धनुषा ३ मा ‘हेभिवेट’ तयारी : निधीको भविष्यमा जसपाको हात, महतोले पाउलान् एमालेको साथ ? – Nepal Press
संसदीय चुनाव-२०७९

धनुषा ३ मा ‘हेभिवेट’ तयारी : निधीको भविष्यमा जसपाको हात, महतोले पाउलान् एमालेको साथ ?

जनकपुरधाम । आसन्न चुनावका लागि धनुषा क्षेत्र नम्बर ३ बाट चार ‘हेभिवेट’ नेताले तयारी थालेका छन् ।

मधेसको राजधानी जनकपुरधामसमेत पर्ने यो क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले जितेका थिए । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीलाई पराजित गरेका उनी अहिले लोसपाका वरिष्ठ नेता छन् ।

महतो र निधि यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने बताइरहँदा नेकपा एमालेकी नेतृ जुली महतो पनि दौडमा मिसिएकी छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) का नेता जितेन्द्र यादव पनि आकांक्षीका रूपमा देखिएका छन् । जुली रघुवीर महासेठको पत्नीसमेत हुन् । जितेन्द्र मुख्यमन्त्री लालबाबु राउतका सल्लाहकार हुन् ।

महतो, निधी, महासेठ र यादव यतिबेला टिकट हत्याउन र चुनावी रणनीति बनाउन व्यस्त छन् । गठबन्धनमा लोसपा आउँदा निधी, महतो र यादवमध्ये एकजना उम्मेदवार हुनेछन् । तर, एकले अर्कालाई छाड्ने सम्भावना न्यून छ ।

महतोलाई निर्वाचन क्षेत्र परिवर्तनका लागि निधी प्रयास गरिरहेका छन् । एक समय सभापति शेरबहादुर देउवाको निकट रहेका निधि कांग्रेस केन्द्रीय र प्रदेश अधिवेशनमा देउवाविरुद्ध उभिए । पछिल्लो समय देउवासँगको सम्बन्ध सुधारमा लागेका उनी महतोलाई अर्को क्षेत्र रोजाउन देउवामार्फत लबिङमा लागेको स्रोतको दाबी छ ।

२०७४ सालको निर्वाचनमा धनुषा ३ बाट राजेन्द्र महतोलाई जिताउन एमालेको निर्णायक भूमिका थियो । रघुवीर महासेठ र राजेन्द्र महतोबीच अघोषित प्याकअप भएको चर्चासमेत चलेको थियो । गठबन्धनमा माओवादीलाई परेको सो क्षेत्रमा एमालेले मत महतोलाई दिएको थियो ।

यसपटक पनि सत्ता गठबन्धनमा लोसपा अटाउन सकेन भने महतोका लागि क्षेत्र छाडेर सर्लाही फर्किने वा धनुषा ३ मा एमालेको साथ लिनेबाहेक अरु विकल्प नहुन सक्छ ।

तर, मधेस आन्दोलनका राप र ताप पनि नभएको र एमालेको मत कांग्रेसको हाराहारीमा रहेकाले जुली महतोजति बलियो उम्मेदवार राजेन्द्र महतो नहुन पनि सक्छन् ।

गठबन्धनमा सहभागी जसपाका आकांक्षी उम्मेदवार यादवलाई समेत रोक्न सके मात्र निधिलाई चुनाव जित्न केही सहज हुनेछ । यसो गर्दा पनि गठबन्धनभित्र अन्तर्घातको जोखिम उत्तिकै छ । यसको ज्वलन्त उदाहरणको रूपमा हालै सम्पन्न स्थानीय चुनावमा जनकपुरधाममा गठबन्धनबाट मेयरका उम्मेदवार बनेका जसपा नेता लालकिशोर साहसँग कांग्रेसले गरेको अन्तर्घात ।

अन्तर्घातकै कारण कांग्रेसका बागी उम्मेदवार मनोज साह मेयरमा विजयी भए । त्यो चुनावको बदला, जसपाले निधिसँग यो चुनावमा लिनसक्ने भनेर कांग्रेसका स्थानीय नेता-कार्यकर्ता झस्किएका छन् । उनीहरू निधीको भविष्य जसपाको हातमा रहेको विश्लेषणसहित चर्चा गर्न थालेका छन् ।

को कति बलिया ?

धनुषा ३ नम्बर क्षेत्रमा जनकपुरधाम उपमहानगरको १० वटा वडा, नगराइन र धनौजी नगरपालिका साथै मुखियापट्टि मुसहरनीया गाउँपालिका पर्छ । स्थानीय तहको निर्वाचनमा जनकपुरधामको मेयरमा स्वतन्त्रबाट जितेका मनोज साह औपचारिक रूपमा कांग्रेसमै फर्किसकेका छैन । तर, उनी निधीनिकट मानिन्छन् । चुनावमा उनले निधिलाई नै सहयोग गर्ने निश्चित छ । नगराइन र धनौजी पनि कांग्रेसले नै जितेको छ । मुखियापट्टी मुसहर्नियामा जसपा विजयी भएको छ ।

वैशाख ३० को चुनावमा वडागत हिसाबले कांग्रेस २२ हजार ४२८, एमाले १७ हजार ९६, लोसपा ८ हजार ७६३, जसपा ८ हजार २४३, नेकपा एस ३ हजार ७२५ र जनमत पार्टी २ हजार ४९१ मत ल्याएको छ । माओवादी ६६५ र राप्रपा ५०१ मत ल्याएर कमजोर उपस्थितिमा छन् ।

२०७४ को संसदीय निर्वाचनमा राजेन्द्र महतोले झण्डै ३ हजार मतान्तरले जितेका थिए । महतोले ३० हजार ७४२ मत ल्याउँदा निधी २७ हजार ८२८ मतमा रोकिएका थिए । एमालेसँग गठबन्धन गरेर चुनाव लडेका माओवादीका राम सिंहले २ हजार ३४६ मत ल्याएका थिए ।

यहाँ अन्य दलको तुलनामा कांग्रेस मजबुत छ । विगतमा कमजोर एमालेले स्थानीय चुनावबाट स्थितिमा सुधार ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर