नेपाली फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाई नियुक्त – Nepal Press

नेपाली फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाई नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ–एन्फाले राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाईलाई नियुक्त गरेको छ ।

एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले हुमागाईलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको हो । प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा रहेकाले नेपालले खेल्ने आसन्न मैत्रीपूर्ण खेलका लागि हुमागाईलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको बताइएको छ ।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । अल्मुताइरी तत्काल आउन सक्ने सम्भावना नरहेकाले विकल्प खोजिएको एन्फा स्रोतले जनाएको छ ।

यसअघि अल्मुताइरीले नै बंगलादेशसँगको खेलको तयारीका लागि २६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउन एन्फालाई आग्रह गरेका थिए ।

तर त्यसपछि खेलाडी–अल्मुताइरी द्वन्द्वमा प्रशिक्षकले जवाफ नपठाएको विषय चर्चामा आउपछि प्रशिक्षकसँग एन्फाको दुरी बढेको छ । अल्मुताइरीले आफुलाई प्रश्न नै नसोधी मिडियामा एन्फाले हल्ला गरेको दाबी गर्दै आवश्यक परे फिफामा पनि पुग्ने बताएका छन् । एन्फाले भर्खरै मात्र प्रश्न सोधेकाले त्यसबारे समय लिएर उत्तर पठाउने अल्मुताइरीको भनाई छ ।

कार्यवाहक जिम्मेवारी पाएका हुमागाई थ्री स्टार क्लबका पूर्वप्रशिक्षक हुन् । उनी लामो समयदेखि अमेरिका बस्दै आएका छन् । सामाजिक सञ्जालमा उनले आवश्यक परे नेपालको जिम्मेवारी लिन तयार रहेको लेख्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *