चलचित्र विकास बोर्डमा भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै रिट – Nepal Press

चलचित्र विकास बोर्डमा भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै रिट

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । बोर्ड अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका ५ जनाले आज सर्वोच्चमा संयुक्त रिट निवेदन दिएका हुन् ।

गत श्रावण ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । बोर्ड अध्यक्षका लागि केसीसहित अरुणकुमार प्रधान दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्की सर्ट लिस्टमा परेका थिए । उनीहरुमध्ये तीन जनाको नाम छनोट गरी सञ्चार मन्त्रालयले मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा रहेका केसीलाई मन्त्रीपरिषदले अध्यक्ष नियुक्त गरेको हो ।

केसीलाई नियुक्त गर्दा नाजायज तरिकाले मापदण्ड संसोधन गरिएको आरोप आज रिट दायरहरुले लगाएका छन् । निवेदकमध्येका एक नरेश पौड्यालले कुनै पनि सरकारी निकायमा नियुक्ति गर्न स्नातक पास गरेको हुनुपर्ने नियम सच्याएर केसीका लागि बाटो खोलिएको बताए ।

नेपाल प्रेससँग उनले भने, ‘अरु सबैतिर स्नातक चाहिने, बोर्डमा चाहिँ प्लसटु पास भएर हुन्छ ?’

आफूहरुले यो नियुक्ति प्रक्रिया नै खारेज गर्न माग गरेको उनको भनाइ छ ।

रिट निवेदन हाल्नेहरुमा पौड्यालसहित अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ रहेका छन् । रिटमाथि पहिलो सुनवाइ ३० साउनमा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर