लुम्बिनीमा एमालेका ७ पदाधिकारीः कस्तो गर्दैछन् चुनावी तयारी ? – Nepal Press
निर्वाचन-२०७९

लुम्बिनीमा एमालेका ७ पदाधिकारीः कस्तो गर्दैछन् चुनावी तयारी ?

रूपन्देही । लुम्बिनीबाट नेकपा एमालेको पदाधिकारीमा रहेका ७ शीर्ष नेताहरू मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनमा कहाँबाट लड्ने र उनीहरूले टिकट पाउने सम्भावना तथा जित्ने आधारहरूका बारेमा चर्चा र चासो बढेको छ ।

एकातिर एमालेविरुद्ध महागठबन्धन अर्कोतिर स्थानीय चुनावमा एमालेको परिणाम केही खस्किएको अवस्थामा लुम्बिनीमा शीर्ष नेताहरूको चुनावी परीक्षण कस्तो हुने हो भन्ने विषयलाई लिएर जोडघटाउ सुरू भएको हो ।

लुम्बिनीबाट एमाले पदाधिकारीमा उपाध्यक्षहरू दाङका युवराज ज्ञवाली, रूपन्देहीका विष्णुप्रसाद पौडेल, महासचिव दाङका शंकर पोखरेल, उपमहासचिव गुल्मीका प्रदीप ज्ञवाली, सचिवहरू रूपन्देहीका छविलाल विश्वकर्मा, अर्घाखाँचीका टोपबहादुर रायमाझी र गुल्मीका गोकर्ण विष्ट छन् ।

एमाले स्रोतका अनुसार सातजनामध्ये उपाध्यक्ष युवराज ज्ञवाली समानुपातिक वा राष्ट्रियसभामा जान तयार छन् । बाँकी ६ जना प्रतिस्पर्धाका लागि टिकटको दौडधुप र जित हात पार्न रणनिति बनाउन व्यस्त छन् ।

महासचिव शंकर पोखरेल यसअघि मुख्यमन्त्री बन्नका लागि प्रदेशमा लडेपनि अन्य सबैसँग प्रत्यक्ष लडेर निर्वाचित बनेको अनुभव छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल साबिककै निर्वाचन क्षेत्र २ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् । दुई पटक अर्थमन्त्रीसमेत भएका पौडेल २०७४ को निर्वाचनमा कांग्रेसका युवराज गिरीलाई भारी मतान्तरले हराएर विजयी भएका थिए । तीनपटक निर्वाचन जितेका पौडेलको क्षेत्रमा स्थानीय तह निर्वाचनमा धेरै वडामा अन्य पार्टीले निर्वाचन जितेकाले अहिले चुनौती थपिएको छ । उनको क्षेत्रबाट कांग्रेसले बलियो उम्मेदार नपाउँदा गुल्मीबाट चन्द्र भण्डारीलाई ल्याउने वा गठबन्धनलाई दिएर रूपन्देहीका अन्य क्षेत्र आफूले लिनेगरी छलफल चलाएको छ ।

महासचिव पोखरेल अघिल्लो निर्वाचनमा प्रदेशसभाबाट निर्वाचित भएर लुम्बिनीको मुख्यमन्त्री भैसकेका छन् । पोखरेले दाङ २ बाट निर्वाचन लड्ने तयारी थालेका छन् । ७४ मा यहाँ एमाले-माओवादी गठबन्धनबाट संघमा माओवादीका कृष्णबहादुर महरा र प्रदेशमा पोखरेलले चुनाव जितेका थिए । दाङमा गठबन्धनबाट महराले टिकट पाए यसपटक पोखरेल र पूर्वसभामुख महराबीच प्रतिस्पर्धा हुनेछ ।

उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ बाट लड्ने तयारीमा छन् । ७४ मा उनले कांग्रेसका चन्द्र भण्डारीलाई पराजित गरेका थिए । त्यसबेला ज्ञवालीले ३७८१४ मत ल्याउँदा भण्डारी ३०२५६ मा रोकिएका थिए । स्थानीय तहको निर्वाचनमा वडागत मतमा एमाले अगाडि देखिए पनि गठबन्धन बलियो बनेमा सबैको मत एकातिर जाँदा उनलाई पनि चुनौती थपिएको छ । तर, एमाले नेताहरू स्थानीय तहको निर्वाचनमा गठबन्धन भएकाले सबै वडाको मतभार नमिलेको र ज्ञवालीको जित सहज भएको दाबी गर्छन् ।

एमालेका सातजना सचिवहरू मध्ये टोपबहादुर रायमाझीले पुरानै क्षेत्र अर्घाखाँचीबाट प्रतिस्पर्धा गर्ने गरी तयारीमा जुटेका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट निर्वाचित उनी नेकपा विघटनपछि एमालेमै बसेका छन् । २०७४ मा रायमाझीले ५०८३७ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका रामबहादुर बिसीले ३२५४४ मत ल्याएका थिए । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले ४८२६०, कांग्रेस ३७९२५ माओवादी ७७९०, राजमो ४२९४, एसका वडाध्यक्षका उम्मेदवारले ३७६३ मत पाएका छन् । स्थानीय तहमा तहमा गरेको बलियो परिणामले उनको जीतलाई सहज देखाएको छ ।

अर्का सचिव गोकर्ण विष्ट पनि गुल्मीको क्षेत्र नं २ बाट पुन: प्रतिस्पर्धाको तयारीमा छन् । यहाँ प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल पनि आकांक्षी देखिएका छन् । विष्ट २०७४ मा ३४६१८ मतसहित कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गर्न सफल भएका थिए । यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले पनि चुनाव लड्ने बताइसकेकी छन् तर कांग्रेसबाट पुन: केसीले नै बलियो दाबेदारी पेस गरिरहेका छन् ।

अर्का सचिव छविलाल विश्वकर्मा रूपन्देही १ बाटै निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । उनले विगतमा कांग्रेसका अव्दुल रज्जाकलाई हराउँदै ३४७५२ मतसहित विजयी बनेका थिए । स्थानीय चुनावमा वडाध्यक्षको मतमा एमाले थोरै पछाडि देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *