कतारको अनुभवले बुटवलमा च्याउकाे बहार ल्याएका ऋषव – Nepal Press

कतारको अनुभवले बुटवलमा च्याउकाे बहार ल्याएका ऋषव

रुपन्देही । ६ वर्ष कतारमा रहेको मलेसियन कम्पनीमा च्याउ खेतीबारे अनुभव संगालेर ऋषव पोखरेल नेपाल आए । उनले नेपालमै व्यवसायिक च्याउ खेती अघि बढाउने योजना बनाए । योजनाअनुरुप कतारको अनुभवलाई पोखरेलले आयआर्जनको बाटोमात्रै बनाएनन्, मन मिल्ने साथीहरु जुटाएर नमुना सामूहिक खेती गरेर देखाएका छन् ।

कतारबाट नेपाल आएपछि सुरु गरिएको च्याउ खेतीलाई उनले निरन्तरता दिएकै ८ वर्ष भइसक्यो । अहिले पोखरेल लुम्बिनी प्रदेशमा च्याउ उत्पादन गर्ने किसानहरुको अध्यक्ष बनेका छन् । आफ्नो उत्पादनसँगै विभिन्न जिल्लाका च्याउ किसानका गुनासा, मन्त्रालयसँगका विभिन्न छलफल तथा यसबारे ठाउँठाउँमा हुने विभिन्न तालिममा उनलाई सहभागी हुन भ्याइनभ्याइ छ ।

यसबीचमा उनको अभियानमा १७ जना साथीहरुले लगानी गरेर सघाएका छन् । उनीहरुमध्ये ७ जना सञ्चालक र १० जना शेयर सदस्य छन् । यो बृहत संस्थाको नेतृत्व भने कृष्णराज पोखरेलले गरेका छन् । यही संस्थाबाट गतवर्ष सबै शेयर सदस्यहरुलाई लाभांशमात्रै प्रतिसदस्य साढे २ लाख वितरण गरिएको थियो ।

ऋषवले सुरु गरेको अभियान अहिले सवल च्याउ उद्योगमार्फत संस्थागत गरिएको हो । सवलले च्याउ उत्पादनसँगै बीउको ल्याब तथा प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याएको छ । ‘आफ्नो उत्पादन आफै बजारीकरण’को नारा लिएर सवलका च्याउ र च्याउजन्य उत्पादन उनीहरु आफैं बजारमा पुगिरहेका छन् । उनीहरुका अनुसार उत्पादित वस्तुको बजारीकरणमा कुनै समस्या छैन ।

पहाड र तराईमा गरी मौसमअनुसार ६ स्थानमा सवलले च्याउ उत्पादन गर्दै आएको छ । अर्घाखाँचीको शीतगंगा, पाल्पाको जरेपीपल र झुम्सा, रुपन्देहीको नयाँगाउँ, बेलवास र देवदह तथा कपिलवस्तुको गोरुसिंगेमा जग्गा लिजमा लिएर च्याउ उत्पादन गरिएको छ । मौसमअनुसार असोजदेखि माघसम्म तराईका क्षेत्रमा र फागुनदेखि भदौसम्म पहाडका क्षेत्रमा च्याउ उत्पादन गरिन्छ । कोरोना महामारीले गर्दा करिब ३ सय जनालाई रोजगार दिएको यो संस्था केही थलिएको थियो । अहिले भने पुरानै अवस्थामा आउन थालेको सञ्चालक पोखरेल बताउँछन् ।

यसरी भयो संस्थागत लगानी

ऋषवले नेपाल आएपछि सानो लगानीमा च्याउ खेती गरेका थिए । उनी यसलाई बढाएर ठूलो र व्यवस्थित बनाउन चाहन्थे । तर लगानीको अभाव थियो । वि.सं.२०७५ सालमा बुटवलको हाटबजारमा व्यवसाय गर्दै आएका ७ जना व्यवसायीहरुले आफूले नै स्थापना गरेको सशक्त बचत तथा ऋण सहकारी संस्थाबाट १/१ लाख रुपैयाँ युवा स्वरोजगारबाट कर्जा लिए । सहकारीमार्फत साना युवा उद्यमीहरुलाई ४ प्रतिशत व्याजमा उनीहरुले ७ जनाले ७ लाख लिए ।

कर्जा लिएपछि उनीहरुले त्यो रकमलाई सामूहिक लगानी गर्ने र व्यवसायिक उत्पादन गर्ने सोच बनाए । कृष्णराज पोखरेलको नेतृत्वमा गठन भयो सवल च्याउ तथा कृषि उद्यमी समूह । ७ जनाले कर्जाबापत लिएको रकम ७ लाखबाट सुरु भएको यो समूहमा अहिले १७ जना युवा आवद्ध छन् । तीमध्ये कृष्णराज पोखरेल, ऋषव पोखरेल, जीवलाल न्यौपाने, शोभा पोखरेल, रेणुकर खनाल र विष्णुवल्लभ न्यौपाने सञ्चालक छन् ।

समूहले ७ लाख रुपैयाँबाट रुपन्देहीको देवदहमा १० कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक च्याउ उत्पादन सुरु गर्‍यो । ५ हजार च्याउको बलबाट सुरु भएको उनीहरुको सामूहिक कृषि कर्म पछि विस्तार हुँदै एक सिजनमा थप ३ वटा ठाउँबाट समेत च्याउ उत्पादन भयो ।

समूहका अध्यक्ष पोखरेलका अनुसार कर्जा लिएको एक वर्षमै उनीहरुले सबै कर्जा चुक्ता गरे । उल्टै ३ लाख ५० हजार रुपैयाँका दरले नाफासमेत कमाए ।

दुई वर्षअघि कोरोना कहरका कारण अर्घाखाँचीको सितंगगा (सुपाखोला) बाट भर्खरै उत्पादन सुरु गरेका उनीहरुले लकडाउनको कारण च्याउ बजार पठाउन पाएनन् । दैनिक करिब डेढ क्विन्टलभन्दा बढी च्याउ उत्पादन हुँदै आएको ७ हजार बलको च्याउ बजारीकरण गर्न नसक्दा करिब २० लाख रुपैयाँ बराबरको घाटा व्यहोरे । त्यसपछि उनीहरुले प्रशोधन केन्द्रको खोजी गरेर व्यवस्थित बजार बनाएका छन् ।

४ वटा जिल्लामा व्यवसायिक च्याउ उत्पादन गर्ने र उत्पादित च्याउको बजारीकरण गर्ने उद्देश्य लिएको समूहले २०७७ सालमा थप १० जना सञ्चालक थपेर सवल नेपाल एग्रो प्रालि स्थापना गरेको छ ।

च्याउ उत्पादनमात्रै होइन, त्यसलाई विविधीकरण गरी च्याउका अन्य परिकार बनाएर बिक्री गर्ने उद्देश्यका साथ बुटवलको बेलबासमा उनीहरुले प्रशोधन केन्द्र स्थापना गरेका छन् । सवल समूहकै आफ्नै च्याउको ल्यावसमेत छ । जसले च्याउको बीउ उत्पादन गर्दै आएको छ । आफैंले उत्पादन गरेको च्याउको बीउ नै उनीहरुले लगाउँदै आएका छन् भने बीउसमेत बिक्री गर्दै आएका छन् ।

च्याउको ‘सुप’ पाउडर बनाएर बिक्री गर्ने उद्देश्यका साथ सवल एग्रो प्रालिले प्रशोधन केन्द्र स्थापना गरेको हो । जसमा प्रदेश सरकारले २५ लाख अनुदान र कम्पनीको २५ लाख लगानी भएको अध्यक्ष पोखरेलले जानकारी दिए । अहिले केन्द्रबाट च्याउका अचार, छोप, सुकुटीसहितका विभिन्न परिकार उत्पादन हुँदै आएको छ ।

च्याउको सुप पाउडर बनाउन प्राविधिक अभाव भएको कारण समस्या भएको सवल नेपाल एग्रोका अध्यक्ष पोखरेलले सुनाए । जसले गर्दा हाल च्याउको पाउडर बनाउन नसकिएको उनको भनाइ छ ।

हाल सवल समूहले पाल्पाको जरेपीपलमा ९ हजार बलमा च्याउ उत्पादन गरिरहेको छ । केही समय झुम्सा क्षेत्रमा पनि ५ हजारभन्दा बढी बल राख्ने गरी योजना बनाइएको छ । अहिले पाल्पाबाट दैनिक २ क्विन्टल च्याउ बिक्री भैरहेको समूहले जनाएको छ । समूह र प्रालि दुइटैमा धेरै जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रशोधन केन्द्र, च्याउ फार्म, ल्याबमा प्राविधिकसहित बजारीकरणमा ६ जनाले स्थायी रोजगारी पाएका छन् ।

उत्पादन, प्रशोधन तथा बजारीकरण सबैजसोमा सञ्चालकहरु नै सहभागी भएकाले उनीहरुलाई बलियो बनाएको छ । आफूले विदेशमा सिकेको सीपले यहाँ आएर यसरी व्यवस्थित बनाउन पाएकोमा ऋषव दंग छन् । उनले विनालगानी सुरु गरेको अभियानको प्रतिरुप सवलको स्थिर सम्पत्ति नै एक करोड नाघेको छ । आफ्नै जग्गा र लगानी नभएर काम गर्न नपाएको गुनासो गर्नेहरुका लागि सवल च्याउ उद्योग गतिलो उदाहरण बनेको छ ।


प्रतिक्रिया

One thought on “कतारको अनुभवले बुटवलमा च्याउकाे बहार ल्याएका ऋषव

  1. मेहनति देखेर बधाई दिन मन लाग्यो।मलाइ पनि च्याउ खेति गर्ने रहर छ।सम्पर्क न पाय राम्रो हुन्थ्यो।

Leave a Reply to Gyan Prasad Sharma Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर