मकवानपुर : संघमा इन्द्र र विरोधको चर्चा, माओवादीलाई प्रदेशमा मनाउने प्रयास – Nepal Press
निर्वाचन-२०७९

मकवानपुर : संघमा इन्द्र र विरोधको चर्चा, माओवादीलाई प्रदेशमा मनाउने प्रयास

हेटौँडा । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीसँगै मकवानपुरमा सम्भावित उम्मेदवारको चर्चा सुरू भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल क्षेत्र नम्बर १ मा नेकपा एमालेका कृष्णप्रसाद दाहाल र २ मा नेकपा एसका विरोध खतिवडा सांसद छन् ।

सीट बाँडफाँट हुँदा नेपाली कांग्रेसका वागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ र समाजवादीको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री समेत रहेका विरोध खतिवडाले टिकट पाउने चर्चा गठबन्धनभित्र छ । बानियाँको १ र खतिवडाको हालकै क्षेत्रमा दाबी रहेको एक नेता बताउँछन् । यसो हुँदा नेकपा माओवादी केन्द्रलाई भने प्रदेशसभाको सीट छुट्याइने गरी छलफल भइरहेको छ ।

कांग्रेसले बानियाँलाई प्रत्यक्ष उठाएर सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई समानुपातिक सूचीमा राख्ने तयारी भैरहेको कांग्रेसका एक नेताले बताए । यसो गर्दा प्रदेशतर्फ माओवादी र कांग्रेसले २-२ सीट लिने गरी भागबण्डा हुनेछ । केन्द्रको टिकट नपाउँदा माओवादीले प्रदेशको ३ सीट दाबी गरेको छ । तर, लेनादेना गर्दा २-२ सीटमा कुरा मिल्नुपर्ने कांग्रेसका एक नेता बताउँछन् ।

गत स्थानीय तहको निर्वाचनमा मकवानपुरमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो भएका छन् । त्यसैलाई टेकेर कांग्रेसले एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभामा दाबी गरेको हो । प्रतिनिसधसभामा बानियाँ र खतिवडालाई टिकट दिएर सन्तुलन मिलाउने प्रयासमा सत्ता गठबन्धन लागेको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमै १ बाट उम्मेदवार बन्ने तयारी गरेका बानियाँ अन्तिम क्षणमा कमल थापालाई आफ्नो क्षेत्र सुम्पेर क्षेत्र नम्बर २ को ‘क’ बाट लडेका थिए ।

क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा माओवादीका प्रेमबहादुर पुलामीको सम्भावना छ । ‘ख’ मा कांग्रेसबाट आनन्दराम पराजुलीको चर्चा छ । स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदका दाबेदार रहेका पराजुली सत्ता गठवन्धनको भागवण्डाको कारण मेयर बन्न पाएका थिएनन् । त्यसकारण पनि उनी यो पटक प्रदेशसभाका स्वत: दाबेदार बताइएकव छ ।

समाजवादीका नेता खतिवडा उम्मेद्वार बन्दा २ को ‘क’ मा नेपाली कांग्रेसले दाबी गर्ने देखिन्छ भने ‘ख’मा माओवादी केन्द्रका नेता प्रदेशसभा सदस्यका उम्मेद्वार बन्नेछन् ।

कांग्रेसले ‘क’ बाट कसलाई अघि सार्ने भनेर चर्चा नगरेपनि हाल कांग्रेस मकवानपुरका सभापति रहेका बुद्ध लामा उम्मेद्वार बन्ने चर्चा चलेको छ भने ख बाट माओवादी नेता एवं प्रदेश सामजिक विकास मन्त्री कुमारी मोक्तानको चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर