भक्तपुरमा गाईजात्रा: पहिले साँढे नै छोडिन्थ्यो – Nepal Press

भक्तपुरमा गाईजात्रा: पहिले साँढे नै छोडिन्थ्यो

भक्तपुर । प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदाको दिन काठमाडौं उपत्यकासँगै नेपालभाषीहरुको बसोबास रहेको ठाउँमा गाईजात्रा पर्व धूमधामका साथ मनाइन्छ । नेपालभाषी समुदायमा यो जात्रा मृत्यु संस्कारसँग सम्बन्धित छ । यस दिन वर्षभरिमा दिवंंगतहरूको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई त्यसलाई आआफ्नो नगर तथा क्षेत्र परिक्रमा गराइन्छ ।

धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिनमात्र यमलोकको ढोका खुला हुने जनश्रुति छ । त्यसैले यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ । त्यही विश्वासको आधारमा नेपालभाषी समुदायले गाईको प्रतीक वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराउँछन् ।

धार्मिक ग्रन्थ तथा किवंदन्तीहरूका अनुसार गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइलाबाट एक अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ ।

यस वर्ष तिथि खप्टिँदा पूर्णिमा र प्रतिपदा एकै दिन परेको छ । जसले गर्दा पूर्णिमा र प्रतिपदा मनाउने सम्बन्धमा सर्वसाधारणमा द्विविधा उत्पन्न भएको छ । उक्त द्विविधालाई मेट्न स्थानीय निकायले आआफ्नो परम्परा र रीतिअनुसार पूर्णिमा र प्रतिपदालाई फरक फरक दिन मनाउन आग्रह गरेका छन् ।

सोहीअनुसार भक्तपुर, मध्यपुर र ललितपुरमा बिहीबार पूर्णिमा र शुक्रबार प्रतिपदा मान्ने त्यहाँका स्थानीय निकायले जनाएका छन् । सोहीअनुसार भक्तपुर, मध्यपुर र ललितपुरमा शुक्रबार गाईजात्रा मनाइने भएको छ ।

भक्तपुरमा पहिले जिउँदै साँढे छाडिन्थ्यो

इतिहासविद् तथा संस्कृतिविद्हरुका अनुसार भक्तपुरमा गाईजात्राको प्रारम्भिक कालमा मृतकको सम्झनामा जिउँदै साँढे छाड्ने गरिन्थ्यो । तर, यसरी छाडिएका साँढेहरुले किसानका बालीनालीमा क्षति पुर्‍याउन थालेपछि यो क्रममा ब्रेक लाग्यो । अनि जिउँदोको साटो माटोको साँढेको प्रतीक बनाएर नगर परिक्रमा गराउने प्रचलन आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् । उनका अनुसार माटोको साँढको प्रतीक फाल्न भक्तपुर निश्चित ठाउँकै व्यवस्था गरिएको थियो । जसलाई अहिले थुसाचा भन्ने गरिन्छ ।

गाईजात्रामा माटोको साँढे बनाई भक्तपुर नगर परिक्रमा गराइँदै ।

‘माटोले बनाएको साँढेको प्रतीक सेलाउनलाई भनेरै भक्तपुरमा थुसाचा भन्ने छुट्टै ठाउँको व्यवस्थासमेत गरिएको थियो’, उनले भने, ‘कालान्तरमा माटोको साँढेको प्रतीक बनाउने कार्य खर्चालु भएपछि बाँसको गाई ताहामचा बनाउने प्रचलन आयो ।’

आर्थिक क्षमता सबल भएकाहरुले अहिले पनि माटोको साँढेको प्रतीक बनाएर नगर परिक्रमा गराउने प्रचलन भने चल्दै आएको छ । अहिले विशेष गरेर प्रजापति समुदायले आफ्नो सीपअनुसार माटोको साँढेको प्रतीक बनाएर नगर परिक्रमा गराउँदै आएका छन् ।

ताहासा बनाउने कार्य पनि खर्चालु भएपछि आकार घटाएर डोकसा बनाउने प्रचलन आएको धौभडेल बताउँछन् ।

ताहा सासँगै डोक सा बोकेर नगर परिक्रमा गराइँदै ।

उनका अनुसार डोकोमा लिंगअनुसारका कपडाले सिंगारेर ताहासामा जस्तै गाईको मुखाकृति, परालले बनाएको एकजोडा सिङ तथा कागजका अन्य सजावटका सामग्री राखेर गाईको प्रतीक बनाइन्छ ।

‘ताहासा बोक्नलाई कम्तीमा चार जना र अगाडि-पछाडि लामो पटुका डोरी बनाएर समाउने थप दुई जना आवश्यक पर्छ’, उनले भने, ‘गाई बोक्ने आफन्त नभएकाले ज्यालामा मजदुर व्यवस्था गर्न सक्दैन । त्यसैले एकजनाले बोक्न मिल्ने डोकसा बनाएर नगर परिक्रमा गराउने प्रचलन पनि विकास भएको पाइन्छ ।’

त्यसैले गाईजात्रामा परिक्रमा गराइने गाईको प्रतीकको आधारमा सम्बन्धित परिवारको आर्थिक अवस्थाको आँकलन गर्न सकिने धौभडेलको भनाइ छ ।

एउटै गाईमा एकै परिवारका दुई सदस्यको गाईको प्रतीकसहित नगर परिक्रमा गराइँदै ।

उनका अनुसार एउटै परिवारका एकभन्दा बढी सदस्यको निधन भए एउटै गाई परिक्रमा गराइन्छ । तर त्यसमा मुखाकृति भने थपिन्छ । ‘एक व्यक्ति एउटा गाई निकाल्ने प्रचलन छ । तर एउटै परिवारको एकभन्दा बढी सदस्य एकै वर्ष बिते र एकैपटक गाई लानुपर्ने भए एउटै गाईको प्रतीक बनाइन्छ’, धौभडेलले थपे, ‘तर उक्त गाईमा मुखाकृति, परालले बनाइएको एकजोडा सिङ, चवर र अन्य सजावटका वस्तु सोही गाईको कम्मरमा गाँसिन्छ ।’

गर्भवती महिला बिते तिनको गाईमा पनि गर्भको बच्चा प्रतीकस्वरुप आमाकै गाईमा अर्को गाईको आकृति गाँसेर नगर परिक्रमा गराइने उनले बताए ।

भक्तपुरको गाईजात्राको अर्को आकर्षण हो लट्ठी जुझाएर नाचिने घिन्ताङघिसी नाच । गाईसँगै घिन्ताङघिसी नाच ल्याउनु भक्तपुरको गाईजात्राको विशेषता हो । घिन्ताङघिसी नाचसँगै विभिन्न देवदेवीका नाच निकाल्ने गरिन्छ । यसरी गाईसँगै निस्किने नाचका सहभागी कलाकार, वाद्यवादक सबैलाई जात्रा सकिएपछि सम्बन्धित परिवारले भोज खुवाउनुपर्छ ।

भक्तपुरको गाईजात्राअन्तर्गत शुक्रबार माक प्याखँमा सहभागी कलाकार ।

भक्तपुरमा सर्वसाधारणको तर्फबाट ताहासा निकाल्ने क्रम सकिएपछि भैरव र भद्रकालीको प्रतीकस्वरुप छुट्टै र विशेष गाईजात्रा निकालिन्छ । भैरवको गाई परालले बनाएको अजंगको हुन्छ । भद्रकालीको भने सानो र कपडाले बेरिएको हुन्छ । भैरव र भद्रकालीको गाई भक्तपुर नगरपालिका– ४ लैकोबाट निकालिन्छ । ती गाईसँगै भक्तपुर नपा ४ र ५ क्षेत्रका मृतकहरुको गाई पनि निकालिन्छ ।

मध्यपुर थिमीमा नयाँ घर बनाएपछि निकालिन्छ गाई

काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका गाईजात्रा फरकफरक छन् । नामले एउटै गाईजात्रा भए पनि स्थानअनुसार फरक फरक छन् । काठमाडौंकै दरबार क्षेत्र, कीर्तिपुर, टोखामा निकालिने गाईजात्रामा भिन्नता छ ।

त्यस्तै ललितपुरको पाटन, लुभु, थैबलगायतको गाईजात्रा पनि फरकफरक छन् ।

भक्तपुरकै भक्तपुर र मध्यपुर थिमी नगरमा निकालिने गाईजात्रामा समेत भिन्नता छ । भक्तपुरमा मृतकको सम्मानमा गाईजात्रा निकालिन्छ । तर, मध्यपुर थिमीमा मर्मतसम्भार तथा नयाँ बनाइएको घरबाट गाईजात्रा निकालिन्छ ।

स्थानीयका अनुसार पहिले घर बनाउनु त्यति सहज काम होइन । त्यसैले घर बनाउने क्रममा कोही न कोहीको ज्यान जाने हुन्थ्यो । यसरी घर बनाउँदा मरेकाहरुको सम्मानस्वरुप मध्यपुर थिमीमा नयाँ घर बनाउने परिवारले गाईजात्रा निकाल्ने प्रचलन अहिलेसम्म चल्दै आएको छ ।

पन्ध्रौं शताब्दीदेखि गाईजात्रा

काठमाडौं उपत्यकामा लिच्छविकालअघि नै गाईजात्रा चलेको पाइन्छ । जसलाई काठमाडौंमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगतप्रकाश मल्लले विस्तृत गरेको इतिहासविद् तथा संस्कृतिविद्हरु बताउँछन् ।

इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले गोपालराज वंशावलीमा पन्ध्रौं शताब्दीतिरै नेपालमा गाईजात्रा चलनचल्तीमा आइसकेको उल्लेख गरिएको जानकारी दिए ।

‘लिच्छविकालअघि नै काठमाडौं उपत्यकाका नेपालभाषी समुदायले एउटा पर्वको रुपमा गाईजात्रा मनाइसकेका थिए’, उनले भने, ‘मल्ल राजाहरूले यसलाई परिमार्जन गरी विस्तृतमात्रै गरेका थिए ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.