देशभर ‘लौरो’ चिन्हबाट चुनाव लड्ने स्वतन्त्र अभियानको घोषणा – Nepal Press

देशभर ‘लौरो’ चिन्हबाट चुनाव लड्ने स्वतन्त्र अभियानको घोषणा

काठमाडौं ।मंसिर ४ मा देशभरबाट उम्मेदवार उठाउने घोषणा गर्दै ‘वृहत् स्वतन्त्र राष्ट्रिय अभियान’ ले चुनाव चिन्हको रूपमा ‘लौरो’ सार्वजनिक गरेको छ ।

आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरूले चुनाव चिन्ह सार्वजनिक गर्दै अभियानबारे जानकारी गराएका हुन् ।

‘एक्लाएक्लै होइन, सँगसँगै हिँडौं भन्ने भावना, सुस्पष्ट विचार र कार्यक्रमका साथ नयाँ दल, व्यक्तिहरू र अभियानहरूलाई समेटेर एउटै चुनाव चिन्ह लौरोलाई वृद्धवृद्धाहरूले सहाराको रूपमा टेक्ने र भ्रष्टाचारीलाई सेक्ने वैचारिक र कार्यक्रमिक रूपमा अघि बढ्न हामी सबैमा आह्वान गर्दछौँ,’ कार्यक्रममा वितरित विज्ञप्तिमा भनिएको छ ।

पुराना राजनीतिक दल र विचारका व्यक्तिहरू समेत सबैको एउटै राजनीतिक सिद्धान्त रहेको र त्यो ‘हरेक पटकको चुनावमा सकेसम्म धेरैभन्दा धेरै रकम खर्च गर्ने र चुनावपछि खर्च असूलउपर गर्ने’ रहेको उनीहरूले टिप्पणी गरेका छ्न् ।

‘राजनीतिका नाममा भइरहेको त्यही अराजनीतिक व्यापार नै राज्य संयन्त्रका सबै तहमा हुने भ्रष्टाचारका कारण हो,’ विज्ञप्तिमा उल्लेख छ,‘हालसम्म जेलाई राजनीति भनिएको छ त्यो राजनीति होइन अवैध व्यापार हो ।

पुरानो राजनीति नाममा भइरहेको त्यो अवैध व्यापारका कारण झाँगिएको विकृत संसदीय व्यवस्था, खर्चिलो र बोझिलो संघीयता, राजनीतिकृत न्यायालय तथा कर्मचारीतन्त्रको जर्जर अवस्थाबाट नागरिकले मुक्ति पाउनका लागि व्यक्ति मात्र होइन व्यवस्थामा पनि व्यापक सुधारको खाँचो रहेको सो पत्रमा उल्लेख छ ।

‘त्यसका लागि नयाँ दल र अभियानहरू समेत एकजुट बनेर जनताका वाचा आउन् भन्ने सम्पूर्ण जनताको शुभेच्छा भएकोले हामी एकजुट हुनु जरुरी छ,’ उनीहरूले भनेका छन् ।

विज्ञप्तिमा सातजनाले हस्ताक्षर गरेका छन् । जसमा धरानका अभियान्ता डा. सुदीप श्रेष्ठ, स्वतन्त्र उम्मेदवारी समूहका कुलदीप बस्नेत, अटेरी अभियानका हरि कार्की, नेपाल स्वतन्त्र नागरिक सञ्जालका दिनेश सुवेदी, हाम्रो नेपाली पार्टीका प्रवक्ता रोहन कार्की, स्वतन्त्र राष्ट्रिय अभियानका प्रवक्ता दुर्गा बस्नेत र उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर