‘जयनारी’ को लहैलहैमा बहकिएकी करिश्मा, निहारिकाले कानुनी उपचार खोज्ने – Nepal Press

‘जयनारी’ को लहैलहैमा बहकिएकी करिश्मा, निहारिकाले कानुनी उपचार खोज्ने

दिदीले चरित्रहत्या गर्नुभयो : निहारिका

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले गत असार २ गते एउटा पोष्ट गर्दै न्यायका निम्ति लडिरहेकी निहारिका राजपूतप्रति आत्मीयता र सद्भाव दर्शाइन् । पहिलो आमरण अनशनमा रहेकी निहारिकालाई सम्बोधन गर्दै उनले आफ्नै घरमा आएर बस्नसमेत आग्रह गरेकी थिइन् ।

करिश्माले लेखेकी थिइन्, ‘मेरो एउटा छोरी थियो, तिमी भयो भने दुईवटा हुन्छ । बच्चा लिएर घर आऊ, म छु ।’

यति मात्र होइन, निहारिकाले अनशन तोडपछि एक दिन करिश्मा उनी बस्ने डेरामै पुगिन् । दिनभरि उनीसँग बिताइन् । उनको कानूनी संघर्षमा साथ दिने बचन दिइन् । आफ्नो घरमा आएर बस्न कर पनि गरिन् । तर, निहारिकाले मानिनन् । उनले आफूलाई आश्रय होइन, न्याय चाहिएको बताइन् ।

उनै निहारिका अहिले दोस्रो चरणको अनशनमा छिन् । आज उनको अनशनको १० औं दिन बितिसकेको छ । दुई दिनअघि उनले राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाह प्रयास समेत गरिन् । त्यसपश्चात सिंगो राज्यको उनीतर्फ ध्यानाकर्षण भइरहेको छ । तर, करिश्मा भने अहिले निहारिकाको साथमा छैनन् । उनले निहारिकाको साथ छोडेको मात्र होइन, विगतमा साथ दिन खोजेकोमा पश्चाताप भावसमेत व्यक्त गरेकी छन् ।

निहारिकाले आत्मदाह प्रयास गरेकै रात करिश्माको फेसबुक वालबाट ‘सनसनीपूर्ण’ पोष्ट भयो । उनले एक युवकसित निहारिकाको अन्तरंग सम्बन्ध झल्किने तस्बिरहरू आफ्नो फेसबुकमा हालिन् । अनि लेखिन्- अबदेखि भोकालाई खाना र नांगालाई कपडाबाहेक अरुलाई आर्थिक सहायता गर्ने छैन ।

निहारिकाले यस घटनामा आफूलाई पूरै दिग्भ्रमित पारेको भाव करिश्माको पोष्टबाट झल्किन्छ । उनको पोष्टको निकै आलोचना भइरहेको छ । तर, करिश्माले अहिलेसम्म पनि पोष्ट डिलिट गरेकी छैनन् ।

सामान्यतया कसैको अनुमतिबिना यसरी निजी जीवनसँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाइँदैन । केही समयदेखि राजनीतिमा समेत सक्रिय करिश्मालाई कानून थाहा नभएको हो वा ‘कमन सेन्स’ को अभाव भएको हो, जे भए पनि उक्त पोष्टले उनलाई नराम्ररी ब्याकफायर गरेको छ ।

आरोपी शिवराज श्रेष्ठसँग नै निहारिका प्रेम सम्वन्धमा भएकाले यो बलात्कार हुन सक्दैन भन्ने करिश्माको निस्कर्ष देखिन्छ । तर, कानूनी र व्यवहारिक हिसाबले उनको निष्कर्ष गलत छ । प्रेमीले पनि यदि सहमतिबिना जबरजस्ति शारीरिक सम्वन्ध राख्छ भने त्यसलाई कानूनले बलात्कार नै मान्छ । यति मात्रै होइन, अहिले त श्रीमान्‌ले श्रीमतीलाई पनि इच्छाविपरीत सम्बन्ध राखेमा बलात्कार ठहरिने कानून छ ।

दोस्रो कुरा, यदि सहमतिमै सम्बन्ध रहेको थियो भने पनि शिवराजले निहारिकालाई विचल्ली पारेर आफूले उन्मुक्ति पाउँदैनन् । सहमतिको सम्बन्धबाट गर्भ रहेको अवस्थामा पनि त्यसको जिम्मेवारी उनले लिनुपर्ने हुन्छ । शिवराजले उक्त बच्चा आफ्नो नभएको दावी रहेको सन्दर्भमा निहारिकाले डीएनए परीक्षणको माग राखेकी हुन् । त्यसैले करिश्माले सार्वजनिक गरेका तस्बिरहरूले बच्चाको बाबु शिवराज हुन् भन्ने निहारिकाको दाबी अझै बलियो हुने देखिन्छ । बलात्कारबाट गर्भ बसेको हो वा सहमतिको सम्बन्धबाट भन्ने चाहिँ थप अनुसन्धानको विषय हो ।

करिश्माले फेसबुकमा आफ्ना तस्बिरहरू सार्वजनिक गर्दा निहारिका स्तब्ध बनेकी छन् । करिश्माको पोष्ट आउँदा उनी टिचिङ अस्पतालको मानसिक वार्डमा भर्ती भएकी थिइन् । मोबाइलमा आफ्ना तस्बिरहरू देखेपछि उनलाई सम्हालिन गाह्रो परेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनी धेरै बेरसम्म रोएकी थिइन् ।

नेपाल प्रेससँगको कुराकानीमा निहारिकाले करिश्माको पोष्टप्रति दु:ख व्यक्त गरिन् । अनुमतिबिना निजी तस्बिरहरू सार्वजनिक गरेर करिश्माले आफ्नो चरित्रहत्या गर्ने प्रयास गरेको उनको आरोप छ ।

‘दिदीले यस्तो गर्नुहोला भन्ने मेरो कल्पना थिएन । उहाँ सावित्री सुवेदीबाट युज हुनुभयो,’ निहारिकाले भनिन् ।

निहारिका केससँग ‘भाइरल गर्ल’ सावित्री सुवेदीको गहिरो नाता छ । उनले सुरूमा ‘जयनारी’ भन्दै निहारिकालाई साथ दिएकी थिइन् । जनकपुर नै पुगेर सडकमा नारावाजीसमेत गरिन् ।

गत जेठमा निहारिका पहिलोपटक अनशन बस्दाखेरि पनि सावित्रीको साथ थियो । उनी दिनभर अनशलस्थलमा बसेर फोटोसेसन गर्ने तथा मिडियाहरूलाई अन्तर्वार्ता दिन व्यस्त हुन्थिन् । तर, त्यस क्रममा आफूलाई ‘माग्ने भाँडो’ बनाएर मानिसहरूसँग चन्दा उठाउन थालेपछि निहारिका उनीसँग असन्तुष्ट बनिन् ।

‘मैले पैसा उठाउनका लागि यो संघर्ष गरेकी होइन । मलाई पैसा होइन न्याय चाहिएको थियो । तर, मेरो अनुमतिबिना उहाँले विभिन्न व्यक्तिहरूसँग पैसा उठाउनुभएको पाएँ,’ निहारिकाले भनिन् ।

यस विषयमा असन्तुष्टि राखेपछि निहारिकासँग सावित्री चिढिएकी हुन् । निहारिकाको पछिल्लो अनशनमा सावित्रीको नाकमुख देखिएको छैन । अहिले उनी आरोपितको परिवारसँग मिलेको निहारिकाको आशंका छ ।

उनी भन्छिन्, ‘उहाँ आरोपितको घरमै पुगेर परिवारलाई भेट्नुभएको सूचना पाएको छु । अहिले मविरुद्ध लागिरहनु भएको छ ।’

आफूले आत्मदाह प्रयास गरेपछि सावित्रीले फोन गरेरै तस्बिरहरू सार्वजनिक गरिदिने धम्की दिएको निहारिका बताउँछिन् । सावित्रीले आरोपितका परिवारबाट पाएका तस्वीरहरू करिश्मालाई उपलब्ध गराएको उनको दाबी छ ।

निहारिकाले आरोपीसँग आफ्नो प्रेम सम्बन्ध रहेको स्वीकार गरिन् ।

उनले भनिन्, ‘हो, हामी प्रेममा थियौं । तर, प्रेम थियो भन्दैमा उसले मेरो बलात्कार गर्न पाउँछ ?’

उनले करिश्माविरुद्ध कानूनी उपचार खोज्ने पनि बताइन् ।

‘उहाँले यसरी मेरो चरित्रहत्या गर्न पाउनुहुन्न । म साइबर क्राइम र मानहानीमा मुद्दा हाल्छु,’ उनले भनिन् ।


प्रतिक्रिया

One thought on “‘जयनारी’ को लहैलहैमा बहकिएकी करिश्मा, निहारिकाले कानुनी उपचार खोज्ने

  1. यस्मा पनि मिलुन्जेल सहमति नमिलेपछि बलात्कार देखिन्छ । तरपनि बच्चा शिवराजको हो होइन डिएनए टेस्त गराउन पोलिस र न्यायलय किन ढिलासुस्ति? पिडितले न्न्यायायनै नपाउने भय पोलिस र न्यायलय किन ? (यहां चांहि पैसा र शक्ति को खेल देखिन्छ ।)
    शिवराज तिमि आफ्नो बच्चा होइन भन्ने पक्का छौं भने आफै डिएनए टेस्त गराइ सफाइ लेउम तिम्रो महानता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर