सीट बाँडफाँट मापदण्डबारे झलनाथ भन्छन्- हाम्रो आधार २०७४ – Nepal Press

सीट बाँडफाँट मापदण्डबारे झलनाथ भन्छन्- हाम्रो आधार २०७४

कैलाली । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले गठबन्धनको मुख्य काम सीट बाँडफाँट रहेको जनाएका छन् ।

आगामी निर्वाचनमा गठबन्धनभित्र रहेका दलहरूले पाउने सीटका विषयमा गृहकार्य भइरहेको उनले बताए ।

‘कार्यदल बनाएका छौँ त्यसैले छलफल गरिरहेको छ’ उनले नेपाल प्रेससँग भने, ‘सीट बाँडफाँटमा २०७४ को निर्वाचनको आधारमा अगाडि बढ्ने हाम्रो बटमलाइन हो ।’

केही दिन पहिले खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा खनालले निर्वाचनपछिको सत्ता बाँडफाँटसम्मको विषय टुंग्याएर जानुपर्ने बताएको विषय बाहिरिएको थियो । तर, खनालले यसमा कुनै सत्यता नभएको प्रष्ट्याएका छन् ।

‘प्रधानमन्त्री ज्यूसँग भेटघाट भएको हो तर, सीट बाँडफाँटको बिषयमा छलफल भएको छैन’ उनले भने, ‘भारतले चियापत्ति रोकिदिएपछि समस्या भएको छ । त्यसै विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन चिया उत्पादक, व्यापारी र विक्रेतालाई लिएर गएको थिए ।’

प्रधानमन्त्री देउवासँग आफूले नेपालको चिया संकटमा पर्न लागेको भन्दै यसको उपाय निकाल्ने विषयमा कुरा गरेको उनले बताए ।
‘अरू विषयमा कुराकानी भएन । कुरा गर्नुपर्छ तर, अहिले होइन’, उनले भने ।

खनालले पहिलो चरणमा सीट बाँडफाँटको कुरा टुंगिने बताए । ‘त्यसपछिको कुरा छलफल चल्न पनि सक्छ नचल्न पनि सक्छ’ उनले भने ।
प्रदेश सरकारसम्मको बाँडफाँट अहिले गर्न खोज्नु भएको हो भन्ने प्रश्नमा खनाल भन्छन्, ‘कस्तो चुनाव हुन्छ ? जनताले कसलाई चुन्छन् ? अनि यहाँबाट टुंग्याएर हुन्छ र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर