‘परदेशी २’ को रिलिज मिति फागुनमा सर्‍यो – Nepal Press

‘परदेशी २’ को रिलिज मिति फागुनमा सर्‍यो

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । दसैँको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए ।

उनले वितरक, हल सञ्चालक र चलचित्रकर्मीहरूसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताए । उनका अनुसार आफूहरूले प्रदर्शन मिति तोकेको समयमा नेपाली र हिन्दी चलचित्रको भिडभाड भएकाले पछि सर्ने निर्णय गरिएको हो ।

भदौदेखि नै चलचित्र प्रदर्शनको चाप देखिएको छ । ‘परदेशी २’ ले प्रदर्शन मिति तोकेको एक साता अगाडि ‘प्रेम गीत ३’ रिलिज हुँदै छ । भारतमा समेत रिलिज हुने तयारीमा रहेको यस चलचित्रको उत्तिको महत्त्व रहेको वंशल बताउँछन् ।

‘एकले अर्को चलचित्रलाई असर नगरोस् भनेर हामी पछि सर्ने निर्णयमा पुगेका हौं’ बंशल भन्छन् ।

दसैँ तिहारमा चलचित्र प्रदर्शनको भिडभाड हुँदा उक्त समयमा चलचित्र रिलिज गर्दा पछिसम्म र धेरै दर्शकसम्म पुर्‍याउन गाह्रो हुनसक्ने आँकलन गर्दै पछि सारिएको वंशलको भनाई छ ।

दसैँ तिहारमा धेरै चलचित्र हुँदा प्रचारप्रसारमा पनि असर पर्न सक्ने बताउँदै पछि सार्दा प्रचारप्रसार पनि सशक्त तरिकाले गर्न सकिने र धेरै दर्शकसम्म पुर्‍याउन सकिने निर्देशक नारायण रायमाझी बताउँछन् ।

उनी चलचित्रको केही प्राविधिक काम पनि बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने देखिएकाले पनि रिलिज मिति पछाडि सार्ने निर्णय लिइएको बताउँछन् । निर्णय अनपेक्षित भए पनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रूपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।’

‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ । चलचित्रको कथा रमेश बिजीले तयार पारेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *