निहारिकाको जीवन रक्षा गरियोस्, बच्चाको ‘डीएनए टेस्ट’ होस् – Nepal Press
सम्पादकीय:

निहारिकाको जीवन रक्षा गरियोस्, बच्चाको ‘डीएनए टेस्ट’ होस्

काठमाडौं । ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले आज राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गरिन् । प्रहरीले हस्तक्षेप गरेर आज उनलाई जोगायो, तर उनको जीवन रक्षा भने अझै सुनिश्चित भएको छैन ।

निहारिकाले दोस्रो चरणको आमरण अनशन सुरु गरेको आठ दिन बितिसकेको छ । तर, अहिलेसम्म पनि राज्यका जिम्मेवार निकायहरू उदासीन देखिएका छन् । माग सम्बोधनमा राज्यका तर्फबाट कुनै गम्भीर पहल नभएपछि निहारिकाले कठोर र अप्रिय निर्णय लिएकी हुन् ।

राज्यलाई भारी पर्ने खालका जटिल मागहरू निहारिकाले राखेकी छैनन् । आफूलाई एक पुरुषले बलात्कार गरेर बच्चा जन्मिएको उनको दाबी छ । आरोपीलाई पक्राउ गरी बच्चासँग डीएनए म्याच गराउनुपर्ने उनको मुख्य माग हो । साथै, आफूले जनकपुर उच्च अदालतमा दिएको पुनरावेदनको पेसी चाँडो तोक्न उनले आग्रह गरेकी छन् ।

आरोपीले निहारिकाबाट जन्मिएको बच्चा आफ्नो नभएको दाबी गरेको अवस्थामा बच्चासँग उनको डीएनए म्याच गराउनु स्वाभाविक प्रक्रिया हो । तर, जिल्ला अदालत धनुषाले बलात्कारबाट नभई सहमतिको सम्बन्धबाट बच्चा जन्मिएको ठहर्‍याउँदै डीएनए परीक्षण गर्नु आवश्यक नरहेको फैसला सुनायो । उक्त फैसलाबाट निहारिकाले न्यायको अनुभूति गर्न सकिनन् । त्यसैले कानूनी लडाइँ जारी राख्दै उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरिन् ।

तर उच्च अदालतले महिनौँसम्म उनको मुद्दाको पेशी तोकेन । पहिलो आमरण अनशन बसेपछि बल्ल झगडीया झिकाउने आदेश भयो । तर, आरोपी पक्राउ गर्ने र डीएनए टेस्ट गर्ने माग अझै पूरा भएको छैन । फलतः निहारिकाले दोस्रो चरणको अनशन सुरु गरेकी हुन् । मामुली मागका लागि उनले आमरण अनशनजस्तो कठिन संघर्ष रोज्नुपरेको छ, त्यो पनि दुई–दुई पटक ।

हुन सक्छ, निहारिकाले बोलेका सबै कुरा सत्य नहोलान् । जिल्ला अदालतले भने बमोजिम त्यो सहमतिकै सम्बन्ध थियो भन्ने मानौँ । तर, आरोपीलाई सफाइ दिइरहँदा अदालतले निहारिकाको काखमा रहेको बच्चा नदेख्नु सबैभन्दा विडम्बनापूर्ण हो । बच्चा भइसकेपछि उसको बाबु त कोही छ । आमाले फलानो व्यक्ति बच्चाको बाबु हो भनेर दाबी गरिरहँदा यसको निर्क्याैल गर्ने न्यूनतम दायित्वबाट अदालत किन पन्छियो ? सहमतिको सम्बन्ध भन्ने नाममा बच्चाको बाबुलाई उन्मुक्ति दिन मिल्छ ?

निहारिकाले आफू र बच्चाको न्यायका लागि लड्न थालेको धेरै भइसकेको छ । उनी कहाँ–कहाँ धाइनन् ? को–कोसँग याचना गरिनन् । ‘सडकमा नारी अधिकार भन्दै कुर्लिने र उनलाई आफ्नो निहीत स्वार्थका लागि सडकमा लगेर अलपत्र पार्ने अधिकारवादीहरूले उनलाई केही समय भजाएर आफ्नो बाटो लागे । आज निहारिकाले आत्मदाहको प्रयास गरिरहँदा उनीहरु छेउछाउमा छैनन् । पाँचतारे होटलमा विचार गोष्ठी गर्दै महिला हकहित र समतामूलक समाजका चर्का कुरा गर्नेहरूसँग निहारिकाको आवाज सुन्ने फुर्सद नै छैन ।

यो पनि पढ्नुहाेस् : शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास, प्रहरीले जोगायो (भिडिओसहित)

कानूनी लडाइँमा उनलाई सही सल्लाह र मार्गदर्शन गर्नेको समेत अभाव देखिएको छ । फलतः उनको मुद्दा सुरुदेखि कमजोर बन्यो । कानूनी ज्ञानको कमीका कारण निहारिकाले दिएका उजुरीहरूमा पनि एकरूपता भएन । उनले सुरुमा जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएकी थिइन् । उक्त निवेदनमा उनले आरोपीलाई आफ्नो ‘श्रीमान्’ भनेको जिल्ला अदालतको फैसलामा जनाइएको छ । काठमाडौंमा श्रीमानसँगै बस्दा आफू गर्भवती बनेको र श्रीमानले गर्भपतन गर्न दबाब दिएको निवेदनमा उल्लेख थियो । आफूले गर्भपतन गर्न इन्कार गरेपछि छोडेर भागेको भन्दै निहारिकाले न्यायको माग गरेकी थिइन् ।

सोही प्रहरी कार्यालयमा पछि दिएको जाहेरी र अदालतमा दिएको मुद्दामा चाहिँ निहारिकाले आफूमाथि जबरजस्ती करणी भएको बताएकी छन् । प्रतिवादीले आफ्नो घरमा लगेर बेहोस पारी बलात्कार गरेको उनको आरोप छ । जिप्रकामा पहिले श्रीमान्–श्रीमती भनेर गएको निवेदन फर्जी भएको उनी दाबी गर्छिन् । उक्त निवेदनमा रहेको हस्ताक्षर आफ्नो नभएको उनको भनाइ छ ।

निहारिकामाथि बलात्कार भएको हो वा होइन भन्नेमा थप अनुसन्धान आवश्यक देखिएको छ । त्योभन्दा पहिले बच्चाको बाबुको छिनोफानो चाँडो हुनुपर्छ । त्यसका निम्ति आरोपीलाई तत्काल पक्राउ गरेर बच्चासँग डीनएनए म्याच गराउनु पहिलो काम हो । आरोपी फरार भएको बहाना गरेर डीएनए टेस्ट गर्न आलटाल गर्नुले प्रहरी–प्रशासनमाथि नै शंका उब्जिन्छ । के एउटी आमाको जीवनरक्षाका लागि राज्यले यति पनि गर्न सक्दैन भन्ने प्रश्न उठ्छ ।

अनि, उच्च अदालत जनकपुरमा दिएको पुनरावेदनको पेसी सरेको सर्‍यै गर्दा निहारिका आक्रान्त बनिरहेकी छन् । काठमाडौंबाट पटक–पटक पेसीका लागि भनेर जनकपुर जानु र रित्तो हात फर्किनुपर्दा उनको धैर्यको बाँध टुटिरहेको छ । मुद्दाको पेसी तोक्नका लागि पनि यति ठूलो दबाब दिनुपर्ने अवस्थाले कस्तो राज्यव्यवस्थाको चित्रण गर्छ ?

यसअघि निहारिकाले अनशन तोड्दा उनलाई जुस खुवाउन गृहमन्त्री बालकृष्ण खाँड र महिला आयोगका पदाधिकारीहरुबीच हानथाप चलेको थियो । जस लिने होडमा आयोगकी एक पदाधिकारीले गृहमन्त्रीको हातैबाट जुस खोसेकी थिइन् । तर, अहिले न गृहमन्त्री न ती पदाधिकारी उनको छेउछाउमा छन् । सायद निहारिकाले अनशन तोड्ने प्रतीक्षामा जुस हातमा बोकेर बसेका होलान् ।


प्रतिक्रिया

4 thoughts on “निहारिकाको जीवन रक्षा गरियोस्, बच्चाको ‘डीएनए टेस्ट’ होस्

  1. न्याय मरेकै हो मेरो देश को ? प्रतीक्षा छ न्यायको …

  2. लाज पचेको नकचरो हाम्रो नेपालको सरकार अब निहारिकाले आत्महत्या गर्नु भन्दा पहिले त अन्धो सरकार डाडुमा पानी ततायर मर्नु पर्छ।

  3. Balatkar navai sahamati kai sambandh vayo hare thik xa tara tyo sambadha bata janneko bachcha vanera piditle dabi garisake paxi dabi satte ho wa hoina vani patta lagauna DNA test ko adesh diyera bachcha ko sawalma ta nirnaye garnu paryoni adalat le ! Teti DNA parixan ko adesh dina adalat lai kina mahabharat vai ra xa ?

  4. जिल्ला अदालतले DNA परिक्षण गर्न ईनकार गरेकाे अबस्था साे फैशलाकाे अधाेपान्त अध्ययन गर्दा देखिदैन।नाता कायम काे मुद्धा लिई आउन सकिने भनि फैशला गरेकाे देखिन्छ ।

Leave a Reply to pushpa oli Cancel reply

Your email address will not be published. Required fields are marked *