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा लैजानुपर्छ । यदि यो प्रस्ताव लगियो र एमाले तथा माओवादीले पारित गरे भने कार्की र भुसालले भन्ने गरेका दलाल पूँजीपतिहरुले या आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्नेछन् या त पार्टी सदस्यता त्यागेर राजनीतिबाट सन्न्यास लिएर हिँड्नेछन् । अहिलेको अवस्था हेर्दा कार्की र भुसालले केन्द्रीय समितिमा यस्तो प्रस्ताव लैजान सक्ने देखिँदैन ।

शुद्धीकरणको एउटा प्रस्ताव लैजान नसक्ने व्यक्तिले बनेपा वा बनेपा जस्ता सार्वजनिक मञ्चहरुमा दलाल पूँजीवादको विरोध गरेर कति परिणाम निकाल्न सकिन्छ ? कार्की र भुसालको सार्वजनिक परीक्षण भइरहेको छ भन्ने कुरा तिनले थाहा पाएको देखिएको छैन । पार्टीको व्यवहारिक शुद्धीकरणको लागि कुनै छलफल नगर्ने, बनेपामा पुगेर उजाडिएको वामपन्थको बहस गरेर कुनै फल प्राप्त हुन सक्दैन ।

भुसाल आफैंले लेखमा के स्वीकार गरेका छन् भने ‘विगत केही दशकदेखि दलाल पूँजीवादसँग उठबस हुँदै जाँदा कम्युनिष्ट पार्टीको एउटा प्रभावशाली हिस्साले क्रान्तिको बाटो छोडिसकेको छ ।’ उनी थप लेख्छन् ‘पहिले नेताहरु स्वयं गरिब थिए । त्यसैले उनीहरुलाई धनी वर्ग मन पर्दैनथ्यो । अब उनीहरु नै धनी भइसकेका छन् । त्यसैले श्रमजीवी वर्ग र त्यस वर्गको विचार मनपर्न छोडेको छ ।’ भुसालको सुन्दर वाक्य संयोजन यहाँनिर छ । उनी यो निष्कर्षमा पुगिसकेपछि अबको मुख्य काम के हो त ?

अबको मुख्य काम भनेको गरिब वर्ग र गरिबका विचार मनपर्न छोडेका नेताहरुलाई राजनीतिको मैदानमा पछार्नु हो । भुसाल र कार्कीले लिएको अहिलेको बाटोले तिनीहरुलाई पछार्दैन । बरु नौरङ्गी श्रीपेच पहिर्‍याइदिएर नयाँ राजा बनाइदिन्छ । प्रकारान्तरले वाम एकताको नाममा अहिलेकै शीर्ष नेताहरुलाई नयाँ श्रीपेच पहिर्‍याइदिने अभियान बनेपाबाट पनि सञ्चालन भएको छ । भुसालको एकीकरण अभियानले केपी ओली, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल जस्ता असक्षमहरुलाई एक थान प्रधानमन्त्री वा राष्ट्रपति बनाइदिन सारा किसान, श्रमजीवी वर्ग, गरिबका सपनाहरुको हत्या गर्नेछ । भुसालले लगाउने भनिएको शीर्ष नेताहरुको क्षमा सप्ताहले गरिब किसानहरुको सपनाको पुनर्जागृत गर्दैन, गरिब जनताका छोरानातिले देख्ने उज्ज्वल भविष्यको सपनाको पनि हत्या गर्छ ।

के चीनमा जस्तै कम्युनिष्ट पार्टीका नेताहरुलाई भ्रष्टाचारको अभियोगमा पार्टीले कारबाही गर्ने ल्याकत राख्छ ? यी सबै विषयमा एकएक गरेर जनताका सामु देखाउन सक्ने तागत एमाले र माओवादीले राख्दैनन् ।

नेकपा (एमाले) र माओवादीबीच भएको एकतालाई भुसालले एकातिर अपरिहार्य बताएका छन् भने अर्काेतिर व्यक्तिवादी भन्दै एकतालाई गलत बताएका छन् । उमेर पुगेका र विवाह गर्नुपर्ने आवश्यकता ठानेका केटाकेटीको विवाह अपरिहार्य थियो । तर, उनीहरुले विवाह गर्ने तरिका गलत थियो भनेर विवाह गर्ने तरिकामाथि हमला गरिरहेका छन् । आपसी प्रेम, सद्भाव, सहयोग भयो भने विवाह जसरी गरिएको भए पनि टिकाउ र सफल हुन्छ । यदि प्रेम, सद्भाव, सहयोग भएन भने नौमती बाजा बजाएर, सातफेरा लगाएर, मानापाथी घिउको होम गरेर गरिएका विवाह पनि टिक्दैनन् । विवाह होम गरेर होस् कि अदालतबाट होस्, त्यो विवाह हो । केपी ओली र पुष्पकमल दाहालले गोप्य रुपमा गरेको अदालती विवाहलाई भुसाल र कार्कीसहितको एमाले र माओवादी दुवै परिवारले स्वीकार गरेको थियो । चार वर्षपछि आएर विवाह गर्ने तरिकामाथि हमला गर्नुको कुनै औचित्य छैन । भुसालले विवाह गर्ने प्रक्रियालाई जसरी दोष दिइरहेका छन्, त्यसको अर्थ र महत्व दुवै छैन ।

भुसालले पुष्पकमल दाहाल र केपी ओलीले असला माछाको सिकार गरेको र विचार, सिद्धान्तलाई सट्टा बजारमा धरौटी राखेको बताएका छन् । यो सत्य हो कि केपी ओली र पुष्पकमल दाहाल चरम व्यक्तिवादी छन् । अहिले व्यक्तिवादी एकता भनेर बाँकी सैद्धान्तिक, राजनीतिक र व्यवहारिक विषयमा छलफल गर्ने पक्षबाट टाढा भाग्ने छुट पाउनु हुँदैन । एमाले र माओवादी सिद्धान्त र व्यवहारका हिसाबले एउटै सिक्काका दुई पाटा हुन् भन्ने कुरा कम्युनिष्ट राजनीति बुझेको जोसुकैले भन्नसक्छ । दुवै पार्टीका नेताको दिमागमा मिलेर शासन गर्ने, प्रधानमन्त्री, मन्त्री, सांसद हुने र देशको ढुकुटी लुटपाट गर्ने उद्देश्य सवार भएपछि एमाले र माओवादीको एकता स्वाभाविक थियो । दुई पार्टीको कार्यशैली र देश लुटेर खाने भित्री धन्धा मिलाउन नसक्दा पार्टीमा ठूल्ठूला झगडाहरु भएका हुन् र पार्टी फुटेको हो भन्ने कुरा प्रस्ट छ ।

सरकारले देश र जनताको लागि काम गर्नुपर्छ भन्ने कुरामा दुईमत छैन । सानाठूला प्राकृतिक र मानवीय संकट आउँदा सरकारले जनताको साथमा काम गर्नुपर्दछ । त्यसैको लागि सरकार चाहिने हो । हामीले करिब २ वर्ष देशलाई तहसनहस बनाएको कोरोना महामारीलाई लिन सक्छौं । त्यतिबेला सबैभन्दा बढी गरिब किसान तथा मजदुरहरु पीडित भए । तिनीहरुको रोजगारी गुम्यो, औषधि पुगेन, खाना पुगेन, अस्पताल जान पाएनन् ।

कोरोनाको कारण करिब ४ प्रतिशत नेपालीहरु गरिबीको रेखामुनि धकेलिएको प्रक्षेपण गरिएको छ । तर, कोरोनाको कारण कम्युनिष्ट पार्टीका कति जना नेताको सम्पत्ति घट्यो ? उल्टो भयो, कोरोनाकै समयमा तिनीहरुको सम्पत्ति झनै धेरै बढ्यो । अहिले इतिहासकै धेरै महँगी बढेको छ । यस बीचमा कति जना कम्युनिष्ट नेतालाई अप्ठ्यारो पर्‍यो ? कोही–कसैलाई पनि परेको छैन । यदि नेतालाई अप्ठ्यारो परेको भए बनेपामा यस विषयमा छलफल हुन्थ्यो । यदि तिनीहरु आफैलाई महँगीको असर परेको भए तिनीहरु संसदमा बोल्ने थिए । सडकमा नारा जुलुसको आह्वान गर्ने थिए । अहिले सडकमा कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ता देखिएका छैनन् । कम्युनिष्ट पार्टीको नाममा नेपालमा जत्तिको लुटधन्धा दुनियाँमा थोरैमात्रै मच्चिन्छन् ।

बनेपामा छलफल भएजस्तै भुसालले गज्जबसँग लेखेका छन् कि ‘नागरिकको वास्तविक जीवनमा अर्थात् उनीहरुको खाना, आवास, लुगाफाटो, शिक्षा, स्वास्थ्य, रोजगारीमा समानता तथा मर्यादापूर्ण सामाजिक सम्बन्धमा, सांस्कृतिक उत्थानमा, राजनीतिक स्वतन्त्रतामा, मुलुकको स्वाधीनता र सार्वभौमिकतामा आजभन्दा भोलि, भोलिभन्दा पर्सि सकारात्मक योगदान गर्न सक्दैनन् भने हाम्रो माक्र्सवाद, समाजवाद, वामपन्थ, कम्युनिष्ट पार्टी समाजका लागि अर्थहीन हुन्छन् ।’ उनले भने जस्तै एमाले र माओवादी अहिले नेपालको सन्दर्भमा अर्थहीन छन् । वास्तविक कम्युनिष्टको सन्दर्भमा यिनीहरुको कुनै भूमिका र अर्थ छैन ।

बूढो भएको नेता कहिले मर्छ र अपुताली खाउँला भनेर बसेर नेता भइँदैन । दुनियाँमा राजतन्त्रमा मात्रै उत्तराधिकारी घोषणा गरिन्थ्यो । कम्युनिष्ट पार्टीमा अघिल्लो नेताले बनाएर छोड्ने उत्तराधिकारीलाई मान्यता दिन सकिँदैन ।

तर, फोहर र धमिलो पानी सिंचाइ गर्न काम लाग्छ भने जस्तै एमाले र माओवादी पनि सिंचाइ गर्न काम लाग्छन् । भुसालले एमाले र माओवादीसँग कुनै कार्यक्रम नभएको घोषणा गरेका छन् । धेरै हदसम्म यो कुरा सही हो कि एमाले र माओवादीसँग चुनाव जित्ने, प्रधानमन्त्री, मन्त्री, सांसद हुने, पैसा कमाउने, गाडी चढ्नेबाहेक कुनै योजना छैनन् । यति गर्न तिनीहरुले विकासको कुरा चाहिं गरिरहेका हुन्छन् । तर, कस्तो खालको विकास भन्नेबारेमा कुनै जवाफ छैन । त्यसैले एमाले र माओवादी नेतृत्वमा समाजवादको हत्या भइरहेको छ ।

एमालेको नवौं महाधिवेशनमा पारित गरिएको दस्तावेज घनश्याम भुसालकै अवधारणा हो भन्ने कुरा प्रस्ट छ । दशौं महाधिवेशन पनि त्यसकै निरन्तरता हो । भुसालले पार्टी एकताको लागि ‘क्षमा सप्ताह’को अवधारणा ल्याएका छन् । भुसालको क्षमा सप्ताहको प्रस्ताव आएलगत्तै सम्पादकहरुलाई बोलाएर पार्टी एकता जोगाउन नसकेकोमा केपी ओलीले आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेका थिए । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि एकता जोगाउन नसकेकोमा क्षमा मागे ।

वामदेव गौतमले राष्ट्रियसभाको रोष्ट्रममा उभिएर क्षमा मागिसके । कम्युनिष्ट नेताहरु क्षमा माग्न माहिर छन् र तिनीहरुको ‘क्षमा सप्ताह’ सुरु भइसकेको छ । जवाफदेहीविहीन, औचित्यहीन, कलाहीन क्षमा मागेर त्यसले दिने उपलब्धि भनेको वाम गठबन्धनको नाममा तिनै नेताहरुलाई देशद्रोह र लुटपाटको लागि बृहत् गुरुयोजना तयार गर्नु हो । जनतातिर फर्केर होइन, नेतातिर फर्केर क्षमा सप्ताहको आयोजना, वाम एकता वा वाम गठबन्धनको नाटक गर्नु तिनीहरुको बाध्यता बन्दै गएको छ ।

भुसालले नेकपा एससँग छिटो पार्टी एकता गर्न सकिने र माओवादीसँग एकता गर्न पहिले मोर्चा बनाउने र पछि एकता संयोजन कार्यदल बनाएर अघि बढ्नुपर्ने लेखेका छन् । उनका अनुसार त्यसरी गरिने एकता भित्री र बाहिरी शक्तिले कहिल्यै फुटाउन नसक्ने हुनुपर्छ । यो प्रस्ताव आफैमा अप्राकृतिक र द्वन्द्वात्मक भौतिकवादसँग मेल नखाने कुरा हो भन्ने कुरा भुसाललाई सिकाउनु पर्दैन । कुनै पनि भौतिक शक्ति निश्चित अवधि गुजारेपछि फुट्ने, टुक्रिने, नष्ट हुने गर्दछ । नेपालमा गठन हुने कम्युनिष्ट पार्टीहरु पनि अजम्बरी बुटी होइनन् ।

जुन कम्युनिष्ट पार्टीले करिब २८ वर्षको अवधिमा पटक-पटक सरकारमा बस्दा, करिब साढे १० वर्ष प्रधानमन्त्रीको रुपमा पूरै नेतृत्व गर्दा शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत अधिकारको जिम्मा लिने सवालमा कुनै पनि योगदान गर्दैन भने त्यस्तो बतासे कम्युनिष्ट पार्टी किन चाहियो ? नेपाली जनताले यस प्रश्नको जवाफ खोजेका छन् । यदि नेताहरुले अगाडि सारेको वाममोर्चा वा एकता देशलाई आवश्यकता हो भने देश र जनताको पक्षमा गर्नैपर्ने आगामी कार्ययोजनाहरु के हुन् र तिनीहरुलाई सफल पार्ने कार्यक्रम के हो ? त्यसको नेतृत्वकर्ता को हो ? त्यसको जवाफ पनि सँगसँगै दिनुपर्ने हुन्छ । बनेपाको वामपन्थ बहसमा पनि यसको जवाफ भेटिएको थिएन ।

अकुत सम्पत्ति थुपारेका भ्रष्टाचारी नेताहरुलाई कुन पार्टीले छानीछानी कसरी कारबाही गरेको छ ? यो देशमा सबैभन्दा पारदर्शी ढंगले केही भएको छ भने त्यो भ्रष्टाचारमात्रै हो । के चीनमा जस्तै कम्युनिष्ट पार्टीका नेताहरुलाई भ्रष्टाचारको अभियोगमा पार्टीले कारबाही गर्ने ल्याकत राख्छ ? यी सबै विषयमा एकएक गरेर जनताका सामु देखाउन सक्ने तागत एमाले र माओवादीले राख्दैनन् । यदि पार्टीहरुले भ्रष्टहरुमाथि छानीछानी कारबाही गर्ने हो भने अधिकांश नेताहरु ती पार्टीबाट बाहिरिनेछन् र नेपाली वामपन्थले नयाँ ऊर्जा प्राप्त गर्नेछ । त्यस्तो वामपन्थी पार्टी बन्न सक्यो भने बल्ल देश र जनताको लागि काम गर्न सक्नेछ ।

बनेपा बहसमा कुनै निष्कर्ष ननिस्किएको भए पनि भुसालको निष्कर्ष के छ भने ‘योग्य नेताले आफूभन्दा योग्य उत्तराधिकारी पिंढीको अपेक्षा गर्छ । अयोग्य नेताले भएकै वैभव पनि रित्याएर जान्छ ।’ अपेक्षा गर्नु एउटा कुरा हो, राजनीतिमा कसैले नेतृत्व बनाएर बन्ने होइन, समूहमा बसेर आफै वैचारिक, राजनीतिक र सांगठनिक क्षमताको विकास गर्दै जाने, हस्तक्षेप गर्ने र नेता बन्ने हो । बूढो भएको नेता कहिले मर्छ र अपुताली खाउँला भनेर बसेर नेता भइँदैन । दुनियाँमा राजतन्त्रमा मात्रै उत्तराधिकारी घोषणा गरिन्थ्यो । कम्युनिष्ट पार्टीमा अघिल्लो नेताले बनाएर छोड्ने उत्तराधिकारीलाई मान्यता दिन सकिँदैन । वामपन्थ बहसलाई सम्धी गफमा सीमित नगरेर हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने हो भने नेपालको वामपन्थी आन्दोलनमा केही सुधार गर्न सम्भव हुनसक्छ ।

पोखरेल नेकपा (मसाल)का युवा नेता तथा अखिल छैटौँका पूर्व अध्यक्ष हुन्
प्रतिक्रिया

One thought on “उजाडिएको वामपन्थको बनेपा प्रहसन !

  1. लेखकले नेपालबाट वामपन्थको जरो उखेल्न निकै कसरत गरेको देखियो । लेखकले कम्युनिष्ट पार्टी सरकारमा हुँदा गरिब जनताका लागि केहि पनि नगरेको र उनीहरु सत्ताको प्रमुख हुनु भनेको देशद्रोही र भ्रष्टचारी गर्नु हो भनेर अत्यन्त तल्लोस्तरको झुटो लान्छना लगाएका छन् ।सबै नेपालीका लागि राजनितिक अवसर उपलब्ध गराउन कम्युनिष्टहरुले जीवन आहुती दिएको, प्रधानमन्त्री हुँदा गरिब जनताको नजिक विकास पुर्‍याउन आफ्नो गाउँ आफै बनाऔं जस्तो कार्यक्रम सञ्चालन गरेको, सामाजिक सुरक्षा भत्ताको शुरुवात गरेको, श्रमिकको सामाजिक जीवनको सुरक्षाको लागि सामाजिक सुरक्षा कोषको शुरुवात गरेको, बेरोजगारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको, भारतीय नाकाबन्दी असफल पारेको, नेपालको विराटनगरमा रहेको विदेशी पोष्ट हटाएको, नेपालको नक्शाबाटै हटाएको नेपाली भूमी समेटेर नेपालको नक्शा जारी गरी उक्त भूमीमा आफ्नो हक र भोग स्थापित गर्न विभिन्न प्रयास गरेको, भूकम्पले ढलेका लाखौं भौतिक संरचना ठडाएको, नेपाललाई भुपरीवेष्टित बाट भुजडित मुलुकमा रुपान्पातरका लागि चीनसँग पारवहन सम्झौता गरेको, नेपाललाई अतिविपन्न मुलुकबाट विकासोन्मुुुुुख मुलुकमा स्तरोन्नती गराउने पूर्वाधार तयार गरेको जस्ता अनेक उदाहरण छन् नेपालमा कम्युनिष्ट पार्टीका प्रधानमन्त्री हुँदा गरेका गरिब जनता र जनताको पक्षमा गरेका कार्यहरु ।यद्यपी अझै काम गर्न भने बाँकी छन् ।

Leave a Reply

Your email address will not be published.