भक्तपुरका किसानले भ्यागुतालाई खुवाए ‘जा’ – Nepal Press

भक्तपुरका किसानले भ्यागुतालाई खुवाए ‘जा’

भक्तपुर । भक्तपुरका किसानले बिहीबार भ्यागुतालाई जा (भात) खुवाएर क्वाःती पुन्ही (जनै पूर्णिमा) मनाएका छन् ।

असारमा रोपाइँ गर्न पानी पार्न तथा रोपाइँपछि धानमा लाग्ने शत्रु जीव खाएर भ्यागुताले गरेको सहयोगको कदरस्वरुप यहाँका किसानहरुले प्रत्येक वर्ष जनै पूर्णिमाको दिन ‘ब्यां जा नकेगु’ पर्व मनाउँदै आएका छन् ।

यस वर्ष पूर्णिमा र प्रतिपदा तिथि खप्टिएका छन् । जसले गर्दा सरकारी पात्रोले शुक्रबार पूर्णिमा र प्रतिपदा उल्लेख गरे पनि भक्तपुरका किसानले आज बिहीबार पूर्णिमा मानेर भ्यागुतालाई भात खुवाएका हुन् ।

किसानहरुले घरमै तयार पारिएको विशेष परिकारको ब्यां जा आआफ्नो खेत र बारीमा चढाउने गर्छन् । भिजाएको नौथरि गेडागुडी, भात वा चिउराको गोजा, फलफूल, मूलाको चानासँगै फूल-अक्षता राखेर ब्यां जा तयार गरिन्छ । यसरी तयार भएको परिकार तरुलको पातमा राखेर भ्यागुताको नाउँमा आआफ्नो खेतबारीमा चढाउने कार्यलाई ब्यां जा नकेगु भनिन्छ ।

ब्यां जा नकेजु कार्य सकेपछि आजकै दिन नौथरि गेडागुडीको क्वाः ती खाने चलन छ । नेपालभाषी समुदायमा यस दिन विवाह भएका छोरीचेलीलाई समेत बोलाएर क्वाःती खाने र खुवाउने चलनसमेत रहेको छ । यसैले आजको पूर्णिमामा नेपालभाषी समुदाय क्वाःती पुन्ही पनि मनाउँछ । पूर्णिमाको भोलिपल्टदेखि नौ दिनसम्म गाईजात्रा पर्व मनाइन्छ । नौदिनसम्म गाईजात्रा मनाइने भएकाले यस दिनलाई नेपालभाषामा गुन्ही पुन्ही भनिन्छ ।

संस्कृतिविद् डा. वीरेन्द्र कायस्थले किसानको सहयोगीको रुपमा रहेकाले भ्यागुतालाई सम्मानका साथ भोजको रुपमा भात खुवाउने परम्परा चलिआएको बताए । आफ्नो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एक पटक भोज खुवाउने परम्परा अहिले पनि चलनचल्तीमा रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर