बागमतीको भागबण्डा- प्रदेश र प्रतिनिधिसभामा यस्तो छ नेकपा एसको बटमलाइन – Nepal Press

बागमतीको भागबण्डा- प्रदेश र प्रतिनिधिसभामा यस्तो छ नेकपा एसको बटमलाइन

काठमाडौंं । गठबन्धनको कार्यदलमा सिट बाँडफाँटको मापदण्डबारे छलफल भइरहेका बेला नेकपाा एसले बागमतीमा प्रतिनिधिसभातर्फ कम्तिमा ६ सिट र प्रदेशसभातर्फ त्यसको दोब्बर अर्थात १८ सिट लिएरै छाड्ने रणनीति बनाएको छ ।

गठबन्धनले बनाएको मापदण्ड अनुसार प्रतिनिधिसभातर्फ ४ सिट र प्रदेश सभातर्फ ९ सिट नेकपा एसले स्वतः पाउनुपर्छ । गठबन्धनले २०७४ सालमा प्रत्यक्षतर्फ जसले जहाँ जितेको छ ती ठाउँ सामान्यतः सोही दललाई छाड्ने सहमति जुटाएको छ ।

सो मापदण्डअनुसार बागमतीमा काठमाडौंका २ सिट नेकपा एसको भागमा पर्छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं २ र पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट निर्वाचित छन् ।

नेपाल रौतहट गएमा नेकपा एसले काठमाडौं २ वा ५ मध्ये एउटा क्षेत्र लिने निश्चित छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीलेले काठमाडौं ५ बाट चुनावको तयारी गरिरहेका छन् ।

त्यस्तै, ललितपुर २ बाट निर्वाचित कृष्णलाल महर्जन र मकवानपुर २ बाट निर्वाचित विरोध खतिवडा नेकपा एसमा रहेकाले उनीहरुको क्षेत्र सोही पार्टीले पाउने निश्चित छ । यीबाहेक आफ्नो पार्टीको शक्ति र स्थानीय तहको मतको समेत आधारमा नेकपा एसले कम्तिमा थप २ सिटमा सशक्त दाबी गरेको छ ।

नेकपा एसका एक शीर्ष नेताका अनुसार दोलखा र धादिङ २ नेकपा एसको बटमलाइन हो । दोलखामा पूराना नेता शिव भण्डारी र धादिङमा राजेन्द्र पाण्डे नेकपा एसका उम्मेदवार हुनेछन् । काभ्रेमा पनि एक सिट दावी गर्ने तर अन्तिममा दोलखा र धादिङ २ नछाड्ने नीति नेकपा एसको छ ।

बागमती प्रदेशमा प्रतिनिधिसभातर्फ ३३ सिट छन् । तीमध्ये मापदण्डमा सिन्धुली २, रामेछाप, काभ्रे १, सिन्धुपाल्चोक १, नुवाकोट १, ललितपुर ३ र चितवन ३ नेकपा माओवादी केन्द्रको भागमा पर्छन् ।

त्यस्तै रसुवा तथा काठमाडौं १, ४, ६ र १० नेपाली कांग्रेसको भागमा पर्छन् । बाँकी एमालेले जितेकामध्ये अधिकांश सिटमा नेपाली कांग्रेसको दावी रहेको कार्यदलका एक सदस्यले बताए ।

प्रदेशसभाको ६६ प्रत्यक्ष सिटमध्ये नेकपा एसले कम्तिमा १२ सिटमा दावी नछाड्ने भएको छ । मापदण्डअनुसार काठमाडौं ४ को प्रदेशसभाका कुसुम कार्की,७ का बसन्त मानन्धर र १० की रमा आलेमगरको क्षेत्र स्वतः नेकपा एसको भागमा सुरक्षित हुनेछ ।

त्यसबाहेक काठमाडौंमा थप ३ सिट नछाड्ने नीति सो पार्टीको छ । त्यस्तै भक्तपुर २ को प्रदेशसभाबाट निर्वाचित राजेन्द्रमान श्रेष्ठ नेकपा एसमा रहेकाले सो सिट पनि सुरक्षित छ भने काभ्रे २ को दुवै प्रदेशसभाका सदस्य लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई नेकपा एसमा छन् ।

मकवानपुरबाट निर्वाचित मनु सिग्देल,चितवनका कृष्ण खनाल र धादिङका राजेन्द्र पाण्डेको क्षेत्र समेत सुरक्षित राख्दै थप रामेछापका १ सिट,सिन्धुपाल्चोकमा १ सिट र नुवाकोटमा एक सिट नेकपा एसले दाबी गरेको छ ।

ललितपुरमा प्रत्यक्ष निर्वाचित माधव पौडेलको क्षेत्र सुरक्षित गर्दै एक सिट थप दाबी गर्ने नीति नेकपा एसको छ । सिन्धुली, भक्तपुर र रसुवामा भने नेकपा एसको दाबी छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर