भारतबाट दुई पटक मूल्य घटेर आउँदासम्म किन उस्तै पेट्रोलियम पदार्थको भाउ ? – Nepal Press

भारतबाट दुई पटक मूल्य घटेर आउँदासम्म किन उस्तै पेट्रोलियम पदार्थको भाउ ?

काठमाडौं । उद्योगमन्त्री दिलेन्द्र बडूले केही समयअघि परल मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने अवस्था रहेको बताएका थिए । तर, अहिले भारतबाट २ पटक मूल्य घटेर आउँदा पनि नेपालमा पेट्रोलियम पदार्थको भाउ घटेको छैन ।

जुलाई १५ तारिखमा भारतीय आयल कर्पोरेसन (आईओसीले) पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १६.५६ रुपैयाँ मूल्य घटाएको थियो । तर निगमले घाटा धेरै भएको भन्दै पुरानै मूल्य कायम गरेको थियो ।

अगस्ट १ तारिखमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो । सो समयमा आईओसीले पेट्रोलमा प्रतिलिटर १६.८० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२.४५ भाउ घटेर आएको छ । तर निगमले भने १६ र १२ रुपैयाँ मूल्य घट्दा पनि मूल्य घटाएन ।

सरकारले सुरूमा १० रुपैयाँ पूर्वाधार कर घटाउने निर्णय गरेको थियो । त्यसपछि डिजेलमा प्रतिलिटर २९ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ कर घटाउने निर्णयसमेत भएको थियो । तर, त्यसको कार्यान्वयन भएन । निगमले आफ्नो स्वामित्वको जग्गा र भवन धितो राखेर घाटा पूर्तिका लागि भन्दै ऋण लिएको छ ।

स्रोतका अनुसार निगमलाई कर र नयाँ मूल्य अनुसार नघटाई भ्रम सिर्जना गरेर निजी क्षत्रलाई दिन सरकार नै लागेको आरोप छ । स्थानीय चुनावसम्म मूल्य नबढाइए पनि चुनावलगत्तै इतिहासमै पहिलोपटक धेरै परिमाणमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २१ र २७ रूपैयाँ बढाइएको थियो ।

पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल १९२ रुपैयाँ पुगेको थियो । तर, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको सर्वत्र विरोध भएपछि सरकारले कर घटाउने निर्णय गर्‍यो । त्यसपछि पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ घटाएको थियो । मूल्य घटाएपछि पेट्रोल र डिजेल क्रमशः १७९ र १६३ रुपैयाँ मूल्य तोकिएको हो ।

निगम स्रोतका अनुसार अब पनि संघीय र प्रदेशको निर्वाचनभन्दा पहिले मूल्य घटाउने कुनै तयारी छैन । तर, अहिले बिक्री गरिरहेको मूल्यभन्दा पनि महंगो भएर नयाँ मूल्य आयो भने सरकारले पुनः मूल्य वृद्धि गर्ने अवस्था रहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँसम्म घटबढ हुँदा निगमले निर्णय गर्ने हो । भने २ रुपैयाँभन्दा धेरै मूल्य तलमाथि गर्ने निर्णय सञ्चालक समितिले गर्ने हो । सञ्चालक समितिमा आपूर्तिमन्त्री नभए पनि उनको हस्तक्षेप हुने गरेको बताइन्छ ।

सरकारले अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपालमा पनि मूल्य समायोजन गर्ने भनेपनि सरकारले आफूले चाहेको बेला मात्रै पेट्रोलियम पदार्थको मूल्य तलमाथि गर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *