नितिशले छाडेपनि भारतमा मोदी नै बलियो, तेस्रोपटक बहुमत ल्याउने सर्वेक्षण – Nepal Press

नितिशले छाडेपनि भारतमा मोदी नै बलियो, तेस्रोपटक बहुमत ल्याउने सर्वेक्षण

काठमाडौं । बिहारका मुख्यमन्त्री नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी तोडेर अन्य सात दलसँग महागठबन्धन गरेसँगै भारतको २०२४ मा हुन लागेको लोकसभा चुनावमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपाले बहुमत प्राप्त गर्न सक्छ वा सक्दैन भन्ने बहस सुरु भएको छ ।

वर्तमान अवस्थामा भाजपाले आगामी चुनावमा पनि बहुमत प्राप्त गर्ने दाबी गरिएको छ । भारतीय संचारमाध्यम इन्डिया टुडेले पोलिङ् एजेन्सी सि–भोटरसँगको सहकार्यमा गरेको सर्वेक्षणअनुसार आगामी चुनावमा सत्ता गठबन्धनले कुल ५४३ सिटमध्ये २८६ सिट जित्न सक्ने सम्भावना रहेको छ । नितिश नेतृत्वको जनता दल (युनाइटेड)ले भाजपासँग साझेदारी नतोडेको भए सत्ता गठबन्धन ३०७ सिट आउने प्रक्षेपण गरिएको थियो ।

हाल भाजपा नेतृत्वको सत्ता साझेदार एनडीएको लोकसभामा ३०० माथि सिट रहेको छ । फेब्रुअरी र अगस्टको बिचमा कुल १ लाख २२ हजार १६ जना व्यक्तिहरुमा गरिएको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो । अब हुने चुनावमा पनि भाजपा गठबन्धनले बहुमत प्राप्त गरेको सन्दर्भमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा ‘ह्याट्रिक’ गर्ने छन् ।

सर्वेक्षेणका अनुसार भारतका ५३ प्रतिशत मानिसले मोदीलाई नै अबको प्रधानमन्त्रीको रुपमा चुन्ने बताएका छन् भने ९ प्रतिशतले राहुल गान्धी र ७ प्रतिशतले अरविन्द केजरिवललाई प्रधानमन्त्री बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर