कैलाली २ : ह्याट्रिक गर्ने एमाले दाउ, कांग्रेस-माओवादी एकअर्कामा खोज्दै भाउ – Nepal Press

कैलाली २ : ह्याट्रिक गर्ने एमाले दाउ, कांग्रेस-माओवादी एकअर्कामा खोज्दै भाउ

कैलाली । हाल ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा २०७४ अघिसम्म ६ वटा क्षेत्र थियो । २०६४ को पहिलो र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यहाँ ६ वटै क्षेत्रमा निर्वाचन भएको थियो । तर, २०४८ सालको निर्वाचनमा भने ३ वटामात्रै क्षेत्र रहेको कैलालीमा २०५१ र २०५६ का निर्वाचनमा ४ निर्वाचन क्षेत्र बनाइएको थियो ।

अहिले मौजुदा ५ वटा क्षेत्रमध्ये कैलाली २ नम्बरमा पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । कांग्रेसपछि एमाले र माओवादीले पनि आआफ्नो साख बचाएका छन् ।

२०४८, २०५१ र २०५६ को निर्वाचन जितेर यस क्षेत्रबाट कांग्रेसले ह्याट्रिक गरेको थियो । यहाँ कांग्रेस पार्टीले मात्रै ह्याट्रिक गरेन, तीनै निर्वाचनमा एकै उम्मेदवार विजयी भए । २०४८ मा नेकपा एमालेका गणेशमान सोवलाई १४ हजार ४०७ मतले पराजित गर्दै कांग्रेसका रामजनम चौधरी विजयी भएका थिए । चौधरी त्यसपछि लगातार २०५१ र २०५६ को निर्वाचनमा पनि विजयी भए । २०४८ मा चौधरीले २२ हजार ७४७ मत पाउँदा सोवले ८ हजार ३४० मत ल्याएका थिए ।

चौधरी २०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनराज मल्ललाई हराए । त्यस वेला उनीहरुको मतान्तर ४ हजार २१६ थियो । चौधरीले १६ हजार ११४ मत ल्याउँदा मल्लले ११ हजार ८९८ मत ल्याएका थिए । एमालेका हनुमान चौधरी ८ हजार २९४ मत ल्याएर तेस्रो भए ।

चौधरीले २०५६ मा २०५१ मा जस्तै राप्रपाका मल्ललाई पराजित गरे । त्यो बेला उनीहरुको मतान्तर झन् बढ्यो । चौधरीले २१ हजार ९७६ मत ल्याउँदा मल्लले १३ हजार २९३ मत पाएका थिए । एमालेका मोहनसिंह राठौर तेस्रो भए । उनले ११ हजार २३८ मत पाएका थिए ।

चौधरीसँग पराजित मल्ल पछि कांग्रेसमै प्रवेश गरेर सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख भए । २०७८ जेठ १२ गते कोरोना संक्रमणबाट उनको निधन भएको थियो ।

लगातार तीन जीत निकालेको कांग्रेसलाई २०६४ मा ठूलो झट्का लाग्यो । कांग्रेसको अपराजित यात्रा तेस्रोमा सीमित भयो । माओवादीका भगत बडुवालले एमालेका मोहनसिंह राठौरलाई १० हजार ६१० मतले पराजित गरे ।

बडुवालले २१ हजार २१८ मत पाउँदा राठौरले १० हजार ६०८ मत पाएका थिए । कांग्रेसका टीकाकुमारी चौधरी ९ हजार ७४७ मत ल्याएर तेस्रो भइन् ।

२०७० सालमा पहिलोपटक यो क्षेत्रमा एमाले विजयी भयो । यो वेला एमालेका राठौरले हारमा ह्याट्रिक हुन दिएनन् । कांग्रेसका कमल शाहलाई ३ हजार ५३६ मतले उछिनेर राठौर विजयी भए । राठौरले ११ हजार ९३२ मत पाउँदा शाहले ८ हजार ३५३६ मत पाएका थिए । २०७० मा माओवादीका भीमबहादुर कडायत क्षेत्री ५ हजार ९५२ मतसहित तेस्रो भए ।

२०७४ पनि यो क्षेत्रमा एमालेले जीत हासिल गर्‍याे । तीन पटकसम्म लगातार टिकट पाएर एकपटक जितेका मोहनसिंह राठौरले यस वेला टिकट पाएनन् । आफू राज्यमन्त्री हुँदा स्वकीय सचिव बनेका झपट रावलले टिकट पाउने भएपछि राठौरले एमाले छाडे । र, एमालेविरुद्धै कांग्रेसबाट उम्मेदवार बने । तर आफ्ना स्वकीय सचिव बनेका रावललाई जित्न सकेनन् ।

वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रावलले राठौरलाई २ हजार ८४४ मतले पराजित गरे । रावलले २५ हजार १५७ मत पाउँदा राठौरले २२ हजार ३१३ मत ल्याएका थिए । राजपाका रामप्रसाद चौधरी ५ हजार ९६७ मत ल्याएर तेस्रो भएका थिए ।

एमालेले ह्याट्रिक गर्ला ?

कैलाली क्षेत्र नम्बर २ मा अहिले नेकपा एमाले ह्याट्रिक गर्ने दाउमा छ । अन्य दलहरू भने एमालेलाई ह्याट्रिक गर्न रोक्ने रणनीतिमा छन् ।

क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका र लम्की चुहा नगरपालिकाको पुरै क्षेत्र पर्दछ । यस क्षेत्रमा मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ बाहेकका सबै वडा र जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ पर्दछन् ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार लम्की चुहाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएका छन् । बर्दगोरियाको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भएका छन् ।

यहाँ पर्ने जानकीका चार वडामध्ये तीन वटामा एमाले विजयी भएको छ । त्यस्तै मोहन्याल गाउँपालिकाको ६ वडामध्ये तीन वटामा कांग्रेस, २ वटामा माओवादी र एक वटामा एमाले विजयी भएको थियो ।

यहाँका वडाध्यक्षले पाएको मतअनुसार नेकपा एमाले अगाडि छ । यहाँ एमालेले १७ हजार ८३४ मत पाएको छ । कांग्रेसले १३ हजार ८२० मतसहित दोस्रो स्थानमा छ । माओवादीले ८ हजार ७२४ मत पाएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीले २ हजार ३०६ मत पाएको छ ।

२०७० सालकाे निर्वाचनमा एमालेबाट निर्वाचित मोहनसिंह राठौर अहिले कांग्रेसमा छन् । उनी कांग्रेसबाट उम्मेदवार बन्ने चर्चा छ । सोहीअनुसार एमालेको ह्याट्रिक गर्ने योजनामा ब्रेक लगाउन कांग्रेस नेतृत्वको गठबन्धन लागिपरेको छ ।

को को छन् दाबेदार ?

कैलाली क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी गरेका छन् । तर, यहाँ माओवादीभन्दा कांग्रेसको सम्भावना बढी रहेको बताइन्छ । ‘सत्ता गठबन्धनअनुसार क्षेत्र नम्बर २ मा हाम्रो दाबी रहन्छ’, माओवादी कैलालीका इन्चार्ज हरि ज्ञवाली अखण्डले भने, ‘यहाँ अहिले हामी जित्ने अवस्थामा छौं ।’

माओवादी केन्द्रबाट यहाँ २०६४ सालमा निर्वाचित भगत बडुवाल उम्मेदवार बन्ने सम्भावना प्रवल छ । कैलालीमा माओवादीले प्रतिनिधिसभाअन्तर्गत क्षेत्र नम्बर २ र एक प्रदेशसभामा दाबी गरेको छ । अघिल्लो पटक २ ‘ख’ मा कांग्रेसका अरुणकुमार चौधरीलाई ८४५ मतले हराउँदै माओवादीका नन्दबहादुर साउद विजयी भएका थिए । अहिले पुनः साउद नै माओवादीको तर्फबाट उम्मेदवार बन्ने चर्चा छ ।

प्रतिनिधिसभातर्फ यहाँ कांग्रेसबाट मोहनसिंह राठौर र कमल शाहले दाबी गरेका छन् । यो क्षेत्र कांग्रेसको भागमा परे राठौर प्रतिनिधिसभातर्फ लडेर शाह क क्षेत्रको प्रदेशसभामा लड्ने सम्भावना बढी छ ।

‘यहाँ कांग्रेस जित्ने सम्भावना बढी छ । तर, कांग्रेसभित्रको गुट अन्त्य गर्नुपर्छ’, कांग्रेस कैलालीका एक पदाधिकारीले भने, ‘गुट अन्त्य भएन भने हामी यहाँ हार्छौं ।’

एमालेबाट भने अघिल्लो पटक निर्वाचित झपट रावलले दाबी गरेका छन् । उनीसँगै कमला ओली र सूर्यबहादुर थापा उम्मेदवार बन्ने लाइनमा छन् । प्रदेशसभातर्फ एमालेबाट डेजी पाण्डेको सम्भावना बढी छ । उनी एमाले कैलालीका सचिव हुन् ।


प्रतिक्रिया

One thought on “कैलाली २ : ह्याट्रिक गर्ने एमाले दाउ, कांग्रेस-माओवादी एकअर्कामा खोज्दै भाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर