डेनमार्कबाट फुटबल खेल्न नेपाल आएका सुगम – Nepal Press

डेनमार्कबाट फुटबल खेल्न नेपाल आएका सुगम

काठमाडौं । नेपाली खेलाडीहरू विदेशिने खबर नौलो होइन । नेपालमै खेलेरै जीविकोपार्जन गर्न सक्ने स्थिति नबनेसम्म यो क्रम रोकिनेवाला छैन । राम्रो एक्सपोजर नपाउनु, राज्यले अवहेलना गर्नु, खेलेरै बाँच्नसक्ने अवस्था नबन्नुले नेपाली खेलाडीहरू विदेशिइरहेका छन् ।

पछिल्लो समय मात्रै राम्रो लयमा खेलिरहेका फुटबल खेलाडी सन्तोष तामाङ, दर्शन गुरुङ, हेमन्त थापा मगर, आशिष लामा अस्ट्रेलिया उडे । नेपालमा खेल कौशल देखाएर बाँच्ने परिवेश नदेखेर पलायन भएका यी खेलाडीहरू उदाहरण मात्रै हुन् । यसरी पलायन भएका खेलाडीको सूची मात्रै निकाल्ने हो भने झण्डै पुस्तकको आकार लिन सक्छ । तर, खेलाडी पलायनको कथा यहीँ सकिनेवाला छैन । न उनीहरूलाई रोक्नका लागि राज्यले कुनै गतिलो पहल नै चाल्ने प्रयत्न गरेको छ ।

यो विदीर्ण अवस्थाको जिम्मा राज्यले लिनुपर्छ कि पर्दैन ? गएको तीन महिनामा सबैभन्दा धेरै फुटबलका खेलाडी विदेशिए । सबैको गुनासो एकै छ, – खेल गतिविधि नहुनु र नेपालमा खेलेर जीविकोपार्जन गर्न मुस्किल हुनु ।

एन्फाको विवाद, प्रशिक्षक-खेलाडीबीचको मनमुटावलगायत धेरै कुराको मारमा परेका फुटबल खेलाडीहरूले रंगशालामा आफ्नो करिअर नदेख्नु दुर्भाग्यपूर्ण हो । सानै उमेरदेखि राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने सपना त्यतिबेला तुहिन्छ, जब उनीहरू खेलेर पनि केही पाउँदैनन् । खेलेरै भविष्य सुनिश्चित देख्दैनन् ।

गएको फागुनमा ए डिभिजन लिग सकिएपछि कुनै पनि घरेलु प्रतियोगिता आयोजना भएका छैनन् । मिति तय भएको नेपाल सुपर लिग (एनएसएल) पनि विवादित बनेर समयमा आयोजना हुन सकेन । राष्ट्रिय टिमका खेलाडीले जेठ अन्तिममा एसिया कप छनोट तेस्रो चरणको खेलपछि विश्राम लिइरहेका छन् ।

खेलेरै जीवन चलाउने सोचेका खेलाडीहरू प्रतियोगिताहरू निरन्तर नहुनुले पनि विदेशको बाटो समातिरहेका छन् । तर, यही जमातमा नेपालको जर्सी लगाएर खेल्ने चाहले विदेशबाट स्वदेश फर्किएका खेलाडी पनि छन् । एक उदाहरण हुन्- यू-२० राष्ट्रिय टिमबाट खेलिरहेका सुगम सुवाल । डेनमार्कमा बस्दै आएका सुगम अहिले नेपालका लागि खेल्ने कौतुहलताले स्वदेश फर्किएका छन् ।

काभ्रेको धुलिखेलमा ९ कक्षासम्मको अध्ययनपछि परिवारसँग डेनमार्क गएका सुगम सानै उमेरदेखि फुटबल खेल्ने गर्थे । मेसी, रोनाल्डो र नेइमारलाई अरुले झैँ प्रेरणाको स्रोत मनेर फुटबल खेल्न थाले । भन्छन्, ‘सानैदेखि फुटबल खेल्थे, गाउँमा पनि क्रेज थियो फुटबलको । अरुले झैँ मेसी, रोनाल्डो र नेइमारबाट प्रेरित भएर म पनि फुटबल खेल्न थालेँ ।’

काठमाडौं विश्व विद्यालयको मैदानमा सिनियर दाइहरूसँग खेलेर हुर्किएका थिए सुगम । नेपालमा रहुन्जेल ठूला कुनै प्रतियोगिता नखेले पनि विद्यालयस्तरको प्रतियोगिता भने खेल्ने अवसर पाए ।

९ कक्षापछि डेनमार्क पुगेका सुगमले त्यहाँका स्थानीय क्लबमा यू-१६ देखि खेल्न सुरू गरे । डेनमार्कको स्थानीय क्लबबाट यू-१९ प्रतियोगिताहरू पनि खेले । डेनमार्कमै खेल जिवन अघि बढाइरहेका सुगमलाई एन्फाले प्रकाशित गरेको यू-२० टिमको खुल्ला छनोटसम्बन्धी सूचनाले खिच्यो । उनी हजारौं माइलको यात्रापछि नेपाल आइपुगे ।

खुल्ला छनोटबाट आएका सात सय खेलाडीहरू मध्यबाट अन्तिम २३ मा अटाए । भारतमा आयोजना भएको यू-२० साफ च्याम्पियनसिपमा पहिलो रोजाइमै टिममा अटाए । उनी भन्छन्, ‘मलाई सानैदेखि सपना थियो नेपालको जर्सी लगाएर देशका लागि खेल्ने । समर ब्रेक पनि थियो, एन्फाको खुल्ला छनोटसम्बन्धी सूचना देखेपछि म नेपाल आएँ ।’

खेलाडीहरू विदेशिरहँदा देशका लागि खेल्न नेपाल फर्किनु आफैंमा पे्ररणदायी कथा छ सुगमको । डेनमार्कमै सेटल भएका सुगम नेपाल आएर खेल्नुले अरु खेलाडीलाई पनि देश छोडेर नजाने प्रेरणा मिल्ने यू-२० टिमका मुख्य प्रशिक्षक मेघराज केसीको बुझाइ छ । केसी भन्छन्, ‘खेलाडीहरू विदेशिइरहँदा डेनमार्कमै सेटल भइसकेको मान्छे राष्ट्रको लागि खेल्न आइरहेको छ । मेहनत गरेकै कारण उस्ले गोलहरू गरिरहेको छ । राम्रो प्रदर्शन गरेको छ । जुन उस्को र देशको लागि राम्रो कुरा हो । यो कुरा अरु खेलाडीले प्रेरणाका रूपमा लिनुपर्छ, उनीहरूले बुझ्नु पर्छ कडा मेहनतले सफलता सम्भव छ ।’

सुगमको लक्ष्य सिनियर राष्ट्रिय राष्ट्रिय टिमसम्म पुग्ने छ । अहिले उनले जति मेहनत गरेका छन् त्योभन्दा अलि बढी मेहनत गरेर फुटबललाई बढी समय दिए सम्भव रहेको प्रशिक्षक केसी बताउँछन् । साथै फुटबलमा सुगमको भविष्य उज्वल रहेको पनि केसीको विश्लेषण छ ।

सुगमले खेलेको डेब्यू खेल पनि सम्झनलायक थियो । यू-२० साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै थियो । सुगमले सुरूवाति ११ मा स्थान बनाएका थिए ।

माल्दिभ्सविरुद्धको खेलको ५८ मिनेटमा सुगमले डेब्यू गोल गरे । सुगम त्यो गोल सम्झन्छन्, ‘डेब्यू गेममा गोल गर्दा असाध्यै खुसी लागेको थियो । नेपालको जर्सी लगाएको खेल्ने सपनाले पूर्णरूपमा सार्थकता पाएको क्षण थियो । मैलै मात्रै हैन टिमको सबैले गरेको कडा मेहनतको नतिजा थियो ।’

नेपाली यू-२० टिम अहिले एसिया कप छनोट पहिलो चरणको तयारीमा छ । आगामी महिना बहराइनमा हुने छनोटमा नेपाल बंगलादेश, मलेसिया, भुटान र बहराइनसँगै समूह‘बी’ मा छ । नेपालले पहिलो खेल भूटानविरुद्ध सेप्टेम्बर १० मा, दोस्रो खेल सेप्टेम्बर १२ मा कतारविरुद्ध खेल्नेछ । तेस्रो खेलमा बहराइनसँग सेप्टेम्बर १४ मा प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा बंगलादेशसँग सेप्टेम्बर १८ मा खेल्नेछ ।

भारतमा आयोजना भएको साफमा नेपालले राम्रो प्रदर्शन गरे पनि एक खेलको हारले प्रतियोगिताबाट बाहिरिनु परेको थियो । अहिले यू-२० टिम साफमा भएका कमि कमजोरी सुधारेर एसियन कप छनोटमा राम्रो प्रदर्शन गर्ने लक्षसहित अभ्यास गरिरहेको छ । एसिया कप छनोटपछि पुनः तत्कालका लागि डेनमार्क जाने र त्यसपछि फेरी खेल्न नेपाल फर्किने योजना सुगमको छ ।

‘साफमा हामीले जे सोचेर गएका थियौं त्यो भएन । अब हामी साफको कमी कमजोरीलाई सुधारेर एसियन कपमा राम्रो प्रदर्शन गर्ने योजनमा छौं । एसियन कप छनोट पछि म अहिलेलाई चाहिँ डेनमार्क जान्छु पछि फेरि खेल्न नेपाल फर्किनेछु,’ कुराकानीको बिट मार्दै सुगमले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *