‘जनै’ उत्पीडनको प्रतीक ! – Nepal Press

‘जनै’ उत्पीडनको प्रतीक !

आज जनै लगाउने दिन भएकाले पनि सामाजिक सञ्जालमा यो देखिएको छ, यसबारे लेखिएको छ । कसैले लगाउँदाको गर्व प्रदर्शन गरिरहेका छन्, कसैले जनैमाथिको विचार राखिरहेका छन् । कोही जनै लाएर फेसबुकमा आए जस्तै म जनैबारेको विचार लिएर आएको छु । मेरो विचार तपाईंलाई मन नपर्नसक्छ, रिस उठ्नसक्छ । तैपनि विचार बुझ्दा त केही बिग्रिँदैन, पढ्नोस् । पढेपछि गाली गर्न मन लागे गर्दा भैहाल्छ ।

जनै लगाउनेहरुले यो त हाम्रो पहिचान हो भनिरहेका छन् । अब पहिचान के हो र कुरीति के हो भन्नेमा केही भन्छु । जुन परम्परा, भेषभुषा वा संस्कृतिले अरुमाथि उत्पीडन गर्दैन, त्यो चाहिँ पहिचान हो । यदि त्यसले अर्को माथि उत्पीडन गर्छ भने त्यो पहिचान होइन, कुरीति हो ।

छुवाछूत गर्न पाउँदा आनन्द लाग्नसक्छ कसैलाई । तर, त्यो पहिचान होइन, कुरीति हो । सती प्रथाअन्तर्गत सती जान पाउँदा पनि आनन्द लाग्थ्यो कतिलाई । तर, के सती प्रथा पहिचान हो त ? हैन, त्यो कुरीति हो । किनभने त्यो प्रथाले मानव जातिमाथि नै असर गर्थ्यो । कतिले अझै पनि बोक्सी प्रथा मानिरहेका हुनसक्छन्, अर्कोलाई बोक्सीको आरोप लगाउन पाउँदा उसलाई आनन्द लागिरहेको हुनसक्छ । त्यसो भए के बोक्सी प्रथा मान्नु उसको पहिचान भन्न मिल्छ त ? मिल्दैन, त्यो कुरीति हो ।

जंगबहादुर राणाले १९१० को मुलुकी ऐन जारी गर्ने बेलामा तागाधारी (जनै लगाउने) र मतवाली भनेर छुट्याए, तागाधारीलाई विशेष अधिकारको व्यवस्था गरे, जुन व्यवस्थाबाट जनजाति पनि उत्पीडनमा परे ।

कतिपयलाई अझै पनि छाउपडी प्रथा ठीकै लागिरहेको छ । तर, त्यो पहिचान हुन सक्दैन, त्यो कुरीति हो । किनभने त्यसले महिलामाथि उत्पीडन गरिराखेको छ । त्यसैले कसैलाई गर्व लाग्ने वा त्यो गर्न पाउँदा आनन्द लाग्ने कुराले मात्रै त्यो पहिचान हो भन्न मिल्दैन । त्यसले अर्कोमाथि उत्पीडन गर्दैन भने मात्रै त्यो पहिचान हो, गर्छ भने कुरीति हो ।

कुनै ठाउँमा २ जना पुरुष छन्, एउटाले जनै लगाएको छ र अर्कोले लगाएको छैन भने, जनै लगाउने चाहिँ माथिल्लो जातको रैछ भन्ने स्वतः दिमागमा आइहाल्छ । यसरी जनैले स्वतः त्यो नलगाउनेलाई तलको भन्ने पुष्टि गरिदिन्छ । भनेको, यसले त सीधासीधा उत्पीडन नै त गर्छ, उत्पीडनभन्दा बाहेक के गर्छ र ?

कतिपयले यस्तो पनि तर्क गर्छन् कि, ‘मलाई इच्छा छ म लगाउँछु, मैले लगाएको जनैले अरुलाई के हानी गरेको छ र ?’ तर, बुझ्नुपर्ने कुरा चाहिँ जनैले हानी नै त गरेको छ । हानीभन्दा बाहेक के गरेको छ र ? जनै लगाउनेभन्दा नलगाउने चाहिँ स्वतः तल्लो दर्जाको ठहरिन्छ, त्योभन्दा बढी हानी के गर्नुपर्‍यो र ? यदि अर्कोलाई हानी गर्दैन भने उसलाई चाहिँ त्यो लगाउँदा गर्व महसुस किन भाको त ? त्यो लगाउँदा म त्यो नलगाउनेभन्दा ठूलो देखिन्छु, विशेष देखिन्छु भन्ने मनोविज्ञानको आनन्द नै त हो त्यो ।

जनै तहगत संरचनालाई व्यवस्थित गर्न बनाइएको एक प्रकारको सर्टिफिकेट हो । क्षेत्रीले लगाउने जनैमा ब्राह्मणले लगाउनेमा भन्दा कम डोरो हुन्छ । ब्राह्मणभन्दा क्षेत्री तलको भन्ने संकेत नै त हो त्यो ।

नेपालमा चाहिँ जनै जनजातिको लागि उत्पीडनको विषय नहुनुपर्ने हो किनभने जनजाति हिन्दू धर्मभित्रका होइनन् । तर, भइदियो के भने जंगबहादुर राणाले १९१० को मुलुकी ऐन जारी गर्ने बेलामा तागाधारी (जनै लगाउने) र मतवाली भनेर छुट्याए, तागाधारीलाई विशेष अधिकारको व्यवस्था गरे, जुन व्यवस्थाबाट जनजाति पनि उत्पीडनमा परे । तागाधारी भएकै कारण जनजातिमाथि शोषण गर्न पाउने अधिकारको व्यवस्था गरियो मुलुकी ऐनमा । त्यसकारण जुनै जनजातिको पनि सरोकारको विषय हो ।

जनै तहगत संरचनालाई व्यवस्थित गर्न बनाइएको एक प्रकारको सर्टिफिकेट हो । क्षेत्रीले लगाउने जनैमा ब्राह्मणले लगाउनेमा भन्दा कम डोरो हुन्छ । ब्राह्मणभन्दा क्षेत्री तलको भन्ने संकेत नै त हो त्यो । तसर्थ, कसैलाई यो कुरा मनपर्छ या मनपर्दैन, त्यो अलग कुरा भयो । तर, जनै उत्पीडनको प्रतीक नै हो । यसो भनिरहँदा जनैबारे बहस गरिरहेकाले ख्याल गर्नुपर्ने एउटा कुरा चाहिँ के छ भने, जसरी डाक्टरले रोगीलाई घृणा नगरेर उपचार गर्छ, त्यसरी नै जनै जस्तो विकृतिको निरन्तरमा फसिरहेकाप्रति पनि घृणा गर्नु हुँदैन । क्रमशः त्यो कुरीतिबाट बाहिर निस्किएर विज्ञानसम्मत जीवन अपनाउन सहयोग गर्नुपर्ने हुन्छ । ल मैले आफ्नो कुरा राखेँ, अब गाली गर्न मन भए गर्दा भयो ।

(लेखक विश्वकर्मा ‘आहुती’ ले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवम् जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव हुन् ।)


प्रतिक्रिया

2 thoughts on “‘जनै’ उत्पीडनको प्रतीक !

  1. तपाईकाे मत अनुसार मत वालिकाे सम्मानका लाग तागाधारीले आफ्नाे संस्कार छाेडजु पर्छ भन्ने तिर संकेत गर्छ तर मेराे विचारमा यदि जनै समस्या हाे भने मतवालि जातीले पनि धारण गरून् त्यसमा कसैले पर्श्न उठाउन पाउदैन तर ब्रहम शुत्र हिन्दु धर्म मान्ने जाे सुकै जातिले पनि धारण गर्न पाउछ तर जनै धारण गर्ने न गर्ने व्यक्तिकाे व्यक्तिगत स्वतन्त्रता हुनु पर्दछ । तर कसैकाे संस्कारलाई छाेड भनेर निर्देशन दिनु उपयुक्त हुदैन जस्ताे लाग्दछ । धर्म धनरण गर्ने कुरा एकदम व्यक्तिगत भएकाेले यस्मा वाह्य हस्तछेप उपयुक्त हुदैन तर कानुनकाे परिधि भित्र भने अनिवार्य रहनुका साथै समय सापेक्ष केही कुराहरुमा सुधार भने गर्नै पर्ने देखिन्छ ।

  2. तिमी नलगाउ लगाउनेले लगाउछन । जंगबहादुरको कानुन अहिले बर्जित छ देश ०७२ को संविधान अनुसार चलेको छ । अाफ्नो के हो मान अरुकोप्रति घृणा नगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *