देउवाका एसम्यानहरु , को कति सुरक्षित ? – Nepal Press

देउवाका एसम्यानहरु , को कति सुरक्षित ?

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा केन्द्रीय सभापतिको विश्वासपात्र हुनु चानचुने कुरा होइन । सभापतिसँग निकटस्थ रहेर काम गरेका, सभापतिलाई अप्ठ्यारो बेलामा सघाएका र सभापतिले भनेको मान्नेहरु राजनीतिक अवसरबाट प्रायः बञ्चित हुनुपर्दैन । यदाकदा सभापतिको ‘एसम्यान’ भएका कारण कतिपय अवस्थामा आफूले चाहेको लाभका लागि ‘धैर्यधारण’ गर्नुपर्ने अवस्था नआउने भने होइन ।

कांग्रेसको राजनीतिमा केन्द्रीय सभापतिले सीमित नेताहरुमार्फत धारणा बनाउने र काम गर्ने प्रचलन नौलो होइन । गिरिजाप्रसाद कोइरालादेखि सुशिल कोइरालसम्मले ‘एसम्यान’हरुकै आडमा संगठनमा आफ्नो प्रभाव र दबाब कायम राख्ने गरेका थिए । वर्तमान सभापति शेरबहादुर देउवाले पनि यो राजनीतिक प्रचलनलाई निरन्तता दिएकै छन् ।

केन्द्रीय समितिमा ‘एसम्यान’हरुको घुइँचो

कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठकबाट सभापति देउवा निकै सन्तुष्ट छन् । विगतका बैठकमा आफ्ना मात्रै आलोचना सुन्नु परेर हैरान देउवा अघिल्लो केन्द्रीय समितिमा आफ्नो बचाउमा लागेका केन्द्रीय सदस्यहरुसँग प्रसन्न छन् ।

निकटस्थहरुसँग देउवाले केन्द्रीय समितिमा आफ्नो बहुमत रहेको बल्ल महसुस भएको बताएका थिए । ‘विगतमा सभापतिको आलोचना धेरै गरियो । अस्तिको बैठकदेखि सभापतिमाथि लागेका आरोपहरुको प्रतिवाद पनि सुरु भएको छ । जिम्मेवार पदमा बसेर सभापतिलाई असहयोग गर्नेविरुद्ध हामीले आवाज उठाएकोमा सभापतिजी सन्तुष्ट हुनुहुन्छ’, देउवा निकट एक केन्द्रीय सदस्यले भने ।

केन्द्रीय समिति बैठकमा देउवा निकट अधिकांश केन्द्रीय सदस्यले चुनावी तालमेल र सरकारको बचाउमा बोलेका थिए । तीमध्ये केहीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेर सभापति रिझाउने प्रयत्न पनि गरे ।

‘चुनाव आउँदै गरेकोले सभापतिको नोटिसमा पर्न अस्तिको केन्द्रीय समितिमा केही साथीहरुले चर्का कुरा गर्नुभयो । एसम्यानहरुको धर्म नै हो यो’, संस्थापन इतरपक्षका एक केन्द्रीय सदस्यले भने । कांग्रेसको केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढी पकड सभापति देउवाको छ । ‘सभापतिको एक इशारामा प्रतिवद्ध भएर फिल्डमा उत्रने १ सयजति हामी केन्द्रीय समितिमै छौं’, देउवा निकट केन्द्रीय सदस्यको दाबी छ ।

यी प्रभावशाली ‘एसम्यान’हरु

राजनीतिक रुपमा नेतृत्वका इमानदार सहयोगीहरु नै ‘एसम्यान’ हुन् । कांग्रेसमा सभापति देउवाको एसम्यानका रुपमा देखा परेका नेताहरुको संख्या झण्डै १ दर्जन छन् । जसले पछिल्लो दशकयता देउवाको रक्षाकवचकै रुपमा आफूलाई उभ्याएका छन् । तीमध्ये उपसभापति पूर्णबहादुर खड्का पहिलो नम्बरमा पर्छन् ।

आफूलाई कृष्णप्रसाद भट्टराईको चेलो भन्न रुचाउने उनी खुमबहादुर खड्का हुँदै अहिले देउवाको एसम्यान छन् । देउवाका राजनीतिक कदमहरुमा प्रतिवद्ध साथ दिएकै कारण उनी देउवाको सिफारिसमा सहमहामन्त्री र महामन्त्री मनोनित भएका थिए । १४ औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित खड्काले पार्टीका आन्तरिकदेखि राजकाजका मामिलासमेतमा देउवालाई सघाउँदै आएका छन् । देउवाको राजनीतिक उत्तराधिकारीका रुपमा चिनिन खोजेका खड्कालाई देउवा स्वयंले भने ‘प्रष्ट संकेत’ दिन बाँकी नै छ ।

देउवाका अर्का एसम्यान हुन्, गोपालमान श्रेष्ठ । पछिल्लो ३ दशकको राजनीतिमा श्रेष्ठले देउवालाई ‘हुन्न’ भनेको रेकर्ड छैन । पार्टी विभाजनका बेला नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिसमेत बनेका श्रेष्ठ कांग्रेसमा देउवापछिको नेता आफू नै भएको दावी गर्छन् । २०७४ मा देउवाको क्याबिनेटमा श्रेष्ठ उपप्रधानमन्त्री भएका थिए । १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरे पनि श्रेष्ठले निशर्त देउवालाई समर्थन जनाएका थिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई सभापति देउवासँग सबैभन्दा प्रतिवद्ध नेताका रुपमा चिनिन्छ । सुशिल कोइरालाको सभापतित्वकालको एक बैठकमा देउवाको असहमति दर्ज गराउन महतले माइन्युटसमेत खोसेका थिए ।

देउवाको लागि आफू आलोचित हुनसमेत तयार रहेका महत १४ औं महाधिवेशनमा देउवाको महामन्त्रीका रुपमा प्रतिस्पर्धा गरेका थिए । टिमभित्रकै ‘अन्तर्घात’ का कारण महामन्त्री बन्न नसकेका महतलाई लगत्तै देउवाले प्रवक्ताको जिम्मेवारी दिएका छन् । पदीय भूमिकाले गर्दा पनि सभापति देउवाको ‘एसम्यान’का रुपमा महतले आफू भूमिका निर्वाह गरिरहेकै छन् ।

गृहमन्त्री बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दुवै देउवाका ‘एसम्यान’ हुन् । देउवाप्रति उनीहरुको प्रतिवद्धता उँचो छ । गत महाधिवेशनमा महामन्त्रीको दावेदार भएपनि देउवालाई सभापति बनाउन उनीहरुले ‘त्याग’ गरे । त्यसो त देउवा सत्तामा हुँदा अधिकतम लाभ पाउनेमा खाण र कार्की पर्छन् । देउवाको अघिल्लो कार्यकालमा खाण रक्षामन्त्री र कार्की अर्थमन्त्री थिए ।

देउवाका एसम्यानका रुपमा सुदुरपश्चिमको कञ्चनपुरलाई प्रतिनिधित्व गर्ने नेताहरु एनपी साउद र रमेश लेखकसमेत छन् । देउवालाई दशकौंदेखि सघाउँदै आएका दुवै नेताहरुले गत महाधिवेशनमा पदाधिकारी बन्ने चाहना दबाएरै भएपनि देउवालाई सहयोग गरेका थिए ।

निर्वाचनमा को–को सुरक्षित ?

देउवाका मुख्य राजनीतिक सहयोगीहरुमध्ये सञ्चारमन्त्री कार्की मात्रै प्रत्यक्ष निर्वाचित हुन् । सुनसरी ४ बाट प्रतिनिधिसभामा विजयी उनी पुनः सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन् । गठबन्धनको सीट बाँडफाँट कार्यदलमा रहेका कार्की अबको संसदीय निर्वाचनमा टिकट पाउने र जित्ने सम्भावना दुवै कारणले ‘सेफ जोन’मा रहेका नेता हुन् ।

उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत १ हो । अघिल्लो संसदीय निर्वाचनमा उनी नेकपा एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए । गठबन्धनले चुनावी तालमेल गर्दा खड्का पुनः सोही क्षेत्रमा उम्मेदवार बन्ने सम्भावना छ । उनको क्षेत्रमा पर्ने गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका, भेरीगंगा नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १५ र १६ पर्छन् ।

पाँचमध्ये कांग्रेसले २ र एमालेले ३ स्थानीय तहमा जितेका छन् भने दुइ वटा वडा पर्ने वीरेन्द्रनगर नगरपालिका पनि कांग्रेसले गुमाएको छ । खड्का र पूर्वमन्त्री एवं कांग्रेस नेता हृदयराम थानीको आन्तरिक टकरावका कारण पनि सुर्खेत १ मा खड्काले कसरत बढाउनुपर्ने देखिन्छ । जानकारहरु सुर्खेतको दुवै क्षेत्र कांग्रेसले पाउँदा मात्रै गठबन्धनले जित्ने आधार बलियो बन्ने बताउँछन् ।

पूर्व उपसभापति एवं देउवाका विश्वासपात्र गोपालमान श्रेष्ठ अघिल्लो संसदीय निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार पदमा अर्यालसँग पराजित भए । यसपटक पनि उनी स्याङ्जाबाटै उम्मेदवार बन्न चाहन्छन् । यद्यपि विगतमा स्वार्थ अनुकुल क्षेत्र रोज्ने र छाड्ने गरेका श्रेष्ठलाई सहज भने छैन । स्याङ्जा कांग्रेसका अधिकांश नेताहरु श्रेष्ठ समानुपातिकमा बसे सहज हुने बताउँछन् । स्याङ्जाबाटै उपसभापति धनराज गुरुङ प्रत्यक्ष निर्वाचन लड्ने सम्भावना बढी भएकोले पनि देउवाले आफ्ना एसम्यान श्रेष्ठलाई यसपटक ‘धैर्य’ गराउन सक्छन् ।

देउवाका अर्का एसम्यान कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौं ५ वा नुवाकोट १ बाट प्रत्यक्ष निर्वाचन लड्ने चर्चा छ । अघिल्लो निर्वाचनमा उनी काठमाडौं ५ मा एमाले नेता ईश्वर पोखरेलसँग करिब १० हजार मतान्तरले पराजित भएका थिए । नुवाकोट १ बाट चुनाव लड्ने चाहना व्यक्त गरेपनि महतका लागि सहज भने छैन । नुवाकोट १ मा विगतमा माओवादी केन्द्रले जितेका कारण माओवादी सो क्षेत्र छाड्न चाहदैन । नुवाकोट २ मा कांग्रेस नेता अर्जुननरसिंह केसीको दावी यथावत छ । नुवाकोट १ मै केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामाको दाबी पनि रहनेछ ।

गृहमन्त्री बालकृष्ण खाण यसपटक समानुपातिकतर्फबाट सांसद भएका हुन् । प्रत्यक्ष निर्वाचन लड्नुपरे उनको निर्वाचन क्षेत्र रुपन्देही ३ हो । जहाँ अघिल्लोपटक एमाले उम्मेदवार घनश्याम भूसाल ५ हजार बढीको मतान्तरले विजयी भएका थिए । खाण समानुपातिकमा बसेपछि रुपन्देही ३ मा कांग्रेसले तत्कालीन राप्रपा प्रजातान्त्रिकका दीपक बोहरालाई सघाएको थियो । यसपटक स्थानीय निर्वाचनमा प्राप्त परिणामले कांग्रेस उत्साहित छ । बहालवाल गृहमन्त्रीसमेत भएका कारण प्रत्यक्ष चुनाव लड्ने खाणको चाहनालाई सभापति देउवाले सहयोग नै गर्ने सम्भावना देखिन्छ ।

सुदुरपश्चिमको कञ्चनपुरका नेताद्वय एनपी साउद र रमेश लेखक दुवै सभापति देउवाका एसम्यान हुन् । क्षेत्र नम्बर २ बाट साउद र ३ बाट लेखक नै प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । चुनावी तालमेलमा क्षेत्र नम्बर १ माओवादीलाई दिएर २ र ३ लिने कांग्रेसको तयारी छ । यद्यपि डडेल्धुरापछि सबैभन्दा सुरक्षित मानिएको कञ्चनपुर ३ मै देउवा पत्नी आरजु राणाको पनि नजर परेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर