फोहोर उठाउन नसकेको भन्दै बालेन्द्रविरुद्ध खनिए वडाध्यक्षहरु, सुनिताले के भनिन् ? – Nepal Press
महानगर बैठक

फोहोर उठाउन नसकेको भन्दै बालेन्द्रविरुद्ध खनिए वडाध्यक्षहरु, सुनिताले के भनिन् ?

काठमाडौं । काठमाडौंभित्र थुप्रिएको फोहोरलाई लिएर महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको छ । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत भए । फोहोरको समस्याको सबै दोष उनीहरुले साहमाथि थोपर्ने प्रयास गरेका थिए ।

आजको बैठकको सुरुवातमा साहले छलफलका लागि १३ वटा प्रस्ताव अघि सारेका थिए । तर, वडाध्यक्षहरुले भने फोहोर व्यवस्थापनबाहेक अरु विषयमा छलफल नै नगर्ने अडान लिए । उनीहरुले भोलिदेखि जात्रा सुरु हुने भएकाले फोहोरको समस्या भयावह बनेको बताए । यस क्रममा केही वडाध्यक्षले मेयर साहको आलोचना गरेका थिए ।

त्यसपछि मेयर साहले फोहोर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे व्रिफिङ गरे । तीन दिनअघिसम्म दैनिक २०० देखि ३०० टिपसम्म फोहोर गइरहेको तर, अस्ति राति गाडी तोडफोड भएपछि फोहोर फाल्ने क्रम रोकिएको बताए । यस विषयमा हिजो सहरी विकास मन्त्रालयमा बैठक बसेको भन्दै उनले भोलिबाट फोहोर उठ्नेमा आश्वस्त तुल्याउन खोजे । तर, वडाध्यक्षहरुले चित्त बुझाएनन् ।

एक वडाध्यक्षले भोलिबाट दुई दिन काठमाडौंमा जात्रा हुने भएकाले रातारात भए पनि सडकमा थुप्रिएको फोहोर उठाउनुपर्ने बताए ।

उनले भने, ‘हामी पनि खट्नु परे खटौंला । तर, जसरी पनि गाइजात्रा हुने कोर एरियाको फोहोर क्लियर गर्नुपर्यो । होइन भने जनताले हामीलाई गाली गर्छन् ।’

काठमाडौं–७ का वडाध्यक्ष विमल होडा मेयर साहप्रति आक्रोशित शैलीमा पेश भए । उनले फोहोर व्यवस्थापनका लागि बनेको कार्यदलको बैठक कतिपटक बस्यो भन्ने जानकारी दिन मेयर साहसँग माग गरे ।

उनको प्रस्तुति यस्तो थियो ।
‘सुरुमा त प्रमुख कार्यकारी अधिकृतले गरेको परिपत्र नै गाइजात्रा भयो । सभागृहमा वैठक भनेर परिपत्र गर्ने, अनि यहाँ मिटिङ बोलाउने ? बैठकको यत्रो एजेन्डा बनाउन सक्नुहुन्छ, फोहोरको एजेन्डा कहाँ गयो ? मेयरज्यूको अध्यक्षमा रहेको कार्यदल कहाँ छ ? कतिवटा वैठक गर्नुभयो ? के प्रगति भयो जानकारी दिनु पर्दैन ? यस्तो गलत कुरा नगर्नुस मेयरससा’ब । हामी पनि आफ्नो वडाका मेयर हौं । तपाईंले हामीलाई जानकारी दिनु पर्दैन ?’

उनले फोहोर व्यवस्थापनभन्दा अर्को एजेन्डामा प्रवेश नै नगर्ने अडान लिए । होडाले थपे, ‘फोहोर सेग्रिगेसन गर्न तपाईंले सूचना दिनुभएको छ । यस्तो विधिको शासन भयो त ? सेग्रिगेसन गरेर कहाँ लैजाने ? सबै सिसडोल लाने ? के हो नीति ? ३ करोड सहुलियत दिने भनेको छ । तपाईंले कहिले कहाँ दिने जानकारी चाहियो । यत्रो १२ वटा विभाग गठन गरेको के अर्थ भयो ? वैठक बसेको भए प्रगति विवरण आउनुरपर्यो । गाइजात्रा अगाडि गाइजात्रा नगरौं । फोहोर कार्यदलको के प्रगति छ आज मलाई जवाफ चाहियो ।’

त्यसपछि उपमेयर सुनिता डंगोलले मुख खोलिन् । उनले वडाध्यक्ष र मेयरको बीचमा बसेर मध्यमार्गी विचार राखिन् ।

उनको भनाइ यस्तो थियो, ‘भोलिबाट जात्रा पर्व हुँदैछ । त्यसैले अल्पकालीनरुपमा समाधान निकाल्न नसक्ने हो भने भोलि त्यसको भागिदारी कामनपा हुनुपर्छ । हामीले पहिलो प्राथमिकतामा फोहोरलाई राखेका हौं । तर घरीघरी समस्या दोहोरिएको छ । प्रमुखज्यूलाई म आग्रह गर्न चाहन्छु, विशेषगरी भित्री सहरमा थुपिएको फोहोरलाई भोलि र पर्सी अल्पकालीन व्यवस्थापन गरौं । भित्री सहरहरुमा फोहोर उठाउन सम्बन्धित विभागलाई नै निर्देशन दिनुभयो भने राम्रो हुन्छ । फोहोर व्यवस्थापनका लागि जुन समिति बनाइएको छ… सबै टेबल टकमा मात्रै समाधान आउँछ भन्ने छैन । यो बैठकपछि फोहोर व्यवस्थापन समिति बसेर अहिलेका लागि अल्पकालीन सलुसन के हुन सक्छ भन्ने विचार विमर्श भयो भने राम्रो हुन्छ ।’

डंगोलको प्रस्तावमा एक वडाध्यक्षले असहमति जनाए । उनले सबै छलफल यही बैठकमा गर्नुपर्ने अडान लिए ।

उनले भने, ‘समिति मात्रै बसेर हुँदैन । यही ओपन छलफल गरौं । कुनै हालतमा यो कोर एरियाको फोहोर आज रातभरिमा उठाउनुपर्छ । नत्र हाम्रो इज्जत जान्छ । बरु रातभरि बसौं । हामी मेयरलाई साथ दिन तयार छों । तर आज रातभरीमा फोहोर उठाउनैपर्छ ।’

अर्का वडाध्यक्ष भने उत्तेजितरुपमा प्रस्तुत भए । उनले टुँडीखेलमा काठमाडौंको फोहोर खन्याउनुपर्ने र त्यसका लागि आफू सेनाको गोली खानसमेत तयार रहेको बताए ।

अन्तिममा मेयर साहले फोहोर व्यवस्थापन समितिमै थप छलफल हुने गरी वैठक टुंग्याए ।


प्रतिक्रिया

3 thoughts on “फोहोर उठाउन नसकेको भन्दै बालेन्द्रविरुद्ध खनिए वडाध्यक्षहरु, सुनिताले के भनिन् ?

  1. त्यत्रो राजधानीको फोहर ब्यवस्थापन गाडी तोडफोड गरेर समाधान खोज्नेहरुलाइ उचित कारवाही हुनु पर्छ। अन्यथा अराजकहरुको राज्य हुने छ।

  2. घर, परिवार र समुदायमा विभिन्न चरणमा फ‍ोहर छुट्याउने, सेग्रेगेसन र व्यवस्थापन गर्नु पर्छ र जनप्रतिनिधिले यसमा अगुवाइ अग्रसर गर्नु पर्छ ।

  3. राजनीति दलहरुले स्वतन्त्रलाई फेल गराउन विभिन्न वाहान बनाई काम गर्नै नदिने रणनीति लिएका छन् । शासनको नाममा ब्रमलुट गर्नेहरुले विभिन्न षड्यन्त्र रच्दै काठमाडौलाई असफल बनाउन शक्ति लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर