कैलाली ५ : राणा र रानामा कसले मार्ला बाजी ? – Nepal Press

कैलाली ५ : राणा र रानामा कसले मार्ला बाजी ?

कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा अघिल्लो पटक चुनावी मैदानमा भिडेका दुई अनुहारहरू फेरि आमनेसामने हुने भएका छन् ।

अघिल्लो पटक प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई पराजित गरेका नारदमुनि राना नेकपा एमालेबाट पुनः उम्मेदवार हुने तयारीमा छन् । उनी एमाले पोलिटव्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज हुन् ।

उनीसँग अघिल्लो निर्वाचनमा पराजित आरजु पनि निर्वाचनमा होमिने चर्चामा छिन् । उनलाई रानाले झन्डै ५ हजार मतले हराएका थिए । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।

‘यहाँबाट अघिल्लो पटक निर्वाचित नारदमुनि राना नै उम्मेदवार बन्नुहुन्छ’, एमालेका एक जिल्ला पदाधिकारीले भने, ‘प्रदेशमा धेरै आकांक्षी भए पनि प्रतिनिधिसभामा त्यति धेरै छैनन् ।’

उनले यस क्षेत्रमा यस पटक पनि एमाले विजयी हुने दाबी गरे । ‘पहिलेभन्दा अहिले एमाले झन् बलियो भएको छ’, उनले थपे, ‘हामी यस पटक पनि जित्छौं ।’

यता नेपाली कांग्रेसले पनि यस पटक आफ्नो पार्टी विजयी हुने दाबी गरेको छ । यहाँबाट प्रतिनिधिसभातर्फ आरजु राणा नै उम्मेदवार बन्ने कांग्रेस कैलाली सचिव नृप सुनारले बताए ।

‘उहाँ (आरजु) नै यस पटक पनि उम्मेदवार बन्नुहुन्छ’, उनले भने ‘उम्मेदवार बन्ने कुराभन्दा पनि जित्ने नै उहाँले हो ।’

यस क्षेत्रमा धनगढी उपमहानगरपालिका पूरै र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ पर्छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले तालमेल गर्दा धनगढी उपमहानगरमा एमाले चिन्ताजनक अवस्थामा पुगेको थियो । कांग्रेसले प्रमुख र उपप्रमुखसहित १९ वटा वडामध्ये १२ वटा जितेको थियो ।

तर, गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जित्न सकेन । यहाँ प्रमुखमा स्वतन्त्र उम्मेदवार र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भए । अघिल्लोपटक २ वटा वडामा सीमित एमालेले अहिले ६ वटा वडा जितेको छ ।

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि २०७४ को स्थानीय तहभन्दा राम्रो परिणाम आएको भन्दै कैलाली ५ मा एमाले हौसिएको छ । तर, कांग्रेसले भने आन्तरिक किचलोले स्थानीय तहमा अपेक्षित नतिजा नआए पनि संघीय निर्वाचनमा त्यस्तो नहुने दाबी गरेको छ ।

गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कैलाली ५ मा कांग्रेसको मत २२ हजार ७७९ छ । एमाले १७ हजार ४२० मतसहित दोस्रो र माओवादी ८ हजार १७५ मतसहित तेस्रो स्थानमा छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले २ हजार ९, राप्रपाले १ हजार ७९७ र नागरिक उन्मुक्ति पार्टीले ६५९ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३०२ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा)को १५० मत छ ।

अघिल्लो पटक प्रतिनिधिसभामा राना विजयी हुँदा ‘ख’ प्रदेशसभामा कांग्रेसका डिल्लीराज भट्ट र ‘क’ मा एमालेका नेपालु चौधरी विजयी भएका थिए । अहिले एमाले विजयी भएको क्षेत्रमा अघिल्लो पटक निर्वाचित चौधरी र राजेश खातीको नाम चर्चामा छ । कांग्रेसबाट जीवन राना, रामसमझ राना, गणेश देउवा, नारायण बराल र लक्ष्मीनारायण चौधरीको नाम चर्चामा छ ।

‘ख’मा डिल्ली पन्त, सुशीला मिश्र, नृप सुनार, निपा चोखाल र केशव मिश्रको नाम चर्चामा छ । अघिल्लो पटक यस क्षेत्रमा पनि कांग्रेस विजयी भएको थियो । डिल्ली पन्त निर्वाचित भएको यस क्षेत्रमा एमालेबाट धर्मराज पाठक, दुर्गा जोशी र जीवन बमको नाम चर्चामा छ ।

गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसले सीट पाउने अवस्थामा दुई प्रदेशमध्ये एकमा माओवादी र अर्कोमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । माओवादी केन्द्रले ‘क’ माग गरेको स्रोतको दाबी छ । ‘ख’ क्षेत्रमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको भए पनि नेपाली कांग्रेसले यो क्षेत्र नछोड्ने अडान लिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर